
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।
बिहीबार काठमाडौँमा बसेको राप्रपा कार्यसम्पादन समिति वैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
बैठकले बैंशाख ९ गते ७७ जिल्लामा विरोधसभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ भने उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरू पुग्दै संगठनलाई मजबुत र आन्दोलन केन्द्रीत गर्ने निर्णय गरिएको लिङदेनले बताए।
त्यस्तै बैठकले चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाई गर्न माग गरेको छ। आफ्ना नेताको रिहाईका लागि कानूनी तथा राजनीतिक दुवै लडाइँलाई शसक्त रुपमा लैजाने निर्णय भएको लिङदेनले बताए।
उनले पार्टीका सबै आन्दोलनका कार्यक्रमलाई व्यवस्थित गर्न विशेष कमिटी बनाउने निर्णय भएको जानकारी दिए।
उनले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको धारणा राखे। निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफुहरु सामूहिक रुपमा थुनामा जान तयार भएको उनले बताए।