शिक्षकका माग सम्बोधन गर्न यस्तो छ कांग्रेसको पहल, समन्वयको जिम्मेवारी महरलाई

हिमाल प्रेस ३ वैशाख २०८२ १७:०६
302
SHARES
शिक्षकका माग सम्बोधन गर्न यस्तो छ कांग्रेसको पहल, समन्वयको जिम्मेवारी महरलाई

काठमाडौँ- प्रमुख सत्ता रुढ नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे पार्टीको आधाकारिक धारणा बनाउन छलफल थालेको छ। अधिकांश कांग्रेस पदाधिकारी र पार्टीको शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ।

विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको माग सुनुवाइका कांग्रेसले पहलकदमी गरिरहेको पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए। उनले शिक्षकका माग सम्बोधन गरी विधेयक चाँडो पारित गर्नका लागि सरोकारवाला पक्षसँग आवश्यक समन्वयका लागि शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिइएको जानकारी दिए। ‘उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचारविमर्श गरेर मूर्तता दिनेछ र त्यो नै पार्टीको आधिकारिक धारणा हुनेछ’, पौडेलले भने।

पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पनि शिक्षकका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका छन्। देउवाले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघ अध्यक्ष सोमनाथ गिरी र पार्टीका केही पदाधिकारीहरूलाई निवासमै बोलाएर छलफल गरेका थिए।

पार्टी सभापति देउवाले १ वैशाखमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका थिए। ‘शिक्षकको सम्मान गर्नुपर्छ। शिक्षकको मर्यादा गर्नुपर्छ। शिक्षकलाई सम्मानित नगर्दा मुलुक सम्मानित हुन सक्दैन भन्नेमा पार्टी सभापति प्रस्ट हुनुहुन्छ। शिक्षा विभागलगायत पार्टीका नेताहरूलाई बोलाएर उहाँले समस्या समाधानमा सक्रिय हुन निर्देशन दिइसक्नुभएको छ। कांग्रेस शिक्षकका माग सम्बोधनमा गम्भीर र जिम्मेवार छ’, पौडेलले भने।

यसैगरी शिक्षामन्त्री विद्या भट्टराई, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकका बीचमा समस्या समाधानका लागि गहन छलफल भइरहेको मुख्य सचिव पौडेलले बताए।

सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि सोमबार बिहान पार्टी कार्यालय सानेपामा शिक्षक अगुवासँग छलफल गरेका थिए। छलफलमा शिक्षकका माग सम्बोधनका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएएको पौडेलले बताए।

सोहीअनुरूप मंगलबार बेलुकी संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको उनले बताए। छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, पार्टीबाट विधेयक उपसमितिका सदस्य डिगबहादुर लिम्बु र महेन्द्र साय यादव, सहमहामन्त्री जीवन परियार, विभाग प्रमुख महर, पार्टी मुख्यसचिव पौडैललगायत सहभागी थिए।

शिक्षा विभाग प्रमुख महरले पार्टीले दिएको जिम्मेवारी पूरा आफूहरू सक्रिय रहेको बताए। उनले हिमालप्रेससँग भने, ‘विधेयकका बुँदामा सहमति जुटाउन र समन्वय गन लागिपरेका छौँ। पार्टी र संसदीय दलबीच पनि समन्वय भइरहेको छ। चाँडै एउटा धारणा बनाउनेछौँ।’

आन्दोलन लम्बिँदा शैक्षिक सत्रमा असर पर्नुका साथै राज्यप्रति शिक्षकहरूको विश्वास गुम्दै गइरहेकाले माग सम्बोधनका लागि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने महरले प्रस्ट पारे।

उनले पार्टीको शिक्षा विभागको समुन्वय र कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवको संयोजनमा आन्दोलरत शिक्षक संघका जिल्ला अध्यक्षहरूले पार्टी सभापति देउवासँग भेटेर आफ्ना कुरा राखेको जानकारी दिए। महरले भने, ‘सभापतिज्यूले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग कुरा गर्नुभएको छ। साथै पार्टी सभापतिले प्रधानमन्त्रीसँग  माग सम्बोधनबारे गहन विमर्श हुने बताउनुभएको छ।’

प्रकाशित: ३ वैशाख २०८२ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast