
चिनियाँ राष्ट्रपति सी चिनफिङ अप्रिल १८ तारिख तीनवटा दक्षिणपूर्वी एसियाली राष्ट्रको भ्रमण गरेर स्वदेश फर्केका छन्। चिनियाँ राष्ट्रपतिको भियतनाम, मलेसिया र कम्बोडिया भ्रमणलाई देशीविदेशी विज्ञ तथा आमसाधारणले यस क्षेत्र र त्यसभन्दा बाहिर शान्ति र स्थिरता कायम गर्न छिमेकी देशहरूसँग चौतर्फी सहयोग प्रगाढ बनाउने चीनको दीर्घकालीन प्रतिबद्धताको प्रमाण भएको औँल्याएका छन्।
त्यसो त सीले सन् २०१२ मा चीनको सर्वोच्च नेता भएदेखि नै छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्न र चीनको छिमेक कार्यका लागि नयाँ आधार खोल्न प्रयास गर्न आह्वान गर्दै आएका छन्।
भर्खरै पनि राष्ट्रपति सीले छिमेक कूटनीतिमा मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्तलाई निरन्तरता दिन र मैत्रीपूर्ण सहयोगलाई प्राथमिकता दिन, पारस्परिक समझदारीलाई अगाडि बढाउन चाहेको बताएका छन्। यही अप्रिल ८-९ मा बेइजिङमा छिमेकी देशहरूसँग सम्बन्धित कार्यसम्बन्धी केन्द्रीय सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा चीनले छिमेक कूटनीतिमा मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्तलाई निरन्तरता दिने र मैत्रीपूर्ण सहयोगलाई प्राथमिकता दिन, पारस्परिक समझदारी र विश्वास बढाउन र संयुक्त विकास र पुनःउत्थानलाई अगाडि बढाउन छिमेकी देशहरूसँग हातेमालो गर्ने स्पष्ट पारेको छ।
यसबाहेक चिनियाँ राष्ट्रपति सीको छिमेकी देशहरू भियतनाम, मलेसिया र कम्बोडियाको भम्रण यस वर्षको पहिलो विदेश भ्रमण हो र यसले तीनै देशमात्र नभई समग्र आसियानसँग चीनको सम्बन्धको समग्र विकासका लागि महत्त्वपूर्ण अर्थ राखेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले राष्ट्रपतिको भ्रमणअघि आयोजित नियमित प्रेस सम्मेलनमा विश्वमा शान्ति र विकासका लागि नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको बताएका थिए। उनले राष्ट्रपति सीले अप्रिल १४ देखि १५ सम्म भियतनामको राजकीय भ्रमण, अप्रिल १५ देखि १८ सम्म मलेसिया, कम्बोडियाको राजकीय भ्रमण गर्ने जानकारी दिँदै भियतनाम, मलेसिया र कम्बोडियाको पाँच दिने भ्रमण यस क्षेत्रका देशहरूको विश्वास बढाउन र क्षेत्रीय आर्थिक विकासका लागि थप निश्चितता प्रदान गर्नका लागि सामयिक र महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए।
विश्वको दोस्रो ठूलो उपभोक्ता बजार र सबैभन्दा ठूलो मध्यम आय भएको समूह रहेको चीनले लगानी र उपभोगका लागि ठूलो सम्भावना प्रदान गरेको छ। चीनले हरित, डिजिटल र स्मार्ट रूपान्तरणलाई गति दिन प्रयास गरिरहेको छ र परिष्कृत औद्योगिक पर्यावरणीय प्रणालीको साथमा प्राविधिक विकास र औद्योगिक उन्नयनको उत्तम आधार पनि दिएको छ।
यसैगरी चीनका दुई अधिवेशनमा विदेशी व्यापार र लगानीलाई स्थिर गर्नु नीतिगत प्राथमिकताहरूमध्ये एक भएको उल्लेख छ किनभने विदेशी व्यवसायहरूलाई चिनियाँ आधुनिकीकरणको अभियान, सुधार र खुलापनका साथै नवीनता र आर्थिक विश्वव्यापीकरणमा महत्त्वपूर्ण सहभागीका रूपमा हेरिएको छ। चीनको राष्ट्रिय जनकांग्रेसको वार्षिक बैठकले यस वर्षका लागि देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्य लगभग ५ प्रतिशतको हाराहारीमा राखेको छ।
यसरी दृश्य, अदृश्य चुनौतीहरूको सामना गर्न तथा सुरक्षा र आर्थिक सहकार्यका लागि छिमेकी राष्ट्रहरूसँगको हातेमालो थप सुदृढ बनाउन बेइजिङले छिमेकी मुलुकसँग सम्बन्धित कार्यसम्बन्धी केन्द्रीय सम्मेलनमा आयोजना गरेको हो। सम्मेलनमा सीले छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्न र चीनको छिमेक कार्यका लागि नयाँ आधार खोल्न प्रयास गर्न आह्वान गरेका छन्। आफ्नो भाषणमा सीले नयाँ युगमा चीनको छिमेक कार्यका उपलब्धि र अनुभवलाई व्यवस्थित रूपमा संक्षेपमा प्रस्तुत गर्दै वर्तमान परिस्थितिको वैज्ञानिक विश्लेषण गरेर छिमेक कार्यको अर्को चरणका लागि लक्ष्य, कार्य, विचार र उपायहरूको रूपरेखा प्रस्तुत गरेका छन्।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ली छ्याङले सीको महत्त्वपूर्ण सम्बोधनको भावनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न र छिमेकी मुलुकसँग सम्बन्धित कामका विभिन्न कार्यलाई गम्भीरताका साथ पूरा गर्नुपर्नेमा जोड दिए।
सम्मेलनले चीनको विशाल भूभाग र लामो सिमानाले आफ्नो छिमेकलाई राष्ट्रिय विकास र समृद्धिका लागि महत्त्वपूर्ण आधार, राष्ट्रिय सुरक्षाको एक प्रमुख मोर्चा, देशको समग्र कूटनीतिमा प्राथमिकताको क्षेत्र र मानवताको साझा भविष्यसहितको समुदाय निर्माणको महत्त्वपूर्ण कडी बनाएको उल्लेख गरेको छ।
सम्मेलनले छिमेकी क्षेत्रलाई विश्वव्यापी परिप्रेक्ष्यमा हेर्न र चीनको छिमेक कार्यलाई अगाडि बढाउन जिम्मेवारी र मिसनको भावनालाई बलियो बनाउन आह्वान गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि चीनले छिमेकी मुलुकसँग साझा भविष्यसहितको समुदाय निर्माणको वकालत गर्दै छिमेकी कूटनीतिमा मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताका सिद्धान्त अघि सारेको सम्मेलनमा उल्लेख गरिएको थियो। चीनले छिमेकी देशहरूसँग चौतर्फी सहयोग प्रगाढ बनाउन, विभिन्न क्षेत्रमा आदानप्रदान कसिलो बनाउन र शान्ति र स्थिरता कायम गर्न काम गरेको छ, जसले गर्दा छिमेक कार्यमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
चीनले आफ्ना छिमेकी मुलुकहरूसँगको सम्बन्ध हाल आधुनिक समयमा सबैभन्दा राम्रो अवस्थामा रहेको र क्षेत्रीय गतिशीलता र विश्वव्यापी रूपान्तरणहरू गहिरोसँग गाँसिएको महत्त्वपूर्ण चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै सम्मेलनले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै परिस्थितिलाई ध्यानमा राखी विकास र सुरक्षाका दुई प्रमुख प्राथमिकताहरूको समन्वय गर्न आह्वान गरेको छ।
आफ्ना छिमेकीहरूसँग राम्रो भविष्य निर्माण गर्न चीन मैत्रीपूर्ण, सुरक्षित र समृद्ध छिमेक निर्माण गर्न प्रतिबद्ध रहनेछ। सम्मेलनले शान्ति, सहयोग, खुलापन र समावेशिताको एसियाली मूल्यमान्यतालाई कायम राख्ने, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई मुख्य मञ्चका रूपमा प्रयोग गर्ने, एसियाली सुरक्षा मोडेललाई पछ्याउने र दुःख साटासाट गर्ने, मतभेद समाधान गर्दै साझा आधार खोज्ने र संवाद र परामर्शलाई प्राथमिकता दिने उल्लेख छ।
बैठकमा छिमेकी मुलुकसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्न चीनले आफ्ना छिमेकीहरुसँग रणनीतिक पारस्परिक विश्वासलाई कसिलो बनाउन, क्षेत्रीय देशहरूलाई आआफ्नो अवस्था सुहाउँदो विकासको मार्गमा सहयोग गर्न र मतभेदको उचित व्यवस्थापन गर्न काम गर्ने कुरामा जोड दिइएको थियो।
चीनले आफ्ना छिमेकीसँग विकास एकीकरणलाई अझ प्रगाढ बनाउने, उच्चस्तरीय कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने, औद्योगिक तथा आपूर्ति शृंखलामा सहयोगलाई बलियो बनाउने, सुरक्षा र कानुन कार्यान्वयन सहयोगलाई अगाडि बढाउने र जनताजनताबीचको आदानप्रदान विस्तार गर्ने सम्मेलनले जनाएको छ।
सन् २०१३ मा सीले देशको छिमेक कूटनीतिलाई प्राथमिकता दिन अघि सारेको मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्तअनुरूप चीन आफ्ना छिमेकीहरूसँग मित्रता र साझेदारी विकास गर्न र सौहार्दपूर्ण, सुरक्षित र समृद्ध छिमेकलाई महत्त्व दिन प्रतिबद्ध छ।
सन् २०१४ को नोभेम्बरमा सम्पन्न विदेश मामिलासम्बन्धी कार्यसम्बन्धी केन्द्रीय सम्मेलनमा सीले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशितामा आधारित साझा भविष्यसहितको छिमेकी समुदाय निर्माण गर्नुपर्ने आवश्यकता दोहोर्यााएका थिए। यसका लागि चीनले छिमेकी मुलुकसँग मित्रता र साझेदारीलाई प्रबर्द्धन गर्ने, सौहार्दपूर्ण, शान्तिपूर्ण र समृद्ध छिमेक निर्माण गर्ने र पारस्परिक लाभप्रद सहयोग र अन्तर आबद्धता बढाउनेछ।
एक दशकमा चीनले २८ छिमेकी देशहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठनसँग विविध र ठोस साझेदारी, सहयोगात्मक सम्बन्ध र पारस्परिक लाभका रणनीतिक सम्बन्ध स्थापना गरेको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति सीले आसियानका तीन सदस्य राष्ट्र तथा छिमेकी मुलुकहरूको भ्रमणअघि दक्षिण एसियाली राष्ट्रहरू श्रीलंका, पाकिस्तान तथा बंगलादेशका सरकार र राष्ट्र प्रमुखहरूलाई बेइजिङमा स्वागत गरेका थिए। गत जनवरीमा श्रीलंका राष्ट्रपति, फेब्रअरीमा पाकिस्तानका राष्ट्रपति र मार्चमा बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकारसँग बेइजिङमा भेटवार्ता गरेका थिए।
अप्रिलमा चीन र भारत बीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा सीले आफ्नो भारतीय समकक्षीलाई सम्प्रेषित सन्देशमा रणनीतिक पारस्परिक विश्वास बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग विस्तार गर्न, प्रमुख अन्तर्राष्ट्रिय मामिलामा सञ्चार र समन्वयलाई प्रगाढ बनाउन र सीमा क्षेत्रमा संयुक्त रूपमा शान्ति र अमन चयनको रक्षा गर्नका लागि काम गर्न तयार रहेको बताएका थिए।
नेपालको सन्दर्भमा गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर भएको थियो। यस वर्ष दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव छ। चीनले यस वर्ष नेपाल पर्यटन वर्षका रूपमा घोषणा पनि गरेको छ।
नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध पछिल्लो समयमा आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानले उल्लेखनीय रूपमा गहिरो बन्दै गएको छ। चिनियाँ राष्ट्रपतिको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको भ्रमण र छिमेकी मुलुकसँग सम्बन्धित कार्यसम्बन्धी केन्द्रीय सम्मेलन आयोजनाले नेपाल र चीन बीचको कूटनीतिक सम्बन्ध तथा सहकार्यका गतिविधि अगाडि बढाउन मद्दत गर्ने ठाउँहरू उपलब्ध गराएको छ।
अतः चिनियाँ राष्ट्रपति सीले नयाँ युग सुरू भएयता चीनको छिमेकी देशहरूसँगको भाग्य एकरूपताको स्थापना गर्ने सन्दर्भमा ध्यान दिन जोड दिँदै आएका छन्। राष्ट्रपति सीको हालको भ्रमण तथा छिमेक कार्यसम्बन्धी सम्मेलन ट्यारिफ युद्धको यो अवस्थितिमा छिमेकी देशहरूसँग विश्वास बढाउन र क्षेत्रीय आर्थिक विकासका लागि निश्चितता दिन महत्त्वपूर्ण छ।
बढ्दो संरक्षणवादका कारण विश्वव्यापी बजार अनिश्चिततासँग जुधिरहेका बेला चीनले छिमेकी देशहरूसँग हातेमालो गर्दै खुलापनको विस्तार र सुरक्षित व्यावसायिक वातावरण सिर्जना गरेर खण्डित विश्व अर्थतन्त्रमा स्थिर शक्तिको रूपमा आफूलाई उभ्याउने बलियो प्रतिबद्धता देखाएको छ।