एमाले मोरङमा कसरी सुरू भयो गुटको विवाद?

विवेक विवश रेग्मी ४ वैशाख २०८२ १७:०५
112
SHARES
एमाले मोरङमा कसरी सुरू भयो गुटको विवाद? अध्यक्षका आकांक्षी उम्मेबार।

इटहरी – नेकपा एमालेमा पछिल्लो समय केन्द्रदेखि वडा तहसम्मै गुटको विवाद रहेको दृष्टान्त पछिल्लो समयका केही उदाहरण बाहिरिरहेका छन्।

गुटको विवादको दृष्टान्त बुझ्नका लागि पछिल्लोपटक भने मोरङ एमालेमा हुने गतिविधिलाई हेरे स्पष्ट हुन्छ।

खासगरी पछिल्लो समय पूर्वराष्ट्रपतिसमेत रहेकी विद्या भण्डारी सक्रिय राजनीतिमा आउने संकेत गरेसँगै एमालेमा वडा तहसम्मै गुटको विवाद चुलिने गरेको हो।

गत १७ फागुनमा भएको नेकपा (एमाले) मोरङको १० औँ अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समूह पराजित भएको थियो।

संस्थापन पक्षलाई पराजित गर्दै अध्यक्षमा अजम्बर राई निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गरे। खासगरी एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा पराजय बेहोरेपछि यहाँ विनोद ढकालले इतर पक्षको नेतृत्व गरिरहेका छन्।

ढकाल पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडासँग पराजित भएका थिए। खतिवडालाई एमाले अध्यक्ष ओलीको साथ रहेको छ। ढकाल भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।

भण्डारी यसअघि कोशी प्रदेशको विभिन्न कार्यक्रममा आउँदा विराटनगरमै बसेकी थिइन्। विराटनगरमा बसेको समयमा भण्डारीसँग यहाँका नेता, कार्यकर्तालाई उनै ढकालले भेटघाट गराउने र परिचय गराउने समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

भण्डारी सक्रिय राजनीतिमा आउने संकेत गरेसँगै मोरङमा पनि ढकालको नेतृत्वमा इतर समूह बलियो बन्दै गएको छ।

यसैबीच विराटनगर महानगरपालिकाको दोस्रो नगर अधिवेशन वैशाख २ गते उद्घाटन भएको थियो। पार्टी कोशी इञ्चार्ज शेरधन राईले अधिवेशनको उद्घाटन गरेका थिए। अधिवेशन बुधबार (वैशाख ३) गतेभित्रै सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म नयाँ नेतृत्व चयन भएको छैन।

हाल संस्थापन र इतर समूहले आ–आफ्नो प्यानलै बनाएर निर्वाचनमा होमिएका छन्।

यसअघि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति हुन नसकेपछि दुई वटा प्यानल नै चुनावी मैदानमा होमिएका हो।

अध्यक्षका लागि रोहित कोइराला र बलराम गिरी (नवीन) ले आफ्नो प्यानलै उम्मेदवारी दर्ता गराएका छन्। संस्थापन पक्षका कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्रशेखर विश्वास उम्मेदवार छन्।

संस्थापन इतर (विनोद ढकाल) प्यानल भनिएका गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईँ, उपसचिवमा हिमा मैनाली पोखरेल, हामिद आजाद रहेका छन्।

अधिवेशनले एक सय एक सदस्यीय महानगर कमिटी निर्वाचित हुने प्रावधाान रहेको छ। अधिवेशनका लागि तीन सय १४ जना प्रतिनिधि रहेका छन्। जसमा एमाले महानगर कमिटीको १९ वटा वडाबाट दुई सय २० जना प्रतिनिधि चुनिएका छन्। त्यस्तै, जनसंगठनहरूबाट ७९ जना र थप १५ जना प्रतिनिधि मनोनीत गरेर जम्मा तीन सय १४ जना प्रतिनिधि छन्।

मोरङमा हालसम्म १२ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ।
आज (बिहीबार) निर्वाचन हुने एमाले मोरङ सचिव सोमराज थापाले जानकारी दिए। ‘मतपत्र छाप्नका लागि छापाखानमा पठाइएको छ। आजै निर्वाचन हुन्छ,’ उनले भने, ‘आजै निर्वाचन हुँदा मतपरिणाम पनि आजै आउँछ।’

यसअघि सहमतिका लागि प्रयास गरिए पनि सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको उनले बताए। उनी गत फागुनमा भएको मोरङको अधिवेशनमा इतर समूहबाट निर्वाचित भएका हुन्। खासगरी एमाले मोरङको अधिवेशनमा इतर समूहको प्यानलै निर्वाचित भएको थियो।

जानकारहरूका अनुसार पार्टी मोरङको अधिवेशनपछि थप हौसिएको इतर समूहले महानगरमा पनि निर्वाचनमार्फत नै आफूले नेतृत्व लिने तयारीसाथ अगाडि बढेको छ। जसका लागि उनै ढकालले नै नेतृत्व गरिरहेका छन्।

यसअघि उद्घाटन सत्रपछि संस्थापन पक्षले बाउन्सर राखेको भन्ने आरोप लगाउँदै असन्तुष्ट बनेको इतर समूहले तत्कालै निर्वाचन हुनुपर्ने माग राखेको थियो।

पछिल्लो समय पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको ‘बेलगाम बोली’ का कारण पनि पार्टीमा असन्तुष्ट बढ्दै गएको छ। जसकारण पूर्वराष्ट्रपति भण्डारीसमेत सक्रिय राजनीतिमा आउने संकेतका कारण पार्टीको वडा तहसम्मै आन्तरिक गुटले प्रभाव पर्ने गरेको छ।

प्रकाशित: ४ वैशाख २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast