ओली सरकारसँग गगन र विश्वप्रकाश असन्तुष्ट, नेतृत्वलाई कार्यशैली बदल्न सुझाव

हिमाल प्रेस ३ वैशाख २०८२ १३:३०
30
SHARES
ओली सरकारसँग गगन र विश्वप्रकाश असन्तुष्ट, नेतृत्वलाई कार्यशैली बदल्न सुझाव

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको शीर्ष तहबाटै केपी ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ। कांग्रेस-एमालेको गठबन्धन सरकार धरापमा पर्नै लागेको भनेर चर्चा भइरहेका बेला कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले सार्वजनिक रूपमै सरकारी कार्यशैलीप्रति रोष व्यक्त गरेका हुन्।

कांग्रेस-एमाले गठबन्धन सरकार गत असारमा बनेको हो। कांग्रेस संघीय प्रतिनिधिसभाको पहिलो ठूलो दल हो भने एमाले दोस्रो दल। कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमतिअनुसार ९ महिनाअघि ओली प्रधानमन्त्री भएका थिए।

१८ महिना बितेपछि उनले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति छ। कांग्रेसका शीर्ष तहबाटै सरकारको आलोचना हुन थालेपछि ओली सरकारको भविष्यमाथि शंका उत्पन्न हुन थालेको जानकारहरू बताउँछन्।

शर्माले नगर्नुपर्ने निर्णयमा हतार गरिरहेको र गर्नुपर्ने निर्णयमा ढिलाइ गरिरहने सरकारको प्रवृत्ति समर्थनयोग्य नरहेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक नदेखिएको उल्लेख गरेका छन्। शर्माको सुझाव छ, ‘कमजोरी केलाऊँ, लय मिलाऊँ, गति बढाऊँ सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ। सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ।’

महामन्त्री शर्माका सात आरोप

महामन्त्री शर्माले ओली नेतृत्वको सरकारसँग सात विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। शर्माले बुधबार सामाजिक सञ्जालमा सरकारबारे असन्तुष्टि पोखेका हुन्। उनको पहिलो असन्तुष्टि छ- सामाजिक सञ्जाल विधेयक। उक्त विधेयक नियन्त्रणको नियत साथ ल्याएको आरोप शर्माको छ। सरकार सञ्चालनका लागि गठिन संयन्त्रमा विधेयकबारे कुनै संवाद नभएको शर्माको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा विधेयक ल्याउनुपुर्व कुनै संवाद भएन।’

यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, ‘कुलमान प्रकरण मा हटाउनुहुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आमजनमतको हेक्का राखिएन। असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन।’ कुलमानलाई हटाइएको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादीलगायतले केही दिन सदन अवरुद्ध गरेका थिए। प्रधानमन्त्री ओलीले संसद्‌मा जवाफ दिएपछि मात्रै विपक्षी साम्य भएका थिए। कुलमान हटाइएको विषयमा प्रतिपक्षी दलहरूले सडकमा पनि आन्दोलन गरेका थिए।

शर्मा असतुष्ट हुनुको अर्को कारण हो- शिक्षक आन्दोलनलाई सरकारले सम्बोधन नगर्नु। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ। सरकारले निर्णय गर्न मिल्ने बुँदाहरूमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ। विधेयकमार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ।’

शर्माको चौथो असन्तुष्टि छ, अख्तियारसम्बन्धी विधेयकका सम्बन्धमा। उक्त विधेयक संसद्को राज्यव्यवस्था समितिले उपसमितिमार्फत टुंगोमा पुर्‍याए पनि सरकारको निर्देशनमा `होल्ड´ गराएको आरोप शर्माको छ। उनले भनेका छन्, ‘यो कार्य आलोच्य भएको छ र यो अनुचित छ।’

महामन्त्री शर्माले त्रिविविका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरि पनि त्रिविविमा बेथितिले प्रश्रय पाउनुलाई जुनकुनै कोणबाट पनि गलत भएको उल्लेख गरेका छन्।

यसैगरी शर्माले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको अलमलप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले गभर्नर नियुक्ति गर्न नसक्ने ओली सरकारको क्षमतामाथि प्रश्न उठाएका छन्। शर्माले लेखेका छन्, ‘गभर्नर नियुक्तिका विषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दु:खद छ। मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो।’

शर्माले असन्तुष्टि जनाएको सातौँ विषय हो, नेपाली प्रहरीमा रिक्त एआईजी पद। उनले नेपाल प्रहरीको एआईजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिना दिन पुग्न लाग्दासमेत नियुक्तिमा अलमल रहेको उल्लेख गरेका छन्। ‘सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन’, शर्माको भनाइ छ।

नेतृत्वको शैशी वा नेतृत्व बदल्न जरुरी छ : थापा

महामन्त्री थापाले पनि सरकारको नेतृत्वको शैली गलत भइरहेको भन्दै सच्याउन आग्रह गरेका छन्। बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। उनले जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको पनि बताए।

सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पण सरकारको नेतृत्वबाट हुन नसकेको दाबी गरेका छन्।

नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै थापाले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको बताए। उनले भने, ‘नेतृत्वको शैशी वा नेतृत्व बदल्न जरुरी छ।’

महामन्त्री थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बताएका थिए। राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको थापाको भनाइ थियो।

प्रकाशित: ३ वैशाख २०८२ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast