शिक्षक आन्दोलनप्रति नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता

हिमाल प्रेस ५ वैशाख २०८२ ९:५९
66
SHARES
शिक्षक आन्दोलनप्रति नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता

काठमाडौँ- देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आफ्नो पेसागत हकहित, सेवा शर्त र सुविधाको कानुनी प्रत्याभूतिका लागि निरन्तर १७ दिनदेखि सडकमा छन्। शिक्षकहरूको यस आन्दोलनप्रति नेपाल पब्लिक क्याम्पस संघले गम्भीर ध्यानाकर्षण गर्दै ऐक्यबद्धता प्रकट गरेको छ।

संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको प्रभाव देशको सम्पूर्ण शैक्षिक प्रणालीमा पर्न सक्ने भन्दै गहिरो चासो व्यक्त गरेको हो। संघका महासचिव गोविन्दबहादुर कार्की र अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विद्यालय शिक्षा नै उच्च शिक्षाको आधार भएको कारण, शिक्षकहरूको आन्दोलनले समग्र शिक्षामा प्रत्यक्ष असर पार्न सक्छ।’

विज्ञप्तिमा कक्षा १२ को परीक्षा र एसईईको परीक्षाफल समेत प्रभावित हुन थालेको उल्लेख गर्दै आन्दोलनको तत्काल समाधान नभए उच्च शिक्षा समेत धराशायी बन्ने चेतावनी दिइएको छ।

संघका अनुसार २०२८ सालको शिक्षा ऐनले अहिलेको शिक्षा प्रणालीका आवश्यकता र विषयवस्तुहरू सम्बोधन गर्न सक्दैन। विगतमा सरकारले शिक्षक महासंघसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने संघको ठहर छ।

देशभर करिब ६०० सामुदायिक क्याम्पसहरू आबद्ध रहेको नेपाल पब्लिक क्याम्पस संघले भनेको छ, ‘शिक्षक महासंघले उठाएका जायज मागहरू प्रति हाम्रो ऐक्यबद्धता छ।’

संघले सम्बन्धित पक्षलाई आन्दोलनको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्दै आन्दोलनको समाधानका लागि तुरुन्त कदम चाल्न सरकारलाई चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast