व्यापार युद्धले नेपालमा निम्त्याउन सक्छ यस्तो असर

रमेश भारती ५ वैशाख २०८२ २१:२५
132
SHARES
व्यापार युद्धले नेपालमा निम्त्याउन सक्छ यस्तो असर

काठमाडौँ- पछिल्लो समय अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भएको छ। भारतले पनि व्यापारिक ‘शीतयुद्ध’ सुरु गरेको छ। भारतले गत साता चीनमा बनेका ५९ मोबाइल एप्लिसकेसनमाथि प्रतिबन्ध लगाएको छ।

यी देशको व्यापार युद्धका कारण विश्वका कैयौँ देशहरू आर्थिक मन्दी हुने त्रासमा छन्। व्यापार युद्धको असर नेपालमा कस्तो पर्छ भन्ने आकलन गर्न थालिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व सम्हालेपछि चिनियाँ सामानमा भन्सार शुल्क बढाएपछि व्यापार युद्धको असर देखिएको हो। अमेरिकाको उपभोक्ता बजारको ठूलो हिस्सा निर्यातले धानेको छ। त्यसमा पनि चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठूलो बजार मानिन्छ।

दुई साताअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको १४५ प्रतिशत मा शुल्क बढाएर लागू गर्ने निर्णय गरेका थिए। चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार कर बढाएको छ।

चीनले ‘रेयर अर्थ मेटल’ निर्यातमा रोक लगाएको हो। यो एक किसिमको दुर्लभ धातु हो। सन् २०२३ मा भारतको रेयर अर्थ मेटल कम्पाउन्डको सबैभन्दा ठूलो निर्यातकर्ता चीन थियो। चीनले भारतलाई ५.३२ मिलियन डलरको रेयर निर्यात गरेको थियो।

चीनमाथि लगाएको करले अर्थतन्त्रको विस्तारमा धेरै प्रतिशत अंकले कमी ल्याउने अपेक्षा अमेरिकाको थियो। अमेरिकाले कर लागू गर्नुपूर्व नै चीनले २०२५ को पहिलो तीन महिनामा आर्थिक वृद्धि हासिल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यामले जनाएका छन्। रोयटर्सको सर्वेक्षणअनुसार ५.१ प्रतिशत वृद्धिको अपेक्षा गरिए पनि चीनले ५.४ प्रतिशतको वृद्धि हासिल गर्दै सन् २०२४ को अन्त्यतिर देखिएको सुधारलाई थप बल पुगेको छ। सर्वेक्षणमा अर्थतन्त्र वृद्धिमा व्यापक नीतिगत प्रोत्साहनलाई योगदानका रूपमा लिइएको छ।

व्यापार युद्धका विषयमा चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भए पनि दुवै देशले समाधानको उपाय निकालेका छैनन्। १४ महिनाअघि अमेरिका र चीनबीचको व्यापार युद्ध जी-१९ समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएन। यसको मुख्य कारण प्रविधि विकासमा को अगाडि भन्ने थियो।

अर्थविज्ञ डिल्लीराज खनाल व्यापार युद्धको असर एसियाली देशमा देखा पर्न थालेको बताउँछन्। उनले भने, ‘विश्वका दुई ठूला अर्थतन्त्र विकास भएका देशबीचको व्यापार युद्ध तीव्र हुँदै जाँदा विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने र नेपालजस्ता देशमा प्रभाव पर्न सक्छ।’

चीन र भारतसँग नेपालको व्यापारिक सम्बन्ध राम्रो छ। ‘अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्धबीच चीनको आर्थिक वृद्धिदर अहिले चर्चामा छ। यो सामान्य विषय होइन। चीनले पनि व्यापार युद्धका लागि तयारी देखियो’, उनले भने।

अमेरिका र चीनको व्यापार युद्धपछि भारतले सुरु गरेको ‘शीतयुद्ध’को असर नेपालमा पनि पर्ने उनको बुझाइ छ। उनले त्यसको कति र कस्तो असर पर्ला भन्ने विषय मुख्य भइरहेको बताए।

गत साता भारतले चीनमा बनेका ५९ मोबाइल एप्लिसकेसनमाथि प्रतिबन्ध लगाएको छ। भारतले चीनबाट आयातित सामानको भन्सार क्लियरेन्समा ढिलाइ गर्दै लगेको छ। भारतले चीनविरुद्ध एक किसिमले व्यापार युद्ध थालेको आरोप उनको छ।

अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेका बेला भारतले पनि चीनका केही मोबाइल एप्लिकेसनमाथि प्रतिबन्ध लगायो। भारतले मोबाइल एप्लिकेसनमाथि लगाएको प्रतिबन्धविरुद्ध चीनले आपत्ति जनाउँदै यसको जवाफ फर्काउने प्रतिक्रिया दिइसकेको छ।

चीनले भारतको उक्त कदमलाई स्वतन्त्र व्यापार नीतिविरुद्ध कदम चालेको आरोप लगाउँदै भारतप्रति पर्ख र हेरको नीति लिएको छ।

खनालका अनुसार अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै नेपालका हकमा भने कममात्र आयात शुल्क छ। नेपालले कच्चा पदार्थ खरिद गरी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।

नेपालले चीन, अमेरिका र भारतले सुरु गरेको व्यापार युद्धको फाइदा उठाउने योजना बनाउनुपर्ने सुझाव खनालको छ। उनले भने, ‘यसका लागि सरकारले तत्काल योजना बनाउनतिर जोड दिनुपर्छ।’  अमेरिकाले भन्सार बढाएपछि सम्भावित व्यापार अवरोधको सामना गर्न चीन सरकारले योजना बनाएको छ।

अमेरिका र चीन दुवै देशले विश्व अर्थतन्त्रको ठूलो भाग ओगटेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार चीन र अमेरिकाको विश्व अर्थतन्त्रमा ४३ प्रतिशत हिस्सा छ।

चीन र अमेरिका व्यापार युद्धका कारण नेपालमा इलेक्ट्रोनिक उत्पादन, अर्गानिक केमिकल, न्युक्लियर मेसिनरी, कार तथा मोटरसाइकलका सामान, मल, दुग्धजन्य पदार्थ, मेडिकल र अप्टिकल सामान, आइरन तथा स्टिलका सामानमा मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ। भारतको व्यापारिक ‘शीतयुद्ध’का कारण नेपालमा इलेक्ट्रोनिकको भाउ बढ्ने र अभाव हुने अर्थविज्ञहरूको अनुमान छ।

व्यापार युद्धका कारण सफ्टवेयर, हार्डवेयर र अपरेटिङ सिस्टमका सामानमा महँगी बढ्न सक्ने अनुमान गरिएको छ।  चीनले पछिल्लो समय कारखाना, लोजिस्टिक्स सेवा र यातायात पूर्वाधार पनि फरकफरक प्रविधिको विकास गरेको छ। यस्ता सामानमा पनि अमेरिका-चीनबीचको व्यापार युद्धले समस्या सिर्जना हुने अर्थविज्ञहरूको अनुमान छ।

पूर्वअर्थमन्त्री प्रकाशशरण महत चीन र अमेरिकाको व्यापार युद्ध विश्वमा अर्थतन्त्रसँग जोडिएको बताउँछन्। नेपालले अमेरिका र चीनको युद्ध व्यापारबाट आफ्नो देशमा पर्ने नाफा-घाटाको अनुसन्धान गरी बेलैमा सचेत हुनुपर्ने उनको सुझाव छ।

दुई देशबीच व्यापार युद्ध नियमित हुँदै आए पनि यसपटक भने सतहमा देखिएको उनले बताए। ‘अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क बढाए। जसको कारण नेपालमा महँगी बढ्न सक्छ। यो एउटा असर हो। अर्को दुई देशबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा विद्युतीय सामान समस्या सिर्जना हुन्छ’, उनले भने।

अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशका कारण व्यापार सन्तुलन चरम अवस्थामा आरोप लगाउँदै आएको छ। अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप अमेरिकाले चीनमाथि लगाउँदै आएको छ।

प्रकाशित: ५ वैशाख २०८२ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast