
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षक आन्दोलन र विद्यालय शिक्षा विधेयक–२०८१ का विषयमा चासो राखेका छन्। सो विषयमा सभामुख घिमिरेले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति उपसमिति संयोजक छविलाल विश्वकर्मासँग चासो राखेका हुन्।
सभामुख घिमिरेले हिमालप्रेससँग भने, ‘शिक्षामन्त्री र उपसमिति सभापतिसँग शिक्षकहरू सडकमा आउनुको कारण, उहाँहरूका मागबारे छलफल भयो। मैले शिक्षकहरूका समस्या समाधान गर्न पहल गर्न सुझाव दिएको छु। शिक्षकहरू सडकमा आउन बाध्य हुनु उचित होइन।’
सभामुखका सुझाव शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र संयोजक विश्वकर्माले शिक्षा समिति उपसमितिमा राख्ने बताइएको छ। सभामुखसँगको भेटमा शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसद्को आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन्।
सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलसँग छलफल गरेको उनले जानकारी दिइन्। विश्वकर्माले उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्याएको जानकारी दिए। ३५ दिन समय पाएको उपसमितिले तोकिएकै समयावधिभित्र समितिलाई प्रतिवेदन पेस गर्ने बताए।