
काठमाडौँ- भारत र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देशभर देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी प्रदेशका इलाम र झापाका केही स्थानमा बिहानै हल्का वर्षा भएको छ। दिउँसो कोशीसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुनसक्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि अपराह्नपछिको समयमा हल्का वर्षा हुनसक्नेछ। बिहीबारदेखि सक्रिय रहेको वर्षा प्रणाली अहिले कमजोर बन्दै गएको छ। पछिल्ला तीन दिनको तुलना गर्दा आइतबार वर्षा अपेक्षाकृत कम हुने अनुमान गरिएको छ।
रातिको मौसम पनि अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।