
काठमाडौँ- नेपाली पाइलटहरूलाई संगठित गर्ने उद्देश्यले हालै गठन गरिएको पाइलट एसोसिएसन अफ नेपालले नेपालमा पहिलोपटक पाइलट समिट आयोजना गर्ने भएको छ।
‘स्काईवेल पाइलट समिट-२०२५’ नाम दिइएको यो समिट आगामी शनिबार, अप्रिल १९ का दिन राजधानीको होटल मल्लमा हुने आयोजकले जनाएका छन्। समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्।
पाइलटहरूको व्यावसायिकता र जनचेतना अभिवृद्धि गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, व्यवस्थित र पेसागत बनाउने उद्देश्यले समिटको हो। सोही अवसरमा पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ पनि गरिने छ।
कार्यक्रमको टाइटल स्पोन्सर को रूपमा स्काईवेल नेपाल रहनेछ। स्काईवेल चीनमा उत्पादन हुने फाइभ-स्टार सेफ्टी रेटिङ प्राप्त इलेक्ट्रिक एसयुभी हो जुन हाल ६५ देशमा निर्यात हुँदै आएको छ।
टाइटल स्पोन्सरसिपसम्बन्धी सम्झौता कार्यक्रममा जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले पाइलटजस्तो संवेदनशील पेसासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यात्रु सुरक्षामा उच्च मापदण्ड अपनाउने स्काईवेल र पाइलट दुवैको साझा उद्देश्यले सहकार्य सम्भव भएको बताए।
पाइलट एसोसिएसनका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले सुरुबाट देखाएको साथ र भरोसा उल्लेखनीय रहेको बताउँदै यात्रु सुरक्षामा केन्द्रित दुवै संस्थाबीचको सहकार्यलाई उदाहरणीय भन्दै प्रशंसा गरे।
समिटमा एसोसिएसनले २०२५ वर्षभरि सञ्चालन गर्ने हवाई सुरक्षा, जनचेतना तथा व्यावसायिकता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूको वार्षिक कार्यतालिका पनि सार्वजनिक गर्ने बताइएको छ।
पाइलट एसोसिएसन अफ नेपालले भविष्यमा पाइलटहरूको अधिकार, तालिम, कार्यस्थल सुरक्षा र राष्ट्रिय उड्डयन नीति निर्माणमा समेत सक्रियरूपमा भूमिका खेल्ने जनाएको छ।