वीरगन्ज घटनामा संलग्न दोषीमाथि कारबाही गर्न निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८२ १५:१५
22
SHARES
वीरगन्ज घटनामा संलग्न दोषीमाथि कारबाही गर्न निर्देशन

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन्।

उनले बुधबार विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको कर्तव्य भएको उल्लेख गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको उल्लेख गरे।

मन्त्री गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा आपसी सद्भाव भंग गर्ने कार्य दुःखद् र चिन्ताजनक हो, नागरिकहरूले एकअर्काका धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सहअस्तित्वको आधार हो।’

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ताले निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्क गरिरहेको उल्लेख गरेका छन्। उनले घटनाका दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिएका छन्।

मन्त्री गुप्ताले हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपबाट सृजना भएको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर चासो देखाएका हुन्। झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलको सर्वदलीय बैठक बसेर घटनाको समीक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन्। मुलुकको आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगन्जमा सामाजिक सद्भावमा खल्बल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगन्जवासीलाई संयमित र सजग रहन अनुरोध गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८२ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast