
काठमाडौँ- गत निर्वाचनमा पुराना राजनीतिक दलहरूका लागि चुनौती बन्दै नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को विवादका शृंखलामा बल्झिँदै गएको छ।
पार्टी बनाउन रवि लामिछानेले एकताबद्ध गरेका सहयात्रीहरू मनमुटाव गरी छुट्टै पथमा लम्किन थालेका छन्। कुनैबेला रविकै पछाडि लागेका नेताहरू यतिबेला विभिन्न बहानामा पार्टी छाड्ने वा राजीनामा दिने क्रममा जुटेका छन्।
रवि बलियो र सफल भएका बेला सबै सहयोगी बने, रवि कमजोर बन्दै गएपछि सहयात्री लाखापाखा लाग्दै गरेको रास्वपाको नियति बनेको छ, यतिबेला। यसको दह्रिलो उदाहरण बनेका छन्–पार्टीका संस्थापक महासचिव मुकुल ढकाल र सहमहामन्त्री सुमना श्रेष्ठ।
स्थापनाका बेलादेखि रविको कोर टिमको नेताका रूपमा चिनिएका ढकाल यसअघि नै रास्वपाबाट बाहिरिइसकेका छन्। उनले पार्टीलाई रविको गुटबन्दीको राजनीतिबाट बाहिर निकाल्नुपर्ने भन्दै राजीनामा दिएका थिए। ढकालले राजीनामा दिए पनि पार्टीले तत्काल स्वीकृत गरेको थिएन। उनले भनेका थिए,‘पार्टी सभापतिमाथि अनेश प्रश्न छन्। तर, यस्ता कुराले पार्टीलाई फाइदा गर्दैन भन्न सकिएन।’
ढकाल रविका यति प्रिय थिए कि पार्टीका अन्य सदस्यलाई समेत वाइपास गर्दै राजीनामा गराउँथे। रविकै विश्वापात्र भएकै कारण ढकालले पार्टीको दोस्रो कार्यकारी पद (महामन्त्री) र प्रवक्ता पाए।
परिस्थिति फेरियो। पार्टीभित्र ढकालमाथि नै प्रश्न उठ्न थाल्यो। र, अन्त्यमा उनले स्पष्टीकरण दिने अवस्था सिर्जना भयो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ढकालले राजीनामा दिने अवस्था आयो।
‘सबै काम बिगार्ने रवि लामिछाने, भागिदारी हामी बन्नुपर्ने?’ राजीनामा बुझाएर फकिँदै गर्दा उनले पत्रकारसँग कुरा गर्दै रविसँग प्रश्न गरेका थिए,‘के त्यो पदले कुनै गल्ती नै गर्दैन?’
रविले ढकाललाई जति विश्वास गरे, त्यति नै भारी पर्यो। ढकाल अहिले पनि बारम्बार रविमाथि कैयौँ प्रश्नका वाणहरू प्रहार गरिरहेका हुन्छन्। खासगरी रवि सहकारी ठगी प्रकरणमा मुछिएयता।
हुन त रविका अनेक कमजोरी यतिबेला बाहिरिइरहेका छन्। उनी सहकारी ठगीमा संलग्न भएको आरोपमा अहिले कारागारमा छन्। उनी निर्दोष हुन् वा दोषी, यो अदालतको फैसलाबाट मात्रै टुंगो लाग्ला।
तर, रवि कमजोर बन्दै गएपछि सहयात्रीहरूले साथ छाड्दै गएका छन्। ढकालसँगै पदबाट राजीनामा दिनेमा पर्छिन्, सुमना श्रेष्ठ। रास्वपाको संस्थापकमध्येकी एक हुन्, सुमना। तर, अहिले दोहोरो जिम्मेवारीमा नबस्ने भन्दै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्। पार्टी स्थापना भएदेखि सहमहामन्त्री पद सम्हाली रहेकी उनले झन्डै तीन वर्षपछि दोहोरो जिम्मेवारी सम्झिएकी छन्।
यतिबेला रास्वपाकै नेताहरू सुमनालाई प्रश्न गरिरहेका छन्– के यो तीन वर्ष दोहोरो जिम्मेवारी बोकेको उनलाई महसुस भएन।
रास्वपानिकट स्रोतका अनुसार सुमना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै संसदीय दलको नेता बन्न चाहेकी थिइन्। दोहोरो जिम्मेवारी नहुने भन्दै उनले सांसद पदलाई प्रभावशाली ढंगबाट चलाउने भन्दै संसदीय दलको नेता बन्न चाहेकी थिइन्।
तर, सहकारी प्रकरणमा पक्राउ परेसँगै सांसदबाट निलम्बन भएपछि कार्यवाहक सभापति डीपी अर्यालले कार्यवाहक नेताको रूपमा जिम्मेवारी वहन गर्दै आएका थिए। रवि आफैँले डीपीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। रविको यो कदमपछि सुमना असन्तुष्ट बनेकी थिइन्। रवि हिरासतबाट बाहिरिएर सभापति पद लिएसँगै सुमना असन्तुष्ट बनेको बताइन्छ। यही असन्तुष्टिका कारण उनले राजीनामा दिएको उनीनिकट नेताहरू बताउँछन्।
सुमनाले राजीनामा पत्रमा लेखेकी छन्,‘मेरो यो पद पूर्वसभापति रवि लामिछानेकै कारणमात्र प्राप्त भएको हो।’ उनी रास्वपाकी समानुपाति सांसद हुन्। उनी रास्वापाको कोटाबाट शिक्षामन्त्रीसमेत बनिन्। तर, अहिले रविको बोझ थाम्न नसकेका कारण उनले राजीनामा दिएकी छन्। रास्वपा नेताहरू पछिल्लो समय सुमनालाई रविको बचाउ गर्न पनि असहज भएको बताउँछन्।
‘रवि प्रकरणमा जोडिएपछि सरकारविरूद्ध लाग्नुपर्छ भन्ने थियो। तर, सुमना लाग्नु भएन,’ ती नेता भन्छन्,‘उहाँलाई हामीले नै देश निर्माण गर्नुपर्छ भन्ने लागेको छ। अरूबाट सम्भव छैन। हामी नै अघि बढ्नुपर्छ भन्ने महत्वाकांक्षा पलाएको देखिन्छ।’
उनले पुराना दलबाट सहकारी ठगको भ्रम चिर्न आफूहरूले नसकेको राजीनामापत्रमा उल्लेख गरेकी छन्। यसबाट पनि उनलाई सहकारी प्रकरणको विषय बोझ भएको खुलाएकी छन्।
असन्तुष्टिले सर्यो महाधिवेशन
रास्वपामा एकपछि अर्को लफडा थपिँदै गएको छ। यसअघि रवि सहकारी प्रकरणमा थुनमा परेपछि रास्वपालाई सम्हल्नै नसक्ने गरी धक्का लागेको छ। यही वैशाखमा हुने भनिएको महाधिवेशन फागुनका लागि सारिएको छ। आन्तरिक लफडामा बल्झिएकै कारण रास्वपाको महाधिवेशन असम्भव देखिएको हो।
रास्वपाका एक नेताका अनुसार पार्टी नेतृत्व डीपीको हातबाट बाहिर नल्याउने नीति पनि हो। डीपी रविका अति निकट नेतामध्येका एक हुन्। तत्काल महाधिवेशन भए अन्य कसैलाई पद हस्तान्तरण गर्नुपर्ने स्थिति सिर्जना हुनसक्ने अनुमान रविनिकट नेताहरूले लगाएका छन्। त्यसैले रविनिकट नेताहरू तत्काल महाधिवेशन नगर्ने र डीपीको हातबाट नेतृत्व गुम्न नदिने रणनीतिमा छन्।
डीपी पहिले रविलाई छुटाउने, अनिमात्र महाधिवेशन गर्ने पक्षमा देखिएका छन्। तोकिएको मितिमा महाधिवेशन नगर्ने निर्णय र रविलाई नै पार्टीको सबथोक ठान्ने बुझाइबाट सुमनालगायतका नेता असन्तुष्ट बनेका छन्।
कता जाला रविविनाको रास्वपा?
कतिपय नेताहरू रविविना पनि पार्टी गति लिएर अगाडि बढ्नसक्ने तर्क गरिरहेका छन् भने फरक मत राख्नेहरू पनि रास्वपाभित्रै छन्। रविविना रास्वपा सम्भव नभएको कतिपय रास्वपाका नेताहरू बताउँछन्। खास गरेर गत निर्वाचनमा रविको नेतृत्वमा रास्वपाले हासिल गरेको परिणामका कारण पनि उनीनिकटहरू यस्ता तर्क गरिरहेका छन्।
गएको प्रतिनिधिसभा निर्वाचनमा रविकै नेतृत्वमा रास्वपाले २१ सिट जित्यो। प्रत्यक्ष र समानुपातिकमा सानदार मत ल्याउँदै प्रतिनिधिसभाको तेस्रो ठूलो दल बन्यो नै, पहिलो निर्वाचनमै राष्ट्रिय दलको मान्यता समेत पायो।
रवि जसरी चलेका थिए, त्यो सबैलाई ठीकै लागेको थियो। यतिसम्म भनिन्थ्यो कि–रास्वपामा रविले जे भन्थे, त्यही अनुसार चल्थ्यो। तर, अब त्यही रवि अहिले थुनामा परेका छन्।
यता पार्टीमा पनि असन्तुष्टिका स्वर बढेका छन्। उनीनिकट नेताहरू नै तिक्त स्म्बन्धका कारण टाढिँदै गएका छन्। रास्वपा कसरी अगाडि बढ्ला भन्ने प्रष्ट नभएको नेताहरूको बुझाइ छ।
रवि पक्राउ परेसँगै रास्वपाका आन्तरिक गतिविधि प्रभावित भएका छन्। एकातिर महाधिवेशन समयमा हुन सकेन भने अर्कातिर तय गरिएको जनयात्रा कार्यक्रम के हुने टुंगो छैन।
ती कार्यक्रमसमेत अहिले औपचारिकतामा सीमित छ। यता जिल्ला र प्रादेशिक अधिवेशनसमेत सकिएको छैन। रविमाथि मात्रै निर्भर भएका कारण यतिबेला रास्वपाको भविष्यमाथि नै प्रश्न उठेको छ।