
लुम्बिनी- बुटवलमा दैनिक बचत संकलन गर्ने गरी सञ्चालित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरू कार्यालयमा सूचना टाँस गरी फरार भएका छन्। बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित कार्यालयमा चैत ३१ गते सूचना टाँस गरी सञ्चालक र कर्मचारीहरू सम्पर्कविहीन भएका हुन्।
सहकारी परिवारका नामबाट जारी गरेको सूचनामा अध्यक्ष आकाश भट्टराईले संस्थाको आर्थिक रकम हिनामिना गरेको र अध्यक्षको खोजी नहुँदासम्म कार्यालय बन्द हुने उल्लेख गरेको छ।
अध्यक्ष भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको र अध्यक्षको खोजी गरेर सम्पर्कमा ल्याएपछि बचतकर्ताहरूको रकम फिर्ताको प्रक्रिया अगाडि बढाइने सूचनामा लेखिएको छ। सूचनामा अध्यक्षको खोजीका लागि बचतकर्तालाई अपिल गरिएको छ।
‘कार्यालय खोलेर बस्न नसकिने र बचतकर्ताले कार्यालयमा धर्ना दिएका कारण सुरक्षाका दृष्टिकोणले गर्दा संस्था बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौँ, सूचनामा भनिएको छ। सहकारीले एकाएक सूचना निकालेर कार्यालयमा ताला लगाएर कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताहरू भने बिचल्लीमा परेका छन्।
सूचना निकालेर कार्यालय बन्द भएको थाहा पाएर आउँदा कोही पनि सम्पर्कमा नआएको तिलोत्तमाकी-४ की दीपा रजालीले बताइन्। उनले दुःखसुख गरेर दैनिक बचत गरेको तर सञ्चालक कोही पनि सम्पर्कमा नआएर फरार भएकाले सरकारलाई समेत कारबाहीका लागि माग गरिन्।
आफ्नो बचत रकम लिन कार्यालयमा आएकी बुटवल-७ दीपनगरकी स्मृति पाण्डे पौडेलले कोही पनि सम्पर्कमा नआएको बताइन्। ‘छोराछोरीको स्कुलको नास्ता कटौती गरी दैनिक एक दुई सयका दरले जम्मा गरेकी थिएँ आज रकम लिन आउँदा सहकारी नै बन्द छ’, उनले भनिन्।
बुटवल-११ देवीनगरका किरण गुरुङले सानो व्यवसायबाट दैनिक बचत गरेकोमा अहिले आउँदा कर्मचारी र सहकारी सञ्चालक फरार हुँदा संकटमा परेको बताए। उनले व्यापार व्यवसायसमेत राम्रो नभएकाले बचतकै रकमबाट भाडा तिर्न भनेर रकम निकाल्न आउँदा कार्यालय बन्द भएपछि मात्रै सहकारीले ठगेको थाहा भएको बताए। ‘सूचनामा नम्बर राखिए पनि सम्पर्क हुँदैन। कार्यालयमा म आएदेखि दिनभर भित्र घन्टी बजेको छ’, गुरुङले भने।
सहकारीले दैनिक बचत संकलन गर्ने भएकाले करोडौँ रकम उठाएर भागेको हुन सक्ने अनुमान गरिएको छ। सहकारीका अध्यक्ष अशोक भट्टराई, कोषाध्यक्ष वसन्त भट्टराईले मोबाइल फोन अफ गरी सम्पर्कविहीन भएका हुन्।
सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले भने आफूहरू नै अन्यायमा परेको गुनासो गरेका छन्। उनीहरूले नातेदार परेकाले सहकारी दर्ताका बेला नागरिकताको फोटोकपी मात्रै दिएको बताउने गरेका छन्।
सनराइजमा कति बचत कर्ता ठगिए भन्ने यकिन हुन सकेको छैन। उनीहरूले बुधबार कार्यालयअगाडि धर्ना दिएका थिए। बचत रकम फिर्ता नपाउँदासम्म निरन्तर आन्दोलनमा उत्रने बचतकर्ताहरूको भनाइ छ।
सहकारीले सर्वसाधारणलाई ठगे पनि सरकारी निकायको भने ध्यान अझै पुग्न सकेको छैन। लुम्बिनी प्रदेश सरकारका सहकारी रजिस्ट्रार मधुकृष्ण पौडेलले आफूहरूले पनि तत्काल केही गर्न नसक्ने बताए।
उनले प्रदेश स्थापन भएपछि दर्ता भएका सहकारीको अवस्था राम्रो नभएको बताउँदै सनराइज पनि त्यही अवस्थामा पुगेको बताए। उनले सहकारीहरूले बदमासी गरिरहेको पाइएकाले अब यसबारे ठोस कदम चाल्नुपर्ने बताए।
लुम्बिनी प्रदेश स्थापनापछि १३० वटा सहकारी प्रदेशमा दर्ता भएका छन्। प्रदेश सरकारअन्तर्गत आठ सय ४८ सहकारी छन्। यी सहकारीहरूको अनुगमन र नियमनका लागि कर्मचारी अभाव भएकाले गर्न नसकिएको रजिस्ट्रार पौडेलले नै स्वीकार गर्छन्। सनराइज सहकारीमा कति सेयर सदस्य र कति नियमित दैनिक बचतकर्ता छन् भन्ने यकिन हुन सकेको छैन। कार्यालय देवीनर सीसीटी कलेज अगाडि छ।
यसअघि बुटवलको सुप्रिम र शिखर सहकारीले करोडौँ रुपैयाँ अपचलन गरिसकेको अवस्थामा सनराइज बहुउद्देयीय सहकारीको ठगीले सर्वसाधारण चिन्तामा छन्। सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको अभियोगमा पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देही कारागार चलान भएका छन् भने सहकारीका सञ्चालकहरू पनि जेलमा छन्।