
काठमाडौँ- नेपालमा बिउबिजन आयात बढ्दो क्रममा छ। बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार पछिल्ला केही वर्षदेखि लगातार बिउ आयात बढिरहेको हो। चालु आर्थिक वर्षको आठ महिनामा सवा दुई अर्ब रुपैयाँको बिउबिजन आयात भएको भन्सार विभागको तथ्यांक छ। फागुनसम्ममा दुई अर्ब १३ करोड रुपैयाँको चार हजार पाँच सय ८३ टन बिउबिजन आयात भएको छ।
चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा बढी मकैको बिउ आयात भएको छ। यस अवधिमा एक अर्ब ३० करोड ४२ लाख रुपैयाँको तीन हजार ४ सय ८८ टन आयात भएको छ। धानको बिउ १६ करोड ५८ लाख रुपैयाँको चार सय १० टन आयात भएको छ। यसैगरी हरियो तरकारीको बिउ ६० करोड ७ लाख रुपैयाँको ३ सय १८ टन आयात भएको विभागको तथ्यांकमा छ।
बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले धान, मकै र गोलभेँडाको बिउ नेपालमा उत्पादन भए पनि विदेशबाट आयात भइरहेको बताए। नेपालमा गोलभेँडाका तीनवटा जातको विकास भएको छ। सिर्जना, खुमल-१ र खुमल-२ यी गोलभेँडाको बिउ नेपालमै उत्पादन भइरहेको केन्द्रले जनाएको छ। यस्तै मकैका ७ वटा हाइब्रिइ बिउ उत्पादन भइरहेको छ। ती हुन्- गौरव, रामपुर १०, रामपुर ८, रामपुर ६, रामपुर ४, रामपुर २ र खुमल २।
नेपालमा सबैभन्दा बढी मकैको बिउ आयात भइरहेको छ। सूचना अधिकारी आचार्यले मकै, धान र तरकारीको बिउ आयातमै निर्भर हुनुपरेको बताए। आचार्यले भने, ‘किसानको मागअनुसार स्वदेशमा हाइब्रिड जातको बिउ उत्पादन भएको छैन। जसका कारण आयात बढेको हो। किसानको रोजाइमा बढी उत्पादन दिने बिउ पर्छ।’ मकै र धानको हाइब्रिड जातको बिउ आयात भइरहेको छ।
नेपालमा करिब २२ प्रतिशत बिउमात्र औपचारिक क्षेत्रबाट आपूर्ति हुने गरेको छ। कुल बिउको माग करिब ४५ हजार टन छ भने आपूर्ति करिब ३८ हजार टन भइरहेको उनको भनाइ छ। स्वदेशमा विकास भएको हाइब्रिड बिउले किसानको मागअनुसार आपूर्ति गर्न नसक्दा बर्सेनि बिउको आयात बढ्दै गएको उनले बताए।
संघीय सरकारले बजेटमा गुणस्तरीय बिउ उत्पादन कार्यक्रम ल्याए पनि प्रदेश र स्थानीय तहको प्राथमिकतामा बिउ उत्पादन परेको छैन। सरकारले हरेक वर्षको बजेटमा विभिन्न कार्यक्रममार्फत बिउबिज निर्यात घटाउने योजना ल्याउने गरेको छ।
कृषिविज्ञ हरि दाहाल बजेटअनुसार बिउ आयात घटाउन सरकार सफल नभएको बताउँछन्। उनले भने, ‘खाद्यान्न र तरकारी दुवैको बिउबिजन आयातमा निर्भर हुनुपर्ने अवस्था छ।’
सरकारले बिउ उत्पादन कार्यक्रम प्रभावकारी बनाउन नसक्दा परिणाम उल्टो हुँदै गएको उनले बताए। ‘सरकारले बजारको सुनिश्चित गरिदिएको भए बिउ उत्पादनमा किसानको आकर्षण बढ्थ्यो। बिउ उत्पादन खर्च धेरै लाग्ने र त्यसमा पनि बजार नपाउने समस्या छ’, उनले भने।
बिउ उत्पादन गर्नुभन्दा यस क्षेत्रका व्यवसायी पनि आयाततर्फ लागेको उनी बताउँछन्। बिउ उत्पादन गर्न मेहनत धेरै गर्नुपर्छ। सोहीअनुसारको बजार पाउन सकिएपछि आयातमै आकर्षण भएको उनको भनाइ छ।
गत आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २० करोड ५१ लाख मूल्यको ६ हजार ७४० टन बिउ आयात भएको थियो। यसमध्ये पाँच हजार नौ सय ८८ टन खाद्यान्न र पाँच सय ६९ टन तरकारीको बिउ आयात भएको विभागको तथ्यांकमा छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६३ करोड ४७ लाख मूल्यको ५ हजार ७ सय ७२ टन बिउ आयात भएको थियो। आव २०७९/८० को तुलनामा २०८०/८१ मा बिउको परिमाण नौ सय ६८ टन बढ्दा ५७ करोड रुपैयाँभन्दा बढी पैसा विदेशीको विभागले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड ४७ लाख रुपैयाँको पाँच हजार पाँच सय पाँच टन बिउ आयात भएको थियो । यसैगरी २०७७/७८ मा दुई अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बिउ आयात भएको विभागको तथ्यांकमा छ। आव २०७६/७७ मा एक अर्ब ६४ करोड ७२ लाख रुपैयाँको बिउ नेपाल भित्रिएको विभागको तथ्यांकमा छ।