
काठमाडौँ- चैत २२ मा उच्च अदालत तुलसीपुरले सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश नदिएको भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक गति अर्कैै मोडमा पुगेको हुन्थ्यो।
पार्टीले जनतासँग जोडिन ‘जनयात्रा’ अभियान थालिसकेको थियो। जनयात्राका संयोजक एवम् रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कार्यविधि तयार पारेर सचिवालयमा पेस गरिसकेका थिए।
सभापति लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा २३ गते दलका नेताहरूले घण्टी बजाएर अभियान थालनी गरेका थिए। सोही अभियानअन्तर्गत जिल्लाजिल्लामा जनसभामा चल्थ्यो। पुराना दललाई खबरदारी गर्ने र जनताको ‘निराशा’ मा मलम लगाउन पार्टी सक्रिय भएको हुन्थ्यो। महाधिवेशनको गृहकार्य निकै पर पुगेको हुन्थ्यो।
उच्च अदालतले जुन फैसला दियो त्यो रास्वपाका लागि अनपेक्षित छ। रविका लागि त अपेक्षित हुने कुरै भएन। जनयात्राको कार्यविधि तयार भइसकेकाले अब चाँडै पार्टीले निर्णय गरेर जनतामाझ जाने नेताहरू बताउँछन्। यद्यपि उनीहरूले भनेजस्तो सजिलोचाहिँ छैन।
अन्योलमा महाधिवेशन
गत असोजमा सम्पन्न रास्वपाको भेलाले महाधिवेशन मिति आगामी वैशाखका लागि तोकेको थियो। सभापति लामिछानेले प्रतिवेदनमार्फत पार्टीको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ मा गर्ने प्रस्ताव राखेका थिए।
प्रस्ताव भेलाले अनुमोदन गर्यो भने पार्टी तयारीमा जुट्यो। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा कात्तिक २ मा सभापति रवि पक्राउ परेपछि भने रास्वपा रविकै रिहाइका लागि आन्दोलित बन्यो। पार्टी संगठनका कार्यक्रम प्रभावित बनेका छन्।
रास्वपाका एक नेताका अनुुसार रवि रिहाइकै मागमा रास्वपाले उपनिर्वाचनमा समेत चासो राख्न सकेन। रविलाई जहाँजहाँ हिरासतमा प्रहरीले पुर्याउँथ्यो, त्यही स्थानमा रास्वपा नेता-कार्यकर्ता प्रदर्शन गर्थे। रास्वपाको प्रदर्शन फलदायी भएन भने उल्टै नेतृत्वमै प्रदर्शनबारे कुरा बाझिएका थिए।
रास्वपाका ती नेताका अनुुसार अदालतविरुद्ध आन्दोलित हुने कुरा शोभनीय नभएको कुरा पार्टीभित्र उठेको थियो। यतिसम्म कि कार्यवाहक सभापति डीपी अर्याल पटकपटक पार्टी निर्णयका विषयमा छलफल गर्न सभापति लामिछानेलाई भेट्न कास्की प्रहरी हिरासत पुगेका थिए।
‘सभापतिज्यू(रवि)लाई पनि यस बीचमा पार्टीको गतिविधि मन परेको थिएन। पार्टीले अडान कायम गर्न नसकेको गुनासोे थियो’, ती नेता भन्छन्। यही कारण पनि रवि तत्काल महाधिवेशन चाहन्थे। महाधिवेशनले नयाँ नीति बनाउने र कार्यवाहकको चाङ घटाउने रविको योजना थियो।
विभिन्न प्रकरणका कारण रास्वपामा सभापति र महामन्त्री कार्यवाहकको जिम्मामा थियो। रविको अनुपस्थितिमा पार्टी कार्यवाहक सभापतिका रुपमा डीपीले चलाएका थिए भने महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा रहेका मुकुल ढकालले राजीनामा दिएका थिए।
कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झा छन्। रास्वपा नेताहरूका अनुसार रवि महाधिवेशनका लागि हतारिएका थिए भने कार्यकर्तासमेत उनकै उपस्थितिमा महाधिवेशन चाहन्थे। ‘हाम्रो अभियन्ता रवि नै हो। उहाँकै उपस्थितिमा महाधिवेशन होस् भन्ने त सबैलाई थियो नै,’ प्रवक्ता मनिष झा भन्छन्, ‘तर यसपटक सफलता मिलेन।’
रवि पक्राउ नपरेको भए वैशाखमै महाधिवेशन गर्न असम्भव थिएन। किनभने ६६ जिल्लाको अधिवेशन सकिएको थियो भने प्रादेशिक अधिवेशन पनि चल्दै थियो। अब कसरी महाधिवेशन गर्ने भन्ने अन्योल एकातिर छ भने अर्कातिर कसलाई अघि सार्नेमा द्विविधा छ। रास्वपा नेताहरूका अनुसार रास्वपामा रविको विकल्प देखिएको छैन।
पार्टीभित्र आकांक्षी वा प्रत्यासी देखिए पनि रविको विकल्प दिने नेतृत्व तयार भएकै छैन। यसैले पनि पार्टीको महाधिवेशन अन्योलमा परेको छ। प्रवक्ता झा आगामी दुई महिनाभित्रमा महाधिवेशन गर्ने दाबी गर्छन्।
‘भेलाले महाधिवेशन तोकेको हो। अबको केन्द्रीय समितिले अर्को मिति तोक्छ,’ उनी भन्छन्, ‘वैशाख पहिलो साताको केन्द्रीय समिति बैठकबाट नयाँ मिति निर्धारण हुन्छ।’ रास्वपा नेताहरूका अनुसार दुई महिनाभित्रमा महाधिवेशन सम्भव छैन।
गत चैत २२ (रवि पक्राउपछि) मा बसेको पदाधिकारी बैठकले राज्यले सभापति लामिछानेमाथि प्रतिशोध साधेको निष्कर्ष निकालेको थियो।
रास्वपा अब रवि छुटाउने प्रयत्नमा लाग्ने भएको छ। रास्वपा स्रोतका अनुुसार एकातिर राज्यमाथि प्रश्न उठाउने अभियान चलाइनेछ भने अर्कातिर अदालती प्रक्रिया अघि बढाइनेछ।
यही योजनाअनुुसार रास्वपाले उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ। सभापति लामिछानेलाई नियमित कानुनी प्रक्रियासमेत पूरा नगरी पक्राउ गरिएको आरोपमा पुनरावेदन दिइएको हो।
‘हाम्रो अपेक्षा छ। सर्वोच्चले न्याय दिन्छ। अनि सभापति रिहा हुनुहुनेछ’, रास्वपाका एक नेता भन्छन्। पहिलो चरणमा रवि छुटाउन जोड गर्ने रास्वपाको तयारी छ। मानवअधिकारवादी संस्था र अन्यतिरबाट पनि रविको अनुकूल वातावरण बनाउने योजनामा रास्वपा छ।
रवि छुटाएपछि महाधिवेशनको तयारीमा जुट्ने स्रोतको दाबी छ। ‘हाम्रो पार्टीमा रवि बिना चल्दैचल्दैन। छुटेपछि मात्र महाधिवेशनको प्रबन्ध मिलाउनुपर्छ’, तीन नेता भन्छन्।