देउवा मौन रहुन्जेल ओली ढुक्क

किरण पौडेल ३ वैशाख २०८२ २१:५३
112
SHARES
देउवा मौन रहुन्जेल ओली ढुक्क प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ– स्थायित्व, सुशासन र संविधान संशोधनको मूल एजेन्डा बनाएर गठित केपी शर्मा ओली नेतृत्वको सरकार ९ महिनामै संकटतर्फ धकेलिएको छ। दुईतिहाई सांसदको समर्थन र ठूला दुई दल (कांग्रेस-एमाले) को गठबन्धनबाट बनेको सरकारको कार्यशैलीलाई लिएर सत्तारुढ दलबाटै असन्तुष्टिका स्वर सार्वजनिक हुन थालेको हो।

कांग्रेसकै जिम्मेवार नेताले सरकारको कार्यशैलीको विरोध गर्दै यस्तै अवस्थामा समर्थन गर्न नसकिने अभिव्यक्ति दिन थालेका छन्।

काठमाडौँका भएका विभिन्न समूहका आन्दोलन, राजसंस्था समर्थकको गतिविधि र बढ्दो आक्रोशित जमातलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो बढेको छ। संविधान संशोधनबारे दलहरूबीच छलफल भएको छैन।

कांग्रेससँगको सहमतिअनुसार काम नगरेर ओलीले ‘अहंकार’ प्रदर्शन गरिरहेको भन्दै आलोचना भइरहेको छ। सत्ताको प्रमुख घटक कांग्रेसका नेताहरूले ओलीको चरित्र नुसध्रिने हो भने धेरै दिन टिक्न नसक्ने अभिव्यक्ति दिएका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माकै अभिव्यक्तिका कारण पनि सरकारको दिनगन्ती सुरु भएको अनुभव हुन थालेको छ। विभिन्न गुटमा विभाजित कांग्रेसमा आक्रोशका स्वर फरकफरक किसिमको छ।

नेता शेखर कोइरालाले ओली सरकार गठनदेखि नै असन्तुष्टि जनाउँदै आएका छन्। उनले कांग्रेस-एमाले सही दिशामा अघि नबढेको अभिव्यक्ति दिएको धेरै भइसक्यो। पछिल्लो समय महामन्त्री गगन थापा-विश्वप्रकाश शर्मासमेत सरकारसँग सन्तुष्ट छैनन्।

थापाले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समर्थन अघि बढाउन सोच्नुपर्ने बताए। उनले ओली सरकार बिचौलियाबाट घेरिएको र सरकार ‘ट्याक्टर’ को गतिमा मात्रै अघि बढेको बताएका थिए।

थापा सरकारलाई सफल बनाउन प्रधानमन्त्रीले बनाएको उच्चस्तरीय संयन्त्रका सदस्यसमेत हुन्। उनले ओलीबाट समझदारीको सरकार चलाएको आभास नभएको गुनासो गरेका छन्।  कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारप्रति तीव्र असन्तुष्टि रहेको जनाएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत विषयवस्तु नै खुलाएर असन्तुष्टि जनाएका हुन्।

उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको कामको आलोचना गरेका छन्। सरकार चल्नुपर्ने तर कार्यशैली फेरिनुपर्ने शर्माको भनाइ छ।

थापा र शर्माबाट सरकारको आलोचना हुँदा समग्र कांग्रेसले कसरी लिन्छ भन्ने कुरा चासोको विषय बनेको छ।

यसैगरी अर्का नेता शेखर कोइरालाले खुलेरै सरकारको विरोध गरिरहँदा सभापति देउवाको बुझाइ के रहला भन्ने प्रश्न उठेको छ। कांग्रेसकै नेताहरूका अनुसार पनि ओली सरकार ढाल्न देउवा असन्तुष्ट हुनुपर्छ। किनभने सरकार बन्दा देउवाले अन्य गुटका धेरैजसो नेतालाई थाहा दिएका थिएनन्।

‘सरकार जनआकांक्षाअनुसार अघि बढ्न नसकेको हो। कांग्रेसलाई सुध्रनुपर्छ भन्ने हाम्रो माग छ,’ देउवा निकट नेता एवं कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘सरकारलाई समन्वयमा अघि बढ्नुपर्छ भन्ने हाम्रो काम हो। हामी भनिरहेका छौँ।’ यद्यपि सरकार ढलिहाल्छ भन्ने कुरा मान्न नसकिने विश्वकर्माको भनाइ छ।

‘असन्तुष्टि छ तर ढलिहाल्नुपर्छ भन्ने छैन’

विभिन्न गुट/उपगुटमा विभक्त कांग्रेसमा सरकारसम्बन्धी असन्तुष्टिको पारो बढेको छ। सबै गुटका नेताहरू सरकारको आलोचना गरिरहेका छन्। महामन्त्रीहरूको अभिव्यक्तिले त अझै तीव्र असन्तुष्टि देखिन्छ। कांग्रेस नेताहरू अहिल्यै सरकार ढल्नेमा विश्वस्त छैनन्।

‘सरकार ढलिहाल्छ भन्ने लाग्दैन। किनभने सरकार ढल्न कांग्रेस-एमाले छुट्टिने निष्कर्षमा पुग्नुपर्छ। अहिले त्यो निष्कर्षमा पुगेको देखिँदैन,’ शेखर कोइराला निकट कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्, ‘सरकार ढल्ने सैद्धान्तिक आधार छैन।’

घिमिरे सरकारको कार्यशैली र कार्यसम्पादनका कारण गठबन्धनको गाँठो कसिलो नभएको बताउँछन्। सरकारको कार्यसम्पादन एकातिर र योजना अर्कातिर भएको उनको बुझाइ छ। ‘यो सरकार बन्दा संविधान संशोधनसहित विभिन्न एजेन्डा थिए। तर अहिले सरकार बन्नकै लागि मात्र बनेछ कि जस्तो लाग्छ’, घिमिरे भन्छन्। यद्यपि घिमिरे देउवा मौन रहँदासम्म सरकार हलचल हुने सम्भावना देख्दैनन्।

ओली सरकारमाथि विभिन्न आरोप लगाउँदै महामन्त्री थापा असन्तुष्टि बन्दा उनी निकट नेता भने सरकार सच्चिनुपर्ने पक्षमा छन्। ‘धारावाहिक रूपमा सरकारबारे असन्तुष्टि जनाइरहेका छौँ। तर सरकार सत्तारुढ दलकै कुरा सुनिराखेको छैन,’ थापा निकट कांग्रेस नेतृ प्रतिमा गौतम भन्छिन्, ‘सडकमा असन्तुष्टि छ। जनताका कुरा संविधान संशोधनमार्फत सुन्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। तर सरकारले चासो दिएको छैन।’ गौतम सरकारको कार्यशैली सच्चिनुपर्ने तर ढालिहाल्नुपर्छ भन्नेमा नरहेको प्रस्ट पार्छिन्।

‘सरकारलाई खबरदारी गर्नु हाम्रो काम हो। यस्तै प्रवृत्तिले सरकार अघि बढ्न सक्दैन’, उनी थप्छिन्। सरकार विभिन्न प्रकरणमा जोडिएको कारण कांग्रेसमा असन्तुष्टि बढेको देखिन्छ।

साउनसम्म कार्यकाल रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समयसम्म चल्न नदिँदा कांग्रेसबाट विरोध भइरहेको छ।
मन्त्रिपरिषद् बैठकबाटै पनि कांग्रेस मन्त्रीहरूले कुलमान नहटाउन अनुरोध गरेका थिए। ओलीले कुलमान हटाएरै छाडे। त्रिवि उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि ओली सरकारसँग कांग्रेस थप आक्रोशित भएको नेताहरू बताउँछन्।

देउवा चाहँदैनन् तत्काल सरकार परिवर्तन

कांग्रेसमा असन्तुष्टि बढेको सुनिए पनि सभापति देउवा सरकारबारे टीकाटिप्पणीमा उभिएका छैनन्। देउवा समूहकै नेता सरकारको विरोधमा उत्रिँदासमेत उनी मौन रहेकाले सरकार ढलिहाल्ने स्थिति नभएको नेताहरूको दाबी छ। ओलीसँग सरकार बनाउन कांग्रेसबाट सबैभन्दा बढी भूमिका खेल्नेमा देउवा नै हुन्।

गत वर्ष असारमा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर देउवा नै ओली निवास पुगेका थिए। त्यही भेटघाटपछिको विकसित राजनीतिक समीकरणले ओली प्रधानमन्त्री बनेका हुन्। त्यसअघि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्न पुग्यो। यही कारण पनि यो सरकार बनाउन र भत्काउनमा देउवाकै भूमिका निर्णायक रहन्छ। कांग्रेसका सबै गुटमा विभाजित नेताहरू नै यही भन्छ।

सामुन्नेमा आएको प्रधानमन्त्री पद

ओलीसँग गरिएको समझदारीअनुसार पनि १८/१८ महिना दुईजना (ओली/देउवा)आलोपालो प्रधानमन्त्री बन्ने उल्लेख छ। ओली आफूले देउवालाई सत्ता हस्तान्तरण गर्ने बताइरहेका छन्। ओलीले भन्ने गरेका छन्,‘अबको प्रधानमन्त्री समझदारीअनुसार नै हुन्छ।’ ओलीको कुरालाई विश्वास राख्दै देउवा वर्तमान सरकारबारे टिप्पणी नगर्ने गरेको नेताहरूको बुझाइ छ।

‘अहिले हामी (कांग्रेस)ले जसरी सहयोग ग¥यौँ पछि हाम्रो नेतृत्वमा सरकार बन्दा पनि उस्तै आश रहन्छ,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘अब सभापति (देउवा)जी यही समझदारीअनुसार प्रधानमन्त्री बन्ने हो।’ कांग्रेस-एमालेबीचको समझदारी कार्यान्वयनका लागि पनि देउवा मौन रहेको बुझाइ छ।

सरकार ढाले कांग्रेसको ‘प्रतिष्ठामा आँच’आउने

सरकार ढालेमा कांग्रेस पनि समझदारीअनुसार नचलेको आरोप लाग्नेमा नेताहरू सशंकित छन्। कांग्रेस स्रोत भन्छ, ‘हामी (कांग्रेस) अरू (माओवादी) जस्तो सत्ताका लागि समझदारी तोड्दैन भन्ने देखाउनुपर्नेछ। यसैले पनि हामीले सरकार ढाल्नु हुँदैन।’ माओवादीले ढलिहाल्नुपर्छ भन्दैमा सरकार नढल्ने विश्वकर्मा बताउँछन्। माओवादी अध्यक्ष प्रचण्ड भने नयाँ समझदारीअनुुसार सरकार निर्माण गर्नुपर्ने बताइरहेका छन्।

वैकल्पिक सरकारको अनुहार अस्पष्ट

ठूला दल मिलेर सरकार बनाउँदा सकस पर्नेमा कांग्रेस नेताहरू स्पष्ट छन्। ठूला दुई दलको सरकार बन्दा ठूलै स्वार्थहरू हुन्छन्। ‘हामी (कांग्रेस-एमाले प्रतिस्पर्धी नै हो तर पनि विशेष परिस्थितिमा सरकार बनेकाले ढालिहाल्नु हुन्न’, कांग्रेसका अर्का एक नेताले भने।

कांग्रेस नेताहरूका अनुसार वर्तमान सरकार ढालिहालेमा फेरि कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने अनिश्चित छ। किनभने माओवादीसँग विगतको समझदारीबाट समेत सरकार स्थिति रूपमा चल्ने सम्भावना छैन। यही कारण पनि देउवा वर्तमान सरकारलाई निरन्तर चलाउन चाहेको नेताहरू सुनाउँछन्।

एमाले भन्छ : गगनले बजारीकरण गरे, बाहिर हल्ला गर्नु अनावश्यक

एमालेले सचिवालयले सरकार ढल्ने परिस्थिति नबनेको निष्कर्ष निकालेको छ। यद्यपि कांग्रेस वृत्तबाट सरकारबारे कुरा उठ्नुलाई पनि सरकारको नेतृत्वकर्ता एमालेले अनौठो मानेको छैन।

‘कांग्रेसको महाधिवेशन सन्निकट छ। यसले पनि आन्तरिक संघर्षले सरकारसम्बन्धी कुरा उठेको हो,’ एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्, ‘यो सरकारले डेलिभरी नदिएको लागेमा सरकारका बैठकमा सामेल भएर कुरा राख्ने हो। बाहिर राखेर बजारीकरण गर्नुहुन्न।’

कांग्रेसको राजनीतिमा सरकारको हल्ला पिटाएर गगनले बजारीकरण गरेका हुन्। ‘जिम्मेवार व्यक्तिले जिम्मेवार अभिव्यक्ति दिने हो। उहाँ(गगन) संयन्त्रको सदस्य हो। बैठकमा कुरा राख्ने हो’, गौतम भन्छन्। उनले कांग्रेसका असन्तुष्ट नेताहरूले प्रधानमन्त्रीलाई मात्र दोषी नदेख्न र मन्त्रीलाई समेत कमीकमजोरी हेर्न अनुरोध गरेका छन्। ‘सरकारको कुरा उठाउने नेताहरूले आफ्ना मन्त्रीको कार्यसम्पादन ख्याल राख्नुहोला। सुशासनको पाठ सिकाउनुहोला’, उनी भन्छन्।

प्रचण्डले दिएका सरकारसम्बन्धी अभिव्यक्तिलाई भने एमालेले तलाउमा ढुंगा हानेर चर्चामा आउने खोजेको टिप्पणी गरेको छ। ‘प्रचण्ड चर्चामा आउन सरकार ढाल्छौँ भनिरहेका छन्’, गौतमले भने।

प्रकाशित: ३ वैशाख २०८२ २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast