
पोखरा- गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारे।
सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ।’
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे।
अघिल्लो पुस्तका साथै बर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए।