
काठमाडौँ- पछिल्लो पुस्ताका लोकप्रिय हास्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अब ठूलो पर्दामा फड्को मार्दैछन्। साना पर्दामा दर्शकको मन जितिसकेका उनको पहिलो फिल्म ‘हेल्लो काँशीराम’ आगामी जेठ २ मा प्रदर्शन हुँदैछ।
फिल्मको प्रदर्शन मिति नजिकिएसँगै उनमा उत्साह देखिएको छ।फिल्मको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा निकै रमाइलो भएको बताए। ‘सुटिङ कहिले सकियो पत्तो भएन तर, डेब्यु फिल्म भएकाले छायांकनका क्षण मेरा लागि सधैँ महत्वपूर्ण र यादगार हुनेछन्’, उनले भने।
फिल्ममा उनले आफूलाई दर्शकले भिन्न अवतारमा, भिन्न कथामा देख्न सक्ने बताए। उमेशले अभिनेता दिलिप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए। ‘दिलिप दाइ सोचेभन्दा झन् रमाइलो हुनुहुँदो रहेछ। त्यत्तिकै सफल कलाकार भइन्छ भन्ने कुरा उहाँलाई नियाल्दा प्रष्ट महसुस भयो’, उनले भने, ‘ठुलो पर्दामा पहिलो पाइला चाल्दा आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ। नाम नै ठुलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु।’
फिल्मबाट आफूले साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा सिकेको उनले बताए। राईले छिट्टै अर्को फिल्ममा काम गर्न लागेको पनि बताएका छन्। आफूले साइन गरिसकेको पनि उनले जानकारी दिए।
फिल्म ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माको खुलेर प्रशंसा गर्दै उमेशले देख्दा सामान्य लाग्ने तर क्षमतावान् निर्देशक भन्दै तारिफ गरे।
फिल्मको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बताउँदै उनले भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ। म यो फिल्ममा पूर्ण रुपमा कमेडी र व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु।’
फिल्मको फस्ट लुक पोस्टर, टिजर र गीत पनि सार्वजनिक भइसकेको छ। फिल्ममा हाँस्य र व्यंग्यको अनौठो मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।
फिल्ममा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतका कलाकारको अभिनय छ।
रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको हो। रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पी.बी. थापाले लगानी गरेका छन्।