
काठमाडौँ- नेपाल यू-१९ क्रिकेट टोलीले आज आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत यूएई यू-१९ विरुद्ध पहिलो खेल खेल्दैछ। खेल राजधानीको मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिता अप्रिल १९ सम्म चल्नेछ र राउन्ड रोबिन लिग स्वरूपमा खेलाइनेछ। नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछ।
नेपालले यस प्रतियोगिताको तयारीस्वरूप हालै अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय खेल खेलेको थियो जसमा नेपाल २–१ ले पराजित भएको थियो। अर्कातर्फ, यूएई यू–१९ टोली पाँच दिनअघि नै नेपाल आइसकेको छ र अभ्यास खेलमा नेपाल यू–१९ को वैकल्पिक टोलीलाई पराजित गरिसकेको छ।
नेपालले यूएईपछि सोमबार ओमान, बुधबार हङकङ र शनिबार अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ। लिगको अन्त्यमा सर्वाधिक अंक प्राप्त गर्ने एक मात्र टोलीले विश्वकपमा स्थान पाउनेछ।
नेपालले अघिल्लो वर्ष दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स चरणमा प्रवेश गरेको थियो। टेस्ट मान्यताप्राप्त अफगानिस्तान यसपटक समूह चरणबाट बाहिरिएपछि एसिया छनोट खेल्न बाध्य भएको हो।
नेपालले यू–१९ विश्वकप छनोट प्रतियोगिता यसअघि सन् २००१ र २००५ मा आयोजना गरेको थियो। दुवैपटक एसीसी यू–१९ कप जित्दै विश्वकपमा स्थान बनाएको नेपालले जम्मा ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ।