
काठमाडौँ- चारदेशीय टी–२० शृंखलाको फाइनल खेल नेपाल तीन रनले हारेको छ। आइतबार हङकङमा भएको शृंखलाको फाइनल खेलमा नेपाल कुवेतसँग तीन रनले पराजित भएको हो।
जितका लागि अन्तिम ६ बलमा चार रन चाहिएकोमा ८० रनको निजी स्कोरमा ब्याटिङ गरिरहेका बासिर अहमद १० औँ विकेटका रूपमा आउट भएपछि नेपाल उपाधि हात पार्नबाट चुकेको हो। उनी अन्तिम ओभरको दोस्रो बलमा आउट भएका थिए।
बासिरले नेपाली टोलीको तर्फबाट सर्वाधिक ८० रन बनाए। ४३ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे। कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्रै बनाउनसक्यो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको थियो। कुवेतका लागि रविजा सान्दारुवानले सर्वाधिक ६३ रन बनाए।
त्यस्तै क्लिन्टो एन्टोले २६, मीत भवसारले १६, उस्मान पटेलले २३, मुहम्मद उमरले ७, बिलाल ताहिरले ९, मोहम्मद असलमले १३, यासिन पटेलले २ र नवीनराज राजेन्द्रनले ८ रनको गोगदान गरे।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले १–१ विकेट हात पारे।
रन पछ्याउने क्रममा शीर्ष क्रमका ब्याटरहरू सस्तोमा आउट भएपछि नेपाली टोली दबाबमा परेको थियो। कप्तान रोहित पौडेलसहित ओपनर ब्याटरहरूले खराब प्रदर्शन गर्दा जितको नजिक पुगिसकेको फाइनल खेल नेपालले गुमाउनु परेको हो।
ओपनिङका लागि आएका कुशल भुर्तेलले ३ र आसिफ शेखले २१ रनको योगदान दिए। कप्तान रोहित पौडेलले ७ रन बनाउँदा मध्यक्रममा ब्याटिङका लागि आएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।
बसिरले सर्वाधिक ८० रन बनाए भने सोमपाल कामी ४, गुलशन झा ९, करण केसीले ४, नन्दन यादवले ३७ र ललितराजवंशीले शून्य रन बनाए।
कुवेतका लागि अनुदीप चेन्तामाराले ३, यासिन पटेल र नवीनराज राजेन्द्रनले २–२ तथा मोहम्मद सफिक र मोहम्मद असलमले १–१ विकेट लिए।