एमाले बैठक : प्रचण्डको अभिव्यक्ति खारेज, पूर्वराजाको भनाइ आपत्तिजनक

हिमाल प्रेस १ वैशाख २०८२ १६:०५
138
SHARES
एमाले बैठक : प्रचण्डको अभिव्यक्ति खारेज, पूर्वराजाको भनाइ आपत्तिजनक फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रस्ट पारेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले नयाँ वर्षसँगै सरकार फेरिने सक्ने भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति खारेज गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले सरकार परिवर्तनसम्बन्धी प्रचण्डको अभिव्यक्ति सरकारबाहिर हुँदाको कुण्ठा र पीडाबोध मात्रै भएको निष्कर्ष निकालेको ज्ञवालीले बताए। ‘अहिले सरकार परिवर्तनको सम्भावना र सान्दर्भिकता छैन।  सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन।’ माओवादी अध्यक्ष प्रचण्डले अब चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउँदै आएका छन्।

एमाले बैठकले नयाँ वर्षका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता देखिएको भन्दै आपत्ति प्रकट गरेको छ।

आपराधिक घटनालाई जनतामा आएको जागरण भन्दै पूर्वराजा शाहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराइएको ज्ञवालीले बताए।

उनले चैत १५ गते काठमाडौँमा भएको घटनामा पूर्वराजा शाह नै जवाफदेही हुनुपर्ने बताए। ज्ञवालीले उक्त घटनाको अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा दोषी देखिएकालाई काराबाही हुनुपर्ने जिकिर गरे।

त्यस्तै सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट योद्धाहरूलाई सम्मान गर्ने निर्णय गरेको छ।

सम्मान गर्न लागिएकामा लालबहादुर विश्वकर्मा (कञ्चनपुर) रत्न शर्मा न्यौपाने (जाजरकोट) मरणोपरान्त, बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी, (काठमाडौँ), शोभाराम बस्नेत (दाङ) हरिचरण शिवाकोटी (झापा) छन्। उनका अनुसार त्यस दिन कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍् याउने संकल्प गरिनेछ।

यसैगरी पार्टी निर्माणका क्रममा भूमिगत जीवन र सम्मेलनहरूमा समेत संलग्न ३४ नेताहरूका अनुभव समेटेर तयार पारिएको पुस्तक पनि सार्वजनिक गरिनेछ। वैशाख ११ गते जनताले जितेको दिन र गणतन्त्र स्थापनाको औपचारिक बीजारोपण गरेको दिनको सम्झनामा काठमाडौँमा भव्य उत्सव मनाइने निर्णय भएको ज्ञवालीले बताए।

प्रकाशित: १ वैशाख २०८२ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast