वर्तमान गठबन्धन २०८४ सम्म कायम रहन्छ : मन्त्री गुरुङ

हिमाल प्रेस ३१ चैत २०८१ २०:२८
20
SHARES
वर्तमान गठबन्धन २०८४ सम्म कायम रहन्छ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।

राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए।

विगतमा सरकार अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएका, समयानुकूल ऐननियम नहुँदा प्रक्रियागत एवं संरचनागत सुधार हुन नसकेकाले ती सबै वेथिति बिसाउँदै वर्तमान सरकार जनताका विकासका चाहना पूरा गर्ने प्रयासमा लागेको उनले बताए।

उनले भने, ‘विगतमा भएका त्रुटि सच्च्याएर अघि बढेका छौँ, विकृति र विसंगतिका फोहर फालेर अघि बढ्नुपरेकाले नयाँ काममा केही ढिला भएकोजस्तो देखिएको हो।’

फरक प्रसंगमा उनले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक भएको र ग्रामीण भेगमा विद्यार्थी संख्या पनि न्यून रहेकाले त्यसको सुधार गर्दै व्यावहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताए।

उनले अघिल्लो सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धराशायी भएको, औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्रलाई असफल हुनबाट जोगाउन कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको बताए। वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने उनले उल्लेख गरे।

स्वास्थ्योपचारलाई सर्वसुलभ बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उनको भनाइ थियो। जटिल रोगको उपचार र शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउने दिशामा काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

प्रकाशित: ३१ चैत २०८१ २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast