
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागप्रति सरकार संवेदनशील रहेको र ती मागहरू यथोचित रूपमा सम्बोधन गरिने बताए।
प्रवक्ता गुरुङका अनुसार अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्न सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ।
उनले भने, ‘शिक्षकहरूको मागप्रति सरकार गम्भीर छ। त्यसैले अब आन्दोलनको आवश्यकता छैन।’ गुरुङले शिक्षकहरूलाई शैक्षिक वातावरण बिथोलिने गरी आन्दोलन जारी नराख्न आग्रह गरे।
प्रवक्ता गुरुङले आन्दोलनको असर प्रशासनसम्म देखिन थालेको बताउँदै भने, ‘शिक्षकको आन्दोलन देखेर निजामती कर्मचारीहरू पनि आन्दोलनको तयारीमा छन्। यदि सबै आन्दोलनमा होमिए भने शासन व्यवस्था कसरी चल्छ? सरकारलाई अप्ठेरो पारेर के राजतन्त्र फर्काउने सोच हो त?’
उनले हालको आर्थिक अवस्थालाई ध्यानमा राख्दै शिक्षकलगायत निजामती कर्मचारीहरूको सेवासुविधा वृद्धि गर्नसम्बन्धी अध्ययन भइरहेकाे पनि जानकारी दिए। विद्यालय शिक्षा ऐन फास्ट ट्रयाकबाट पारित गर्न अन्य राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने सरकारको तयारी रहेको उनले बताए।