
काठमाडौँ- आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार मुलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।
जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुवै खेलमा पराजित ओमान अंकविहीन छ।
ओमनाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि निरजकुमार यादवले ४६ र साहिल पटेलले ४३ रनको योगदान दिए। त्यस्तै कप्तान नरेन भट्ट १२ र सन्तोष यादव १० रन बनाएर नटआउट रहे।
ओमानका लागि दुवै विकेट सौम्यभविन सम्पतले लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।
ओमानका लागि जीत ब्रजेशले ५२ रनको योगदान दिए। त्यस्तै सिद्धार्थ सौम्य शंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाए।
नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए। सात ओभर फ्यालेका उनले दुई मेडन दिएर १५ रन खर्चिएका थिए। त्यस्तै सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले १–१ विकेट लिए।
पहिलो खेलमा नेपालले यूएईलाई डकवर्थ लुइस पद्धति (डीएलएस) का आधारमा पाँच रनले परजित गरेको थियो। ओमानले अफगानिस्तानसँग पनि आठ विकेटको हार बेहोरेको थियो।
अब नेपालले बुधबार हङकङसँग सामना गर्नेछ।