
काठमाडौँ- आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता देखाएका छन्। सभापति देउवाले पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा गृहमन्त्री रमेश लेखकलाई शिक्षक प्रतिनिधिसँग संवाद गरी समाधान खोज्ने जिम्मेवारी दिएका छन्।
बिहीबार बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको छलफलमा देउवाले आन्दोलन चाँडो टुंग्याउन संवाद र पहल आवश्यक भएको बताए।
उनले भने, ‘नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ, कक्षा १२ को परीक्षा नजिकिँदैछ, शिक्षकलाई चाँडोभन्दा चाँडो कक्षामा फर्काउने वातावरण बनाउनु पर्छ।’
कांग्रेस नेताहरूका अनुसार शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सकिने छन् भने बाँकी माग विधेयकमार्फत सदनबाट पारित गर्नुपर्ने देखिएको छ।
कांग्रेसका एक नेताका अनुसार सभापति देउवाले ‘तत्कालै आन्दोलनको समाधानको बाटो खोज्न’ नेताहरूलाई निर्देशन दिएका छन्। त्यसाे त महामन्त्रीद्वय थापा र शर्मा तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षक प्रतिनिधिसँग नियमित छलफल गरिरहेका छन्।
सभापति देउवाले अहिले संविधान संशोधन चाहिने गम्भीर मागलाई पछि छलफल गर्ने भन्दै तत्काल सम्बोधन गर्न सकिने मागहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। शिक्षकहरूले स्थानीय तह मातहत विद्यालय नराख्नुपर्ने लगायतका दीर्घकालीन मागसमेत अघि सारेका छन्।
कांग्रेसले आन्दोलनलाई संवेदनशील रूपमा लिएको जनाउँदै प्रधानमन्त्रीसहित सरोकारवाला निकायसँग पनि संवाद थाल्ने तयारी गरेको छ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा गत चैत २० गतेदेखि आन्दोलन जारी छ। सरकार र महासंघबीच २०७५, २०७८ र २०८० सालमा भएको सहमति, सम्झौता अनुसार तत्काल अग्रगामी शिक्षा ऐन जारी गर्न माग गरेको छ।
शिक्षक आन्दोलनको दबाबमा सरकारले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा तीब्र रूपमा छलफल गरिरहेको छ।
सरकारले शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण बनाओस् : शेखर कोइराला