बुटवलबाट भालुवाङ सिंहदरबार सारेको ओली अभिव्यक्तिले बल्झियो राजधानी घाउ

विनोद परियार ५ वैशाख २०८२ १३:४३
1.6k
SHARES
बुटवलबाट भालुवाङ सिंहदरबार सारेको ओली अभिव्यक्तिले बल्झियो राजधानी घाउ

लुम्बिनी- लुम्बिनी प्रदेशको स्थायी राजधानीको विषय बल्झिरहन्छ। प्रदेशसभाले २०७७ साल असोज २० गते लुम्बिनीको स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ) तोकिसकेकाले संवैधानिक रूपमा यसबारे बहस आफैँमा निरर्थक हो। तर, नेताहरूकै कारण राजधानी विषय बल्झिने गरेको छ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण फेरि राजधानी प्रकरण चर्चामा आएको छ। नेकपा एमाले रुपन्देहीले चैत २९ गते बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफूसहित रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णु पौडेल र पूर्वमुख्यमन्त्री शंकर पोखरेलको तालमेलका कारण बुटवलबाट सिंहदरबार भालुवाङ सार्न सम्भव भएको बताएका थिए।

यो अभिव्यक्तिले यतिखेर बुटवलमा तरंग पैदा भएको छ। एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई साक्षी राखेर ओलीले तीन जना नेताको सहमतिबाटै सिंहदरबार भालुवाङ सारिएको गर्व गरे।ओलीको यो अभिव्यक्तिपछि मञ्चमा रहेका विष्णु पौडेलले असहज महसुस गरेपनि कार्यकर्ताले भने ताली ठोके।

लुम्बिनी प्रदेशका नेता तथा सांसदहरूले एकअर्कालाई मुखामुख गरेपनि ओलीको त्यो अभिव्यक्तिबारे तत्काल विरोध गरेनन्। तर,ओलीको अभिव्यक्तिले भने रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य, अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेलको भूमिकाबारे प्रश्न उठेको छ।

२०७४ को निर्वाचनमा पौडेलले बुटवललाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता मात्रै गरेका थिएनन्, घोषणा नै गरेका हुन्। त्यसो त नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि दाङ राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए। यी दुवै नेताको भेगिय राजनीतिक एजेन्डाका कारण पेचिलो बनेको राजधानी मुद्दा २०७९ को निर्वाचनपछि नागरिकहरूले बिर्सिसकेका थिए। तर, पार्टी अध्यक्षले नै उपाध्यक्ष पौडेललाई अगाडि राखेर तीन जना नेताको मिलेमतोमा सिंहदरबार भालुवाङ सारेर नयाँ रेकर्ड कायम गरेको गर्बिलो भाषण गरेपछि राजधानी पुन: बल्झिएको छ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको जागरणसभामा ओलीले भनेका थिए,‘म प्रधानमन्त्री नभएको भए, विष्णु पौडेल अर्थमन्त्री नभएको भए, शंकर पोखरेल मुख्यमन्त्री नभएको भए, यहाँ कामको तालमेल मिल्दैनथ्यो, यो मात्रै एउटा प्रदेश हो। जसले सिंहदरवारलाई भालुवाङमा सार्‍याछ, सिंहदरबारलाई भालुवाङमा सारेको देख्नुभएको छ की छैन,अरु कुनै प्रदेशले सकेको छैन,यही प्रदेशले मात्रै सारेको छ, लुम्बिनीमा त्यो काम भएको छ।’

ओलीको यो अभिव्यक्तिले विष्णु पौडेलको राजनीतिलाई नै असर पार्ने विश्लेषण भइरहेको छ। एमाले निकटका युवा नेता देवराज पोख्रेलले अर्थमन्त्री विष्णु पौडेललाई नै लक्षित गरी योजनाबद्ध रूपमा ओलीले यस्तो अभिव्यक्ति दिएको बताउँछन्। पछिल्लो समय पौडेल पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा ल्याउनुपर्ने लविङमा लागेपछि ओलीले बुटवलमा योजनाबद्ध रूपमा त्यस्तो अभिव्यक्ति दिएको उनको टिप्पणी छ।

त्यसो त ओलीले बुटवल एमालेमा केपी ओलीको विकल्प १०/१२ वर्ष नखोज्न आग्रह समेत गरेका थिए। ‘केपी ओली बाहेकको एमाले चाहिएको भए, १०/१५ वर्ष कुर्नु भन्ने अभिव्यक्ति तीनै नेता मिलेर राजधानी भालुवाङ सारिएको प्रसंगले विद्या भण्डारीसँग जोडेर बोलिएको हुनुपर्छ,’ उनले भने।

पार्टी महासचिव समेत रहेका लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले ओलीलाई साथ दिएकाले पौडेलको राजनीतिक भविष्यमाथि नै प्रश्न उठाउने गरी निको भइसकेको राजधानीको घाउ कोट्याएर बल्झाउने काम गरेको पोखरेलको टिप्पणी छ। ‘गणतन्त्रको पक्षमा आयोजना गरिएको सभामा राजधानीको विषय बोल्न जरुरी थिएन तर, ओलीले पौडेलले विद्यासँग बढाएको सम्बन्धकै कारण योजनाबद्ध रूपमा बोलेको हो’ उनले भने।

हुन त नयाँ ठाउँको विकास गर्ने कुरालाई स्वभाविक मान्न पनि सकिन्छ। तर, बेला न कुबेला विष्णु पौडेललाई साक्षी राखेर गर्वका साथ राजधानी सार्‍यौं भन्ने कुराले बुटवलबासी चिन्तित भएका हुन्।  ‘बुटवलबाट राजधानी दाङ सारिएकोमा रुपन्देहीबासीले खेद प्रकट गर्नुपर्नेमा गर्व गर्नुपर्ने कुरा कसरी आयो’ लेखक हरि ज्ञवालीले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

सञ्जालमा धेरैले विष्णु पौडेललाई कमजोर बनाउन ओलीले त्यस्तो बोलेको टिप्पणी गरेका छन्। एमालेबाट निर्वाचित बुटवल वडा न. ११ का वडाअध्यक्ष रामचन्द्र खनालले बुटवलमा आएर राजधानी तीन जना नेता मिलेर सारेको खुसीका साथ भन्नुको कारणबारे जनतालाई बताउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत विष्णु पौडेलको पनि समर्थन हो भनेर दिएको अभिव्यक्ति टङ स्लिप हो की होइन भन्ने कुरा कार्यकर्तामाझ स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

 

ओलीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले भने आश्चर्य प्रकट गरेका छन्। ‘मलाई यो कुराको विश्वास थिएन तर बुटवलको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेपछि मात्र पत्याउन बाध्य भए’ नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजधानी बुटवलबाट सार्नका लागि विष्णु पौडेल र शंकर पोखरेलको मिलमतो रहेछ।’ उनले रुपन्देहीका जनतालाई एमाले अध्यक्षले प्रष्टसँग सबैले बुझने गरी विष्णु पौडेलको दोहोरो भूमिका बुझाइदिएको बताए।

उनले प्रदेशको राजधानी बुटवलमा राख्न तत्कालीन समयमा आन्दोलन गर्दा पक्राउ परी केही दिन थुनामा परेको समेत स्मरण गरे। उनले तत्कालीन समयमा प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा अस्थायी राजधानी बुटवलमै रहने निर्णय भएको उल्लेख गर्दै नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धन्यवादसमेत दिएका छन्। ‘जनताले भनीरहेका थिए राजधानी रुपन्देहीबाट सार्नुमा विष्णु पौडेलको भूमिका छ’ उनले लेखेका छन्। सामाजिक सञ्जालमा एक हप्तादेखि विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।

बुटवलबासीहरूले ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए पनि कतिपयले भने ओलीको बचाउन गरेका छन्। एमालेनिकट विद्यार्थी संगठनका नेतासमेत रहेका बालकृष्ण पाण्डेले भने प्रदेश राजधानीको विषयमा ओलीको भनाइको गलत रूपमा बुझिएको भन्दै बचाउ गरेका छन्।

उनले पनि सामाजिक सञ्जालमा भनेका छन्,‘अरू प्रदेशको तुलनामा लुम्बिनी प्रदेशको केही पनि पूर्वाधार नभएको ठाउँमा सबैको आवश्यक सहयोगले सिंहदरबारजस्तै झल्को दिने संरचना भालुवाङमा बनिसकेको छ भन्ने थियो।’

ओलीको अभिव्यक्तिको केही एमाले कार्यकर्ताले बचाउ गरे पनि राजनीतिक रूपमा भने पौडेललाई दीर्घकालीन क्षति गर्नसक्ने बताएका छन्। पार्टीभित्र तीब्र ध्रुवीकरण हुँदै जाँदा विद्यानिकट मानिएका पौडेललाई रुपन्देहीमा नै नियोजित ढंगले प्रहार गरिएको पौडेलनिकट नेताहरूको बुझाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast