
काठमाडौँ- हनुमान जयन्तीका दिन शनिबार विश्व हिन्दू परिषद् नेपाल वीरगन्ज महानगर समितिले शोभायात्रा निकालेको थियो। अपराह्न ३ बजे वीरगन्ज महानगरापालिका-८ घण्टाघरबाट शोभायात्रा निकालिएको थियो।
विश्व हिन्दु परिषद् नेपाल पर्साको अध्यक्ष धनडित गिरीको नेतृत्वमा निकालिएको शोभायात्रामा आठ सय जनाजति सहभागी थिए।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा मस्जिदबाट एक्कासि ढुंगा प्रहार गरेकाले दुवै पक्षबीच झडप भएको जानकारी दिए।
उनका अनुसार झडप भएपछि स्थिति नियन्त्रणमा लिन साँझ ५:४० बजे नेपाल प्रहरीबाट केही ५ सेल अश्रुग्यास प्रहार गरेको थियो।
यसैगरी सशस्त्र प्रहरी बलका तर्फबाट ६ सेल अश्रुग्यास फायर गरेको थियो। साँझ ६ बजे ८ जना सशस्त्र प्रहरीहरू घाइते भएको थिए। तीनजनालाई उपचारका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रदर्शनकारीले ६ बजे स्थानीय पसलबाट एउटा मोटरसाइकल र एउटा फ्रिज बाहिर निकाली आगजनी गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले बजे पानीको फोहरा हानी भीड तितरबितर पारेका थिए।
जिल्ला प्रशासन कार्यालय पर्साले १८:३० बजेदेखि ३१ गते १२ बजेसम्म महानगरका भेडियाहीचोक, सिर्सिया पुल, गण्डक चौक र शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु अवधिभर ती क्षेत्रमा कसैले आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाउने छैनन्। अहिले स्थिति सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएपछि शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यु आदेश जारी गरिएको बताएका छन्। ‘तनावका विषयमा आधिकारिक विवरण आइसकेको छैन। केही संख्यमा प्रहरी र अन्य व्यक्ति घाइते भएको विवरण छ।’