
काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको जनाएको छ। भारत र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव आइतबारसम्म सक्रिय रहे पनि सोमबारदेखि हटेको महाशाखाले जनाएको छ।
पछिल्ला ६ घण्टायता देशका एक–दुई स्थानबाहेक अन्यत्र छिटपुट वर्षा पनि नभएको र सोमबार बिहान काठमाडौँको आकाश साफ देखिएको छ। महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
ती क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ। त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
सोमबार राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित मौसमको अवस्थालाई ध्यानमा राखी विशेष गरी उच्च पहाडी र हिमाली भेगमा यात्रा गर्ने यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ।