राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत

हिमाल प्रेस ५ वैशाख २०८२ १६:४२
102
SHARES
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत

काठमाडौँ- नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा.गुणाकर भट्टले दिएको राजीनामा अस्वीकृत भएको छ। राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत गरेकी हुन्।

भट्टले दिएको राजीनामा अस्वीकृत गरिएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले जानकारी दिएका छन्।

गभर्नर बन्ने पक्का भएपछि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। कायम मुकायम गभर्नर ढुंगानाले राजीनामा अस्वीकृत गरेपछि उनको गनर्भर नियुक्ति के हुन्छ भन्ने प्रश्न उठेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त गर्ने सहमति भएको बताइएको छ।

सत्ता गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेताबीच गभर्नर नियुक्तिका विषयमा सहमति जुटेपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन्।

सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे पनि सत्तागठबन्धनका घटकहरूबीच सहमति नहुँदा सिफारिस हुन सकेको छैन।

तर, अब भट्टको नियुक्ति लगभग निश्चितजस्तै भएपछि सिफारिस समितिले उनको नाम सिफारिस गर्ने सम्भावना बढेको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार सिफारिस हुने तीन जनामध्ये कम्तीमा एक जना राष्ट्र बैंकको डपुटी गभर्नर हुनैपर्छ।

सरकारले गत साता राष्ट्र बैंकका वरिष्ठतम डेपुटी गभर्नर डा.नीलम ढुंगानालाई कार्यवाहक गभर्नर नियुक्त गरेको थियो। नयाँ गभर्नर नियुक्त नभएसम्म उनी कार्यवाहक गभर्नरका रूपमा रहनेछिन्।

नयाँ गभर्नरको सिफारिसका लागि सहमति जुटेको भनिएका भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरीवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र सार्वजनिक ऋण व्यवस्थापन विभागमा रहेर काम गरिसकेका छन्।

त्यस्तै उनले प्रकाशशरण महत अर्थमन्त्री छँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र राजस्व सल्लाहकार बोर्ड सदस्यका रूपमा काम गरेका थिए। भट्टले चार वर्षभन्दा बढी समय बैंकको प्रवक्ताका रूपमा पनि काम गरेका छन्।

हाल उनी कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष पनि छन्। भट्ट पूँजी बजार नियामक, नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य पनि थिए।

गभर्नर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast