सगरमाथा क्षेत्रमा बढे पर्यटक, चैतमा पुगे १२ हजार पर्यटक

हिमाल प्रेस ३ वैशाख २०८२ ११:४०
8
SHARES
सगरमाथा क्षेत्रमा बढे पर्यटक, चैतमा पुगे १२ हजार पर्यटक

सोलुखुम्बु- गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो।

‘हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ।’ रेन्जर श्रेष्ठले भने।

पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ। हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन्। अनुकूल मौसम हुँदा काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्।

मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौँबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातयात व्यवसायीहरू बताउँछन्।

पहिले सगरमाथा पुग्ने प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो। तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ।

मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन्।

यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन्। निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन्।

अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् । लुक्ला–मन्थली तथा काठमाडौँ–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको संख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए।

प्रकाशित: ३ वैशाख २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast