
इटहरी – गत २५ चैतमा इलाका प्रहरी कार्यालय धरानमा एउटा सूचना आयो। धरान उपमहानगरपालिका ६ मा पर्ने पाँचकन्या सामुदायिक वनभित्र हत्या गरेर फ्याँकिएको अवस्थामा शव फेला परेको सूचना प्राप्त भएसँगै प्रहरी टोली घटनास्थलतर्फ लाग्यो।
इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रदेश प्रहरीसहितको टोलीले घटनास्थलबाट विभत्स अवस्थामा हत्या गरिएर फ्यालिएको शव फेला पार्यो। शव महिलाको थियो।
मृतक महिलाको कम्मरमुनीको भागमा कपडासमेत नभएको अर्धनग्न अवस्थामा फेला परेपछि घटना थप शंकास्पद र गम्भीर बन्यो। अझ मृतकको पहिचान नखुलेका कारण प्रहरीलाई हम्मेहम्मे भयो।
घटना भएको तीन दिनपछि मात्रै शवको पहिचान खुल्यो। चैत २८ गतेमात्रै मृतकको पहिचान भएको थियो। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ घरभइ इटहरी २ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको शव रहेको पुष्टि भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार घटना शंकास्पद रहेको देखिएपछि अनुसन्धानका लागि कुकुरसहितको टोली खटिएको थियो।
‘शवको पहिचान नभएसम्म अनुसन्धान त जिरोमा हुन्छ। शव पहिचान नभई केही नै हुँदैन। तर, तीन दिनपछि पहिचान भएपछि हामीले विभिन्न कोणबाट अनुसन्धान सुरू गर्यौँ,’ एसपी तिम्सिनाले भने, ‘यो घटना पारिवारिक विवाद र पारिवारिक असन्तुष्टिबाट जन्मिएको घटना श्रृंखला हो।’
उनका अनुसार चुनकुमारीको हत्याको मुख्य योजनाकार उनकै श्रीमान हुन्। दक्षिण कोरियामा बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा हत्याको योजना बनाइएको हालसम्मको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए।
प्रेमबहादुरलाई कोरियाबाट झिकाएर बिहीबार नियन्त्रणमा लिइएको छ। ‘हामीले आजमात्रै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर सुनसरी ल्याइसकेका छौँ,’ उनले भने, ‘उनकै (प्रेमबहादुर) को योजनामा घटना घटाइएको पाइएको छ। कोरियाबाट नेपाल हुँदै आज नै काठमाडौँ आएका उनलाई विमानस्थलबाट पक्राउ गरेका छौँ।’
शवको पहिचान भएपछि विभिन्न कोणबाट सबैखाले अनुसन्धान गरिएको उनले बताए।
प्रहरीका अनुसार घटनामा परिवारकै पाँच जना र एक भारतीय नागरिकसहित ६ जना संलग्न छन्। जसमध्ये प्रहरीले पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ भने भारतीय नागरिक फरार छन्।
यसरी पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी २ बस्ने ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी (मृतकका श्रीमान), मोरङ पथरीशनिश्चरे ३ संगम चोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी श्रीमती २५ वर्षीया श्रृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ वडा नं. ७ घर भई हाल मोरङको उर्लाबारी नगरपालिका ५ फागु टोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र मोरङ पथरीशनिश्चरे ३ बस्ने ४० वर्षीय केशवराज दाहाल रहेका छन्।
जसमध्ये प्रेमबहादुर मुख्य योजनाकार हुन्। ढकेन्द्र सहोदर भाइ हुन् भने योगेन्द्र भने कान्छा ज्वाइँ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी तिम्सिना बताउँछन्। अर्का एक भारतीय नागरिक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको एसपी तिम्सिनाले जानकारी दिए।
भारतीय नागरिक भारतको आसाम जिल्ला तेजपुर खकन वस्ती बस्ने ३५ वर्षीय राजु थापा मगर रहेका छन्। उनी भने श्रृष्टिका फुपूका छोरा रहेको प्रहरीले जनाएको छ।
प्रेमबहादुर गत मंसिरमा कोरियाबाट आएर माघमा पुनः कोरिया गएका थिए। पछिल्लोपटक प्रेमबहादुर मंसिर २७ गते नेपाल आएका थिए भने माघ ५ गते पुनः कोरिया फर्किएका थिए।
श्रीमान र श्रीमतीबीच पारिवारिक असन्तुष्टि र शंकाले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘श्रीमान र श्रीमतीबीचको मनमुटाव, श्रीमतीप्रतिको शंका र आर्थिक प्रलोभनका कारण यो घटना भएको देखिन्छ,’ एसपी तिम्सिना भन्छन्, ‘क्रूर यातनासहितको हत्या भएको हाम्रो निष्कर्ष छ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटनामा संलग्न ढकेन्द्र, श्रृष्टि, डेनु, र केशवराजलाई चैत २९ गते उनीहरूकै घरबाट पक्राउ गरिएको हो। यसैगरी योगेन्द्रलाई झापाको काँकडभिट्टास्थित भारतसँग सीमा जोडिएको स्थानबाट पक्राउ गरिएको जबेगुले बताए।
उनका अनुसार घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको मोटरसाइकल एक थान, मधेस प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल एक थान र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल एक थान गरी तीन थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
पक्राउ परेका ६ जनामाथि नै जिल्ला अदालत सुनसरीबाट आठ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए।
‘योजनाबद्ध तरिकाले घटना भएको देखिन्छ,’ उनले भने, ‘पारिवारिक द्धन्द्धले घटना भएको र श्रीमतीप्रति शंकाबाट उब्जिएको परिणाम हो भन्न सकिन्छ।’
खासगरी मृतक चुनकुमारीका श्रीमान प्रेमबहादुरले दक्षिण कोरियामै बसेको अवस्थामा फलाना मानिसलाई भेट्नु भनेर पठाएको र पछि उक्त घटना भएको जबेगुले बताए।
‘मोटरसाइकलमा जंगलसम्म पुगेपछि बाटो भुलिएछ बाटो हेर्न जाउँ भन्छन्। बहाना गरेर बाटो हेर्न जाउँ न भन्छन्, त्यसपछि बाटो बाइकमा राखेर खोलामा ठाउँ हेर्न गए,’ जबेगुले भने।
खासगरी पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई जंगलसम्म पुर्याउँछन्।
‘ज्वाइँ (योगेन्द्र) ले आफन्तकोमा जाने भनेर लैजान्छन्। श्रीमतीको विश्वासिलो पात्र उनी भएकाले कोरियाबाट प्रेमबहादुरले तैँले लिएर गइस् भने हुन्छ भनेर प्रभावमा पारेको देखिन्छ,’ एसपी तिम्सिना भन्छन्, ‘लैजाने क्रममा जंगल पुगिसकेपछि बाटो अलमलिएँ भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र घटना हुन्छ।’
घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी दुईमा भारतीय नागरिक राजु र मृतकका देवर ढकेन्द्र संलग्न रहेको एसपी तिम्सिनाले बताए।
‘मुख्यगरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ। मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ,’ उनले थपे, ‘मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ।’
शव अर्धनग्न अवस्थामा भेटिएपनि पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट हत्या भएको देखिएको छ। यद्यपि, प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।