
जलेश्वर– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन्।
जसपा नेपालको महोत्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताए।
उनले केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उनको भनाइ छ।
अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गरे। देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उनले बताए।
प्रकाशित: ३ वैशाख २०८२ १९:३२
प्रतिक्रिया