
काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीले वर्तमान शासकीय संरचनामा आमूल सुधार आवश्यक रहेको बताएका छन्। उनले संसदबाट प्रधानमन्त्री चुन्ने अहिलेको व्यवस्थाले देशमा अस्थिरता बढाएको जिकिर गर्दै स्थायित्व र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए।
रासससँग कुरा गर्दै उनले भने, ‘अहिलेको सरकार स्थिर छैन। एउटै पार्टीले बहुमत ल्याउन नसक्ने यो प्रणालीले सरकार अस्थिर बनाउँछ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा सरकारलाई पाँच वर्ष काम गर्न ढुक्क हुन्छ।’
उनले सांसद मन्त्री बन्ने प्रवृत्तिमा पनि आपत्ति जनाउँदै विषय विज्ञलाई मन्त्री बनाउने व्यवस्थाको खाँचो औंल्याए। ‘सांसदले कानून बनाउने काम हो, विकास त प्रदेश र स्थानीय तहको हो,’ उनले भने, ‘तर अहिले सांसदहरू मन्त्री बन्न तछाडमछाड गरिरहेका छन्।’
सुवेदीले पूर्ण समानुपातिक प्रणालीबाट सांसद छान्नुपर्ने र पार्टीको लोकप्रियताको आधारमा मत दिन सकिने व्यवस्था हुनुपर्ने पनि बताए। ‘अहिले पैसा भएकाले चुनाव जित्ने अवस्था छ यसले लोकतन्त्रलाई विकृत बनाउँछ,’ उनको भनाइ थियो।
सुवेदीले संविधान कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै सरकारको आलोचना गरे। संघीयता कार्यान्वयनमा सबै तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय र जनताबीच स्पष्ट बुझाइ आवश्यक रहेको उनको भनाइ थियो।
‘संघीयता भनेको अधिकारको बाँडफाँड हो तर अहिले संघले अधिकार थोपरेको छ,’ उनले भने, ‘शिक्षा, प्रहरी र निजामती सेवा सम्बन्धी कानुन आउन अझै ढिला भएको छ। यसमा सरकारको कमजोरी स्पष्ट देखिन्छ।’
सुवेदीले गणतन्त्रको अनुभूति जनतासम्म पुर्याउन नसकेकोमा चिन्ता व्यक्त गरे। ‘जनताले राजा चाहिएको भनेका छैनन् तर राजनीतिक दलप्रति असन्तुष्टि बढ्दो छ,’ उनले भने।