शिक्षक आन्दोलन १२ औँ दिनमा, महासंघ अध्यक्ष सुवेदी भन्छन्- ऐन नलिई फर्कँदैनौँ

हिमाल प्रेस ३१ चैत २०८१ १५:५१
478
SHARES
शिक्षक आन्दोलन १२ औँ दिनमा, महासंघ अध्यक्ष सुवेदी भन्छन्- ऐन नलिई फर्कँदैनौँ

काठमाडौँ– देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजधानी केन्द्रित आन्दोलन थालेको आइतबार १२ दिन भएको छ। शिक्षकहरू विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा उत्रिएका हुन्।

महासंघले सरकारसँग यसअघि पटकपटक भएका सहमति विधेयकमा समेट्नुपर्ने माग पनि राखेको छ। सरकारले वार्तामा बोलाए पनि महासंघले चासो दिएको छैन। शिक्षकहरू ऐन नलिई नजाने अडानमा छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हिमालप्रेससँग भने, ‘शिक्षा ऐन नलिई हामी फर्कँदैनौँ।’ उनले आन्दोलनमा सहभागी सबै प्रकारका शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारीलाई पनि ढुक्क हुन आग्रह गरेका छन्।

महासंघले ऐन नलिई नजाने एउटै मागमा अडान राखिरहे पनि तत्काल ऐन जारी हुने सम्भावना छैन। संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे छलफल भइरहेको छ। संसद्को अधिवेशन नरहेका बेला अध्यादेशबाट ऐन ल्याउने सम्भावना देखिँदैन।

शिक्षकहरूको आन्दोलनमा विभिन्न दल, पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन्। सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताए।

सानेपामा आइतबार आयोजित कार्यक्रममा उनले शिक्षकहरुको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरु पनि तयार हुनुपर्ने बताएका छन्।

यसैगरी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका मागमा वर्तमान सरकार संवेदनशील नेखिएको आरोप लगाएका छन्। उनले आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन्।

शिक्षकहरुको मागलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेपनि कुनै निकास भने निस्कन सकेको छैन। नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि राजधानीमा सडक आन्दोलन थालेको हो।

 

प्रकाशित: ३१ चैत २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast