शिक्षकहरूलाई मन्त्रालयले भन्यो- शिक्षा विधेयक छिट्टै पारित हुन्छ, काममा फर्कनुहोस्

हिमाल प्रेस ४ वैशाख २०८२ ७:२४
1.4k
SHARES
शिक्षकहरूलाई मन्त्रालयले भन्यो- शिक्षा विधेयक छिट्टै पारित हुन्छ, काममा फर्कनुहोस्

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट १६औं दिनमा जारी आन्दोलनका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै समाधानका लागि आवश्यक कानुनी तथा प्रशासनिक पहल सुरु गरिएको जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको विद्यालय शिक्षा विधेयक-२०८० छिटो पारित गर्न सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिअनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ। साथै, विधेयक छिटो पारित गर्न सरकार आवश्यक समन्वय र सहजीकरणमा जुट्ने स्पष्ट उल्लेख गरिएको छ।

सरकारले नेपाल शिक्षक महासंघले उठाएका मागहरूप्रति संवेदनशील रहेको र संवादलाई निरन्तरता दिँदै यथोचित समाधान गर्ने प्रतिबद्धता पनि जनाएको छ। विज्ञप्तिमा हालको आन्दोलनले विद्यार्थी भर्ना, कक्षा १० को उत्तरपुस्तिका मूल्यांकन तथा कक्षा १२ को परीक्षा सञ्चालन जस्ता कार्यहरू प्रभावित हुन सक्ने भएकाले आन्दोलन तत्काल रोकी शिक्षकहरूलाई आ-आफ्नो काममा फर्किन आह्वान गरिएको छ।

सरकारले शिक्षक महासंघलाई आन्दोलन स्थगन गरी शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति

क) विभिन्न मागहरू राखी नेपाल शिक्षक महासंघको आव्हानमा हाल भइरहेको प्रदर्शनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल शिक्षक महासंघले उठाएका विभिन्न मागहरूप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने ।

ख) संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतको प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न मिति २०८२।०१।०२ गतेको मन्त्रिपरिषद्को बैठकबाट सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने र सो विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने ।

ग) हाल विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को उत्तरपुस्तिका परीक्षण गर्ने एवम् कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ- आफ्नो काममा फर्किन आह्वान गर्ने र सो को लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासंघलाई अनुरोध गर्ने ।

मिति २०८२/०१/०२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयलाई मन्त्रालयको तर्फबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल शिक्षक महासंघलाई सम्पूर्ण प्रदर्शनका कार्यक्रम रोकी मन्त्रिपरिषद्बाट गरिएका निर्णय र आह्वान अनुरूप अगाडि बढ्न आग्रह गरिन्छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णयप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast