
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुंगा हानेका भरमा राजनीति चलाउने खोज्नेहरूलाई जनताले नपत्याउने बताएका छन्।
एमाले झापा कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले ढुंगा हानेको भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाउनेलाई जनताले नपत्याएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्नेको कुरा सुनेर कोही उल्किनु वा भ्रममा पर्न नहुने जिकिर गरे।
‘रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन। हल्ला गर्नेहरूले देश बनाउछु भनेर धाक लगाएर केही हुँदैन,’ उनले भने,‘त्यस्ताहरूको असली अनुहार चैत १५ को तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ।’
प्रधानमन्त्री ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउन असफल प्रयास गरेको जिकिर गरे। अदालतको समेत प्रयोग गरेर आफूहरूलाई सरकारबाट बाहिर पठाए पनि जनताको अभिमतबाट पुनः सरकारको नेतृत्वमा आएको उनले बताए।
प्रधानमन्त्री ओलीले देश अब कानुन र विधिअनुसार अगाडि बढ्ने बताए। ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको उनको दाबी छ।