
काठमाडौँ- रसुवाको गोसाईकुण्डमा वैशाख ४ गतेदेखि चलिरहेकाे चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) मा सडकमै फिल्म देखाएकाे छ। फिल्म हेर्ने दर्शकको मागपछि बीच बजारमै नेपाली महिला फुटबल क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ देखाएकाे महाेत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।
उक्त फिल्म धुञ्चेको बीच बजारमै आयोजकले प्रोजेक्टर मार्फत देखाएको हो। महोत्सवमा अन्य फिल्म ‘पुजार सार्की’, ‘ज्वाइँसाब’, ‘बोक्सीको घर’ लगायत २२ फिल्म प्रदर्शन गरिने महोत्सव अध्यक्ष सापकोटाले बताए।
उक्त स्थानमा ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता र चौथो ग्रामीण चलचित्र महोत्सव एकै समय पारेर आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन प्रमुख अतिथिका रूपमा चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका थिए। गोसाईंकुण्ड गाउँपालिकका अध्यक्ष कैसाङनुर्पु तामाङको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राजधानीबाट रसुवा आएका तीन दर्जन भन्दा बढि फिल्मकर्मी तथा पत्रकारको उपस्थित थिए। महाेत्सवकाे आज अन्तिम दिन हाे।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालले वर्षेनी महोत्सव गर्दै आएको छ। समापनको दिन विभिन्न विधामा अवार्डसमेत प्रदान गर्नेछ।