
भीमफेदी- मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
आज राति १:०० बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको बस शुक्रबार १:०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। बसमा चालकसहित १६ जना सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।
दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।