वैदेशिक रोजगार व्यवसायी संघका तीन पूर्वअध्यक्षसहित एक संस्थापक बर्खास्त, संघ बन्यो महासंघ

हिमाल प्रेस ४ वैशाख २०८२ ११:३६
10
SHARES
वैदेशिक रोजगार व्यवसायी संघका तीन पूर्वअध्यक्षसहित एक संस्थापक बर्खास्त, संघ बन्यो महासंघ एसोसिएसनका पूर्वअध्यक्षहरू कुमुद खनाल, विमल ढकाल, प्रज्ञान न्यौपाने,र संस्थापक तथा पूर्वउपाध्यक्ष सीता देवकोटा।

काठमाडौँ– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार व्यवसायी संघका तीन सल्लाहकारलाई बर्खास्त गरेको छ। बर्खास्तमा परेका तीनैजना संघका पूर्वअध्यक्ष हुन्।

संघका पूर्वअध्यक्ष विमल ढकाल, प्रज्ञान न्यौपाने, कुमुद खनाल र संस्थापक तथा पूर्वउपाध्यक्ष सीता देवकोटालाई सल्लाहकारसमेत नरहने गरी बर्खास्त गरिएको एसोसिएसनका महासचिव तुलसी पुरीले जानकारी दिए। उनीहरूमाथि विधानविपरीत काम गरेको आरोप छ। देवकोटा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत चैत २९ गते भएको निर्वाचनका लागि भुवनसिंह गुरुङको नेतृत्वमा प्रतिस्पर्धा गर्ने एसोसिएसनको संस्थागत निर्णयलाई बेवास्ता गरेर विपक्षीलाई सघाएको आरोप उनीहरूमाथि लागेको छ।

निर्वाचनमा उनीहरूले प्रथम उपाध्यक्ष, महासचिव र सदस्य पदमा उक्साएर नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी समूहको नरेश गेलाल नेतृत्वलाई सहयोग गरेपछि एसोसिएसनले लिखित स्पष्टीकरण मागेको थियो। चारैजनाले चित्तबुझदो जवाफ नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनको चैत २६ गतेको बैठकअनुसार विधानको दफा ९ को उपदफा १ र २ तथा १४ बमोजिम संस्थाले गरेको निर्णयविपरीत हुने गरी कार्य गरेकाले संस्थाबाट सदस्यतासमेत नरहने गरी निष्काशनको कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधिएको थियो। पुरीले एसोसिएसनको एसोसिएसनद्वारा घोषणा गरिएका उम्मेदवारलाई असहयोग गरेका कारण कारबाही गरिएको बताए।

निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका उम्मेदवार भुवनसिंह गुरुङले जितेका थिए। उनी संयुक्त व्यवसायी समूहका अध्यक्ष उम्मेदवार नरेश गेलाललाई ६१ मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन्।

प्रथम उपाध्यक्षमा गेलाल प्यानलका सुजितकुमार श्रेष्ठ निर्वाचित भएका थिए। उनी कांग्रेसनिकट व्यवसायी हुन्। श्रेष्ठ संघका पूर्वमहासचिव हुन्। तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभव निर्वाचित भएका थिए।

यसअघि एसोसिएसनको कार्यसमिति बैठकले स्पष्टीकरणको जबाफ नदिएको भन्दै एसोसिएसनका कोषाध्यक्ष हिमा गुरुङ, पूर्वउपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सुजितकुमार श्रेष्ठ, पूर्वकार्यसमिति सदस्य ईश्वर सापकोटा, चन्द्रबहादुर लिम्बू र कर्णराज कटुवाललाई निलम्बन गरेको थियो। उनीहरु सबैले संघको निर्वाचनमा संयुक्त व्यवसायी समूहका अध्यक्ष उम्मेदवार नरेश गेलालको प्यानलबाट उम्मेदवारी दिएका थिए।

संघलाई महासंघ बनाइयो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अब महासंघ हुने भएको छ। संघको हालै सम्पन्न ३० तथा ३१औँ साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन गर्दै कार्यसमितिको संख्या बढाएको छ।

संघको हालको कार्यसमिति सातजना पदाधिकारी र १४ जना सदस्य गरी २१ सदस्यीय थिए। अब महासंघ भएपछि कार्यसमिति २७ सदस्यीय हुने संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले जानकारी दिए।

कार्यसमिति संरचनामा १ जना महिला उपाध्यक्ष, १ उपमहासचिव र ४ जना सदस्य थप गरिएको छ। संशोधित विधानमा अध्यक्षले कार्यसमितिमा मनोनयन गर्ने ४ जना सदस्य यथावत् राखिएको उनले बताए।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), संयुक्त राष्ट्रसंघीय संस्था यूएन, राष्ट्रिय महिला आयोगलगायतसँग समन्वय र महिला व्यवसायीको हक हित प्रवर्धन गर्ने जिम्मेवारीका लागि संघमा उनीहरुको अधिकार बढाइएको उपाध्यक्ष श्रेष्ठले बताए।

‘वैदेशिक रोजगार व्यवसायी नेपालको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रका रूपमा विकास भइरहेको छ। जसका कारण यसको दायरा फराकिलो बनाउँदै लैजानुपर्छ। अर्थ र रोजगारीका कारण पनि यसको महत्त्व फरक भइरहेको छ’, उनले भने।

प्रकाशित: ४ वैशाख २०८२ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast