
सर्लाही- समाजमा हुने बालविवाह हटाउन पहल गर्दा अभियान्ता नै आखी हुने गरेको गुनासो बढेको छ। बालविवाह कानुनी रूपले अवैध हो भन्ने बुझाउन समाज पस्दा अगुवाबाटै तिरस्कार हुने गरेको गुनासो बढेको हो।
सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी नाम परिवर्तन १८ वर्षीया सिमा खातुनका अनुसार बालविवाह र दाइजोको समस्याबारे लड्न जोखिम हुने गरेको छ। खातुन हरिपुर्वा नगरपालिका–५, मा रहेको केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुन्।
उनी बागमती सेवा समाज नामक गैरसरकारी संस्थाको सहयोगमा पछिल्लो समय बालविवाह हुननदिन लागिपरिरहेकी छन्।
उनी समुदायकी छोरी मान्छे बोल्नु नै गलत मान्ने समाजमा अधिकारका कुरा गर्न आफूलाई कठिन भएको बताउँछिन्। ‘हाम्रो समुदायमा छोरा चाहिने गलत सोचका कारण धेरै छोरी जन्मिएका छन्,’ उनले भने, ‘छोरी धेरै भएपछि आमाबुबालाई विवाहमा हुने आर्थिक भारको चिन्ता हुन्छ। त्यसबाट छुटकारा पाउन वाल्यावस्थामा नै बिहे गरिदिने चलन छ।’
बाल क्लबमा आबद्ध भएपछि किशोरकिशोरी अवस्थामा हुने शारीरिक परिवर्तन, लैंगिक विभेद, बालविवाह, दाइजो प्रथाले निम्त्याउने दीर्घकालीन असरबारे जान्न पाएको उनले सुनाइन्।
मुलुकको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानिएको छ। बालविवाह गैरकानुनी हुन्छ । बालविवाह गरे स्वतः बदर हुने र विवाह गर्नेगराउनेलाई कानुनी कारबाही हुने व्यवस्था छ तर त्यो कार्यान्वयन नहुँदा कुरीति नियन्त्रण नभएको किशोरी हरिपुर्वा नगरपालिका–२, निवासी रीता चौधरीले गुनासो गरिन्।
बाल क्लबबाट गाउँमा भइरहेको बालविवाह रोक्न जाँदा वा जानकारी दिँदासमेत आफूहरूलाई समस्यामा पार्ने गरेको उनको गुनासो छ । कानुनले अपराध मानेको बालविवाहको भोजमा जनप्रतिनिधिदेखि सामाजिक व्यक्तित्व र राजनीतिक दलका नेता स्वयम् उपस्थित भएर भोज खाने गरेका उनले सुनाइन्।
उनले भनिन्, ‘यस क्लबले बालविवाह कम गर्न लागि अभिभावकलाई सचेत गराउन सडक नाटक, ¥यालीदेखि, बालविवाह रोक्नेसम्मका काम गरिरहेको छ । एक पटक गाउँमा बालविवाह हुनलागेको थाहा पायौँ । सबै साथी रोक्नुपर्छ भनेर बिहे घर पुग्यौँ । बालिकाका बुबा, आमालगायत परिवारलाई सम्झाउने कानुनी कारबाहीको डर देखायौँ । जनप्रतिनिधिले उल्टै हामीलाई धम्क्याए।’
समाजका अगुवा भनिएका जनप्रतिनिधि, कानुन कार्यान्वयन गर्न बसेका प्रहरी प्रशासनले यस्ता कुरीतिलाई प्रोत्साहन दिने गरेका अर्की नाम परिवर्तन कुमारी साहको दाबी छ।
घटनाको विषयमा प्रहरीलाई सुटुक्क जानकारी दिँदा पनि प्रहरीले उजुरीकर्ताको गोपनीयता भंग गरिदिने गरेको उनको अनुभव छ।
सामान्य कुरामा समेत केटाकेटी भाग्ने परिपाटीले चिन्तित तुल्याउने गरेको अभिभावक सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, का रामबाबु चौधरीले बताउँछन्।
रीता जस्तै जिल्लाको हरिपुर्वा नगरपालिकामा १२ वटा र पर्सा गाउँपालिकामा सातवटा र एउटा गाउँपालिकास्तरीय बाल क्लब सञ्जाल गरी ३७८ जना किशोरकिशोरी बाल क्लबमा आबद्ध छन्। उनीहरूले बालविवाह, दाइजो प्रथालगायतको कुरीतिविरुद्ध काम गर्ने गरिरहेका संस्थाका कार्यक्रम संयोजक प्रमेश बादेले बताउँछन्।
विकास साझेदार संस्था वल्डभिजनको सहयोगमा बागमती सेवा समाजले दुईवटा पालिकामा बाल विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो।