वीरगन्ज तनाव : सर्वदलीय बैठकमा पाँच बुँदे सहमति, कर्फ्यु यथावत

हिमाल प्रेस ३१ चैत २०८१ २०:०५
30
SHARES
वीरगन्ज तनाव : सर्वदलीय बैठकमा पाँच बुँदे सहमति, कर्फ्यु यथावत

काठमाडौँ – वीरगन्जमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ।

शनिबार हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई फरक धर्म समुदायबीच उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको हो। जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकमा सहमति भएको हो।

छलफलमा शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, धार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्‍याउने, झडपका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, धार्मिक एवं सांस्कृति जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरसा र विद्यालयहरूमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति भएको बताए।

सर्वदलीय सर्वपक्षीय छलफलमा पाँच बुँदे सहमति भए पनि वीरगन्जमा लगाइएको कफ्र्यु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने उनले जानकारी दिए।

शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समूहबीच झडप भएको थियो।

झडप नियन्त्रणमा लिन प्रहरीले १४५ सेल अश्रु ग्यास र दुई राउण्ड हवाई फायर गरेको थियो। झडपमा नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र १५ जना बढी प्रदर्शनकारी घाइते भएका थिए। झडपका क्रममा केही घरमा तोडफोड र आगजानीसमेत भएको थियो।

प्रकाशित: ३१ चैत २०८१ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast