
रामपुर- शिक्षक आन्दोलनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ। शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन्। आन्दोलनका कारण वार्षिक परीक्षाको नतिजा रोकिँदा भर्नासँगै पठनपाठन प्रभावित बनेपछि अभिभावक चिन्तित बनेका छन्।
भर्ना अभियानको समयमा शिक्षक प्रदर्शनमा सहभागी सरिक हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता बढेको अभिभावक नारायण रेग्मीले बताए। ‘वार्षिक परीक्षाको नतिजा अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन, भर्ना कहिले खुल्ने हो हामी अन्यौलमा छौँ, निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना चलाइरहेको देख्दा हाम्रो मन आत्तिएको छ’, उनले भने, ‘सामुदायिक विद्यालयमा कहिलेबाट भर्ना सुरु भई कक्षा सञ्चालन हुने हो? यो विषयमा हामी अभिभावक चिन्तित छौँ।’
सबैजसो सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गरेर काठमाडौँमा आन्दोलनमा सहभागी हुन पुगेका छन्। नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति पाल्पाले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी हुन सामुदायिक विद्यालयका शिक्षकलाई आह्वान गरेको छ।
पाल्पास्थित विभिन्न संघसंगठनका शिक्षक संगठनको हस्ताक्षरसहित विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई अनुरोध गरिएको हो। शिक्षक प्रदर्शनका कारण सामुदायिक विद्यालयको वार्षिक परीक्षाको नतिजा औपचारिक रूपमा सार्वजनिक नभएको रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए।
‘औपचारिक रूपमा परीक्षाको नतिजा सार्वजनिक नभए पनि केही अभिभावक तथा विद्यार्थीले शिक्षकसँग सम्पर्क गरेर जानकारी लिनुभएको छ तर सबै विद्यार्थी, अभिभावक परीक्षाको नतिजाबारे जानकार हुनुहुन्न। आन्दोलनले परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान प्रभावित बनेको छ, बुधबारदेखि रामपुरभित्रका सबैजसो सामुदायिक विद्यालय ठप्प जस्तै बनेका छन्, दुईदेखि तीन दिनको अवधिमा रामपुरबाट बसमार्फत शिक्षक काठमाडौँमा आन्दोलनमा सहभागी हुन जाने गरेका पाएका छौँ’, उनले भने।
भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा नबढ्ने नगर शिक्षा अधिकृत काफ्लेको अनुमान छ। मंगलबारसम्म केही विद्यालयले आन्तरिक रूपमा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्य सञ्चालन गरे पनि बुधबारदेखि भने सबैजसो विद्यालय बन्द रहेका उनले जानकारी दिए।
पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षिक भएका यहाँका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराशा बनाएको काफ्लेको भनाइ छ। उनका अनुसार निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका यहाँका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्यौलमा परेका छन्।
अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ। विद्यालय सञ्चालन नहुँदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन्। खुसी मुद्रामा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय जाने बेला बालबालिका यतिबेला घरमा बसेर, खेलेर समय बिताउने गरेका छन्।