केपी ओली टी –२० क्रिकेट : गण्डकी हिरोज र सीईसी काठमाडौँले उपाधिका लागि प्रतिस्पर्धा गर्ने

हिमाल प्रेस ४ वैशाख २०८२ २०:०१
6
SHARES
केपी ओली टी –२० क्रिकेट : गण्डकी हिरोज र सीईसी काठमाडौँले उपाधिका लागि प्रतिस्पर्धा गर्ने

पोखरा– दोस्रो संस्करणको केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेटको उपाधिका लागि गण्डकी हिरोज र सीईसी काठमाडौँ प्रतिस्पर्धा गर्ने भएका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा बिहीबार सेमिफाइनल खेल भएको हो। तर वर्षाका कारण दुवै खेल प्रभावित बने।

घटाएर ५ ओभरमा खेलाइएको पहिलो सेमिफाइनलमा सीईसी काठमाडौँले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराएको हो। वर्षाको कारण निर्धारित समयमा खेल हुन नसकेकोमा पछि ५ ओभरमा मात्र खेल खेलाइएको हो।

५८ रनको जितको लक्ष्य पाएको हिमाल फ्रेन्ड्स पूरा ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो। ओपनर सुवोध ऐरी १३ रनमा आउट भए। उनले ८ बलमा २ चौका प्रहार गरे। आशीष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे। आशीषले ३ बलमा २ छक्का प्रहार गरे। अभिनाष सिंह १२ रनमा आउट भए। उनले १२ बलमा १ चौका प्रहार गरे। दीपक रोकाया ४ रनमा आउट भए।

काठमाडौँका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिँदा युनिशविक्रम सिंह ठकुरीले १ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित ५ ओभरमा ५७ रन बनायो। ओपनर रीत गौतमले २८ रन बनाउँदै रिटार्यड हर्ट आउट भएका थिए। उनले १७ बलमा ३ चौका प्रहार गरे। अर्जुन घर्ती १३ र दीपेन्द्र रावत ८ रनमा नटआउट रहे। अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दीपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे।

दोस्रो सेमिफाइनलमा भने टस आधारमा नतिजा निकालिएको हो। जसमा गण्डकी हिरोज भाग्यमानी ठहरियो। पहिलो इनिङ चलिरहँदा भारी वर्षा भएको थियो।
दोस्रो सेमिफाइनलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारि खेलेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएकोमा उसले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षाले खेल रोकिएपछि टसको सहारा लिइएको थियो।
अत्तरियाका लागि ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसँगै क्रिजमा पुगेका दोस्रो ओपनर विपीन रावलले ७२ रनको उत्कृष्ट पारि खेल्दै आउट भएका थिए।

विपीनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे। खगेन्द्र जोशी २० रनमा आउट भए। उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे। टेक रावत ११ रनमा नटआउट रहे। निश्चल क्षत्री ९ रनमा आउट रहँदा अर्जुन विक शून्यमा नटआउट रहे।

गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिदैँ ३ विकेट लिए। नारायण जोशीले १ विकेट लिएका थिए।

गत २३ चैतदेखि सुरु प्रतियोगितामा १६ टिमले भाग लिएका थिए। फाइनल शुक्रबार हुने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।

पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ५ लाख पाएको थियो।

यसपालि पुरस्कार राशि बढाइएको छ। विजेताले १० लाख र उपविजेताले ५ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट बलर, बेस्ट ब्याटरले १०÷१० हजार र म्यान अफ दि म्याचले ५ हजार साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast