पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न केन्द्रले देशव्यापी अनुगमन गर्ने

हिमाल प्रेस १ वैशाख २०८२ ५:४२
12
SHARES
पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न केन्द्रले देशव्यापी अनुगमन गर्ने

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रमा देशभरका विद्यालयमा पाठ्यपुस्तक उपलब्धताको स्थिति मूल्यांकन गरी यसलाई थप प्रभावकारी बनाउन आगामी वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गर्ने भएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले हाल देशभरका एक हजार दुई सय ६७ सूचीकृत बिक्रेताहरूको संगठनात्मक सञ्जालमार्फत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको र त्यसको थप प्रभावकारिताका लागि देशव्यापी अनुगमन गरिने जानकारी दिए।

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, पुस्तक व्यवसायी संघ र अभिभावक संघलगायतका प्रतिनिधि रहनेगरी केन्द्रीय अनुगमन संयन्त्र तयार गरिएको उनले बताए।

‘हाल देशभरका विद्यालय, स्थानीय तह, जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ, पुस्तक व्यवसायी संघ, अभिभावक संघलगायत सरोकारवालाहरूबीच आपसी समन्वयमा पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता गरिएको छ। यसलाई थप प्रभावकारी बनाउन वैशाख पहिलो सातादेखि देशव्यापी अनुगमन गरिने छ। जसले पाठ्यपुस्तक उपलब्धताको स्थिति र अन्य समस्याको पहिचान गरी आवश्यक सहजीकरण गर्नेछ’, पौडेलले भने।

केन्द्रले यही चैत मसान्तसम्म देशका ७७ वटै जिल्लामा ८० लाख थानभन्दा बढी पाठ्यपुस्तक बिक्रि वितरण भइसकेका, अधिकांश हिमाली तथा पहाडी जिल्लामा पुस्तक पुगिसकेका र सुगम तथा तराईका जिल्लाहरूमा निरन्तर बिक्रि वितरण भइरहेको जानकारी दिएको छ।

नेपाल सरकारले केन्द्रलाई कक्षा एक, दुई र चारबाहेक कक्षा १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा बिक्री विरण गर्ने जिम्मेवारी दिएको छ। ती तीन वटा कक्षाका पाठ्यपुस्तक उत्पादन गर्ने जिम्मा भने निजी क्षेत्रलाई दिइएको छ।

गत शैक्षिक सत्र २०८१ मा एक करोड ३९ लाख थान पाठ्यपुस्तक छपाइ गरी विद्यार्थीको हातहातमा पुर्‍याएको केन्द्रले यस वर्ष विद्यार्थीको संख्याका आधारमा एक करोड ५६ लाख थान पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य लिएको केन्द्रका प्रबन्धक निर्देशक पौडेलले बताए।

विद्यार्थी संख्या र थप आवश्यकतालाई मध्यनजर गरी एक करोड ७० लाख थान पाठ्यपुस्तक उत्पादन गरी केन्द्रीय कार्यालय र मातहतका सात वटा प्रादेशिक कार्यालयमा समयमै पुर्‍याइसकिएको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast