
ललितपुरको दक्षिण भेगस्थित छम्पी, टीकाभैरव मनोरम, पवित्र एवम् चित्ताकर्षक भ्रमण केन्द्रका रुपमा विकसित हुँदै गएको छ। सहरको भीडभाड र प्रदूषणबाट वाक्कदिक्क भएका उपत्यकावासीका निमित्त ललितपुरको यो दक्षिण भेगमा प्रसिद्ध लेले सरस्वती मन्दिर, पाथीभरा माता मन्दिर, महाकालेश्वर अनि कोन्ज्स्योमजस्ता धार्मिक तथा दर्शनीय स्थलहरू छन्।
यिनै प्रख्यात धार्मिक, पर्यटकीय एवम् प्राकृतिक स्थल छम्पी स्थायी बसोबास भएका पूर्वप्रशासक/लेखक/कवि मनहरि खड्का ‘मनोहर’ नेपाली साहित्य लेखनमा सानो उमेरदेखि सक्रिय भए तापनि यसपूर्व कुनै साहित्यिक रचना भने प्रकाशित गरेका थिएनन्।
२०१४ साल पुसमा जन्मिएका सर्जक खड्काका पिता डम्बरबहादुर खड्का नेपाली सेनामा उपसेनानीसम्म भई अवकाश प्राप्त थिए भने माता चिनीमैयाँ खड्काको लेखक ५ वर्षको उमेर पुग्दा नै स्वर्गवास भएको थियो।
अध्ययनसँगसँगै सरकारी जागिरमा लागेपछि उनको लेखन यात्रा रोकिन पुग्यो। ३२ वर्षको सार्वजनिक सेवाबाट निवृत्त खड्काले जानेका, बुझेका, अनुभव र अनुभूति गरेका विषय र सन्दर्भलाई साहित्यका माध्यमबाट प्रस्फुटन गर्दै विगतको यथार्थलाई अभिलेखीकरण गर्न थाले।
लेखक २०८१ सालको वैशाखमा ‘हिँड्ने रूख’, ‘दिल्लीको सेरोफेरो’, ‘भियतनामी साथी’ र ‘आमा’ नामक चार साहित्यिक कृति एकैसाथ प्रकाशन गर्न सफल भए। यसरी उनले नेपाली साहित्यमा औपचारिक रूपमा आफ्नो सशक्त उपस्थिति मात्र जनाएका छैनन्, आफ्नो सिर्जनात्मक प्रतिभाको परिचय दिन पनि सफल भएका छन्।
कलेज पढ्दै गर्दा थालनी भएको रेडियो नेपालसँगको संगत, त्यहाँका कवि, गीतकार, संगीतकारसँगको उठबस र कलेजमा अर्थशास्त्र मूल विषय भए पनि नेपाली भाषा र साहित्य सहायक विषय भएकोले उनलाई नेपाली साहित्य पठन र लेखनतर्फ उत्प्रेरित गर्दै लग्यो। सानैदेखि कविता, कथा, गीतजस्ता साहित्यका विधामा रुचि भएर पनि सरकारी जागिरमा उनी यो क्षेत्रबाट विमुख हुन पुगेका थिए।
युवा जोसजाँगरको समय सरकारी जागिरे भएर अनेक ठाउँमा सरुवा हुँदै र बिहानबेलुका त्यसकै धुनमा दौडदै व्यस्त भए। सेवानिवृत्त जीवनलाई अर्थपूर्ण र सार्थक बनाउने उद्देश्यले यी कृतिहरू प्रकाशन भएको सहजै अनुमान गर्न सकिन्छ।
नि:सन्देह यी कृतिहरूले साहित्यकार लक्ष्मण गाम्नागेले भूमिकामा भने झैँ ‘काठमाडौँसँगै टाँसिएर पनि दु:खका गहिरा पोखरीमा डुबिरहेका काँठका गाउँहरूको एक कालखण्डको कथा’ बोलेका छन्। अत: यी चारै कृति एकै पटक प्रकाशित भएकोले पुस्तकमा समाविष्ट विषय, प्रस्तुति, शैलीको मोटामोटी अध्ययन र विश्लेषण गर्नु यो लेखको आसय हो।
१.आमा
‘आमा’ शीर्षकको कविताबाट थालनी भएको २१ सरस, सहज र मन छुने कविताहरू संग्रहित यस कविता संग्रहको नामकरण पनि ‘आमा’ शीर्षकको कविताबाट गरिएको छ। जीवनको यथार्थलाई कविताका माध्यमबाट मार्मिक ढंगमा लेखकले प्रस्तुत गरेका छन्।
हरेक हरफहरूले सानैमा आमाको निधनले आमाको माया र सानिध्यबाट वञ्चित हुन बाध्य एक बालकको रोदन र चीत्कार बोकेको छ। ‘आमा थिइन् र पो घर रमाइलो थियो’ भन्दै कवि आफ्नी आमाको स्मृतिलाई कवितामार्फत जीवन्त पार्दछन्।
यस संग्रहमा रहेका २१ कवितामध्ये ‘काठमाडौँ विमानस्थल’ कविताले बिदेसिन बाध्य नेपालीको चित्र कोर्दै वर्तमान नेपालको यथार्थलाई देखाउँछ। ‘गाउँमा सिंहदरबार’ कविताले नेपालको राजनीतिक अस्थिरता र नेतृत्वको असक्षमताप्रति कठोर प्रहार गरेको छ भने व्यंग्यात्मक रूपमा ‘चिया पसल’ कविताले नेपाली गाउँघरमा राजनीति र दलीयतन्त्रको विष घोलन भएर युगौँदेखि मर्दापर्दा एक भएर मिलेर बसेकोमा आज ‘मान्छे कुकुर बिरालो बनेको’ भन्दै आक्रोश व्यक्त गरिएको छ।
‘नक्खु खोला’ शीर्षकको कवितामा उपत्यकाको दक्षिण भेगबाट उत्तर फर्केर बग्दै चोभारको गल्छी हुँदै प्रवाहित हुने खोलामा कुनै बेला ‘मुखै डुबाएर’ पानी खाएको क्षणलाई संस्मरण गर्दै आज कसरी दूषित राजनीति र बिचौलियातन्त्रले दयनीय अवस्थामा पुर्याएको छ सो को वास्तविक चित्र उतारेका छन्।
‘स्वाभिमान’ शीर्षक कविताले काँठ भनिने उपत्यकाका वरिपरि रहेर आफ्नै जमिन, त्यहाँको उब्जनी, प्रकृति, वातावरण र जैविक विविधतामा रमाएर आफ्नो पौरखले बाँच्ने मानिसहरू स्वाभिमानी हुन्थे र कतिपय अवस्थामा आज पनि त्यस्तै छन् भन्ने झल्काएको छ।
२. हिँड्ने रूख
‘हिँड्ने रूख’ शीर्षकको कथाबाट नामकरण भएको १० आत्मकथा र १ कथा गरी ११ आख्यान समावेश गरिएको ८५ पृष्ठको यो कृति‘आत्मकथा’ भए पनि एक प्रकारले अहिले फर्केर हेर्दा ‘कथा’ तर यथार्थ कथा लाग्दछन्। यसर्थ लेखकले ‘व्यभिचारी’ शीर्षकमा रचिएको कथालाई काल्पनिक र अरू आफ्नै कथा रहेको उल्लेख गरेका छन्।
यो संग्रहले मनहरिको जीवनको ५ दशकअघिको बाल्य-किशोर कालको यथार्थलाई मात्र परिचित गराउँदैन यसले त्यतिबेलाको उपत्यकाको काँठ भनेर चिनिने (कतिपय अवस्थामा काँठ र काँठे भनेर हेपिने) भूभागको जनजीवन, प्रकृति, पर्यावरण र वस्तुस्थितिको चित्रण गर्दछ।
पाँच वर्ष पनि नपुगेको बालकले आमाको सामीप्य जति पाउनुपर्थ्यो त्यति पाउन नपाएको पीडासहित संगालेको आमाको छविलाई ‘आमा’ शीर्षकको आत्मकथामा अभिव्यक्त गरेका छन्। त्यतिबेलाको छम्पी, टीकाभैरव भनेको राजधानी काठमाडौँ नजिक भएर पनि सडक र सवारीसाधनको अभावले कुनै सुदूरको गाउँभन्दा केही फरक थिएन।
सामान्यतया उपत्यकाका डाँडाकाँडा हुँदै मैदान छुने भूभागलाई ‘काँठ’ भनिन्छ र त्यहाँ बसोबास गर्नेलाई होच्च्याएर आज पनि ‘काँठे’ भन्ने चलन छ। प्रकृतिको निकट जीवन जिउने र प्रकृति संरक्षण गर्दै आफ्नो खुट्टामा आफैँ उभिएका यी भेगका बासिन्दालाई जे भनेर हेपे पनि आज तिनै ‘सदरिया’(सहरिया) भनिनेहरू यी भेगको भ्रमण गर्न मरिहत्ते गरेको देख्दा नेपाली द्वैध चरित्र उदांग हुन्छ।
आज यही काँठ काठमाडौँ र त्यहाँका ‘सदरिया’ लाई स्वछ हावा र पानि दिने एक प्रमुख स्रोत भएर रहेको छ भलै आज बिस्तारै ‘सदरिया’ हरूको अतिक्रमणले यो भेगको वातावरण, संस्कार र संस्कृति क्रमिक रुपमा ध्वस्त हुँदै देखिनु दु:खदायी छ। यसमा लेखकले त्यतिबेलाको आफ्नो जन्मभूमिको चित्र सजीव रूपमा कोरेका छन्। त्यतिबेलाको प्रकृति, संस्कृति, संस्कार, मानिसबीचको सम्बन्ध, चिया (न) खाने चलनदेखि त्यतिबेला हुने बिहेवारीको वातावरण होस् वा गाईगोठ बस्तुभाउ, खेतीपातीदेखि समयमा उपचार नपाउँदा हुने असामयिक मृत्यु आदि पक्षहरू उल्लेख भएका छन्।
आमाको मृत्यु हुँदाको क्षणमा पनि अञ्जान बनेर आमाको शव उठाएको हेरेर बसेको पाँच वर्षीय बालकको मनस्थिति अनुभूत गर्दा जोसुकैको पनि आँखा रसाउँछ।
आमाको एउटा तस्बिरसमेत खिचेर राख्न नपाउने स्थिति आजको पुस्ताको निमित्त विस्मयकारी लाग्न सक्दछ।
‘डर’ शीर्षकमा लेखक बाल्यकालदेखि युवावस्थासम्मका झन्डैझन्डै ज्यान गुमाउन पुगेको ६ वटा डरका घटना वर्णन गर्दछन्। यो खण्डले उपत्यका निकट ग्रामीण परिवेशको सही रूपमा चित्र उतारेको छ। ‘नक्खु खोलामा बाह्रै काल कलकल सङ्लो पानी बग्थ्यो…. र यो …. असला माछाको एक मात्र बासस्थान थियो…’ र त्यहाँ ‘बुदुना, कत्ले, तेल्चाप्रे, काप्रे, हिले, गँड्यौला आदि हुन्थे… जति मारे पनि खोलामा माछा कहिले सकियो भन्ने हुने थिएन…’ भन्ने पढ्दा आजको नक्खु खोलाको दुर्दशा हेर्दा त्यस्तो पनि थियो होला र भन्ने लाग्दछ।
‘बाघ’ शीर्षकमा चितुवा(बाघ भनिने) को आक्रमणमा बाख्रा घाइते भएको प्रसंगले एक किशोर वयमा टेक्दै गरेको व्यक्तिमा उत्पन्न मनोवैज्ञानिक त्रासदी देखाइएको छ। काठमाडौँ उपत्यकाका काँठ क्षेत्रमा आज पनि बाघ यदाकदा पस्छन् भने जनसंख्या कम रहेको घना वनजंगल रहेको तत्कालीन समयमा यस्ता जनावरको बिगबिगी हुनु अस्वाभाविक थिएन।
आजको पुस्ताले देख्न भोग्न नपरेका करिब ४०/५० वर्षको काठमाडौँ उपत्यकाको वास्तविकतामा ‘बाघ कराउनु, कहिलेकाँही बाघले बाख्रा मार्नु सामान्य जस्तै थियो’ भने ‘बेलुका खाना खाएपछि ढोका खोलेर बाहिर निस्कने चलन थिएन…बाहिर खुलै दिसापिसाप गर्ने आमचलन भएकाले कसैको घरमा भित्रबाहिर कतै पनि शौचालय हुने कुरै थिएन। साँझ परेपछि अप्ठेरोको लागो घरभित्र कोपरा राख्ने चलन हुन्थ्यो….सबै कोपरामा शौच गर्थे।’ त्यस्तै, ‘…एकाध मान्छेबाहेक कसैसित घडी हुने थिएन…डाँडामा परेको घामको आधारमा समय अडकल्थे…’ जस्ता विषय आजको पुस्ताका निमित्त उदेकलाग्दो तथ्य हुन सक्छ।
पुस्तकको नामकरण गरिएको आत्मकथा ‘हिँड्ने रूख’ शीर्षकमा उनले ललितपुरको पनि सुदूरदक्षिण भेगका जनताका लागि बागमतीपारि मात्र सहर थियो। मोटर नै नदेखेका मान्छे थिए। त्यस्ता मान्छेले कुनै मौकामा मोटर चढ्दा मोटर अगाडि बढेको र रूख, घरहरू पछिपछि दौडदै गरेको जस्तो आभास हुने भएकोले त्यसैलाई ‘ रूख हिँडेको’ भन्ने गर्दथे।
किशोर वयमा परेको प्रभाव वा छाप कस्तो हुन्छ भन्ने अनुभवजन्य रोचक संस्मरणले त्यतिबेलाको सामाजिक परिवेश, शिक्षा प्राप्तिका प्रयासको वास्तविक तस्बिर खिचेको छ। सवारीसाधन देख्ने वा चढ्ने कुरा नै ठूलो रहेको त्यो समय र आजको समयको तुलना हुन सक्दैन।
‘रेडियो’ शीर्षक पाण्डव सुनुवारलगायतका कलाकारहरूसँगको संगतले गीत गाउनका लागि स्वर परीक्षासमेत दिएको प्रसंग पनि रमाइलो लाग्दछ। नेपालका चर्चित लोकगायक पाण्डव सुनुवारसँगको संगत, सदासयता र हार्दिकताको वर्णनले मन मात्र छुँदैन, रेडियो नेपालमा बहिदार पदमा जागिरे रहेका गायक उदितनारायण झा नेपाल मात्र होइन भारतको एक सर्वोत्कृष्ट गायक बनेको तथ्य पनि उजागर गर्छन्।
‘कटुसको काँढा’ शीर्षकमा लेखक आफूले कटुसको काँढा आँखामा पर्दा पाएको सास्ती, त्यतिबेलाको स्वास्थ्य सुविधाको अवस्था र उपचार गर्ने क्रममा आफ्नो दाजुबाट प्राप्त स्नेहसिक्त आत्मीयताको क्षण भुल्न सक्दैनन्।
गाउँघर परिवारलाई पत्तै नदिईकन नयाँ ठाउँमा के कसो छ बुझ्ने र भोग्ने चाहनामा युवाहरू आफ्नो ठाउँ छोडेर सीमापारि जाने प्रवृत्ति त्यतिबेलैदेखि थियो। यसै चाहनाले मानिसलाई ‘लाहुरे’ बनाएको प्रसंगसँगै आएको ‘जुत्ता’ शीर्षकको आत्मकथा यस संग्रहको अर्को एक उत्कृष्ट आत्मपरक निबन्ध हो।
तीन-तीन पटक जुत्ता हराउनुपर्ने नियति भोगेका लेखकको प्रसंग अहिले आएर रमाइलो लागे पनि त्यतिबेला भोग्नुपरेको पीडा त्रासदीमय थियो। यो खुट्टामा जुत्तासमेत नहुने नियति भोगेका नेपालीको कथा-व्यथा बोकेको मार्मिक प्रसंग हो।
‘व्यभिचारी’ शीर्षकको कथालाई काल्पनिक भनिएको छ तर हाम्रो गाउँगजर समाजमा यस्ता घटना नभएका होइनन्। उपत्यकाको त्यतिबेलाको जनजीवनको सटीक चित्रणका साथै सुकिलो भएर हिँड्ने मान्छेको कालो कर्तुत झल्काउने यथार्थवादी कथा हो यो। समष्टिमा भन्नुपर्दा आख्यान लेखनमा मनहरिको बलियो पकड देखिन्छ। सो तथ्य यसै कथाबाट पनि प्रस्ट हुन्छ।
२. दिल्लीको सेरोफेरो
तेस्रो कृति ‘दिल्लीको सेरोफेरो’ बाट मनहरिले आफूमा अन्तरनिहित नियात्रा लेखन क्षमताको सबल परिचय दिएका छन्। १०३ पृष्ठको भ्रमण संस्मरण विधा उल्लेख भएको ‘दिल्लीको सेरोफेरो’ जागिरका क्रममा भारतको नयाँदिल्लीमा १९९० मा तालिमका क्रममा करिब ४ महिना आधा बिताउँदा ‘संगालेका याद र अनुभूतिहरू’ लाई क्रमबद्ध रूपमा प्रस्तुत गरेका छन्।
पुस्तकमा सबै पात्र(मित्र)हरूको सजीव चित्र कोर्ने मात्र होइन उनीहरूका रुपरंग, बानीव्यहोराको वर्णनले पनि थप रोचकता थपेको छ। पुस्तकमा बोस दा, नाजरिन, बरेनिया दास, मिसेस नागमणि, मिस्टर मिश्रा, नागा साथीहरू मिस्टर अनुंगवा, लिमाटेट, मिसेस आपानगतुला संगताम र नेइपुजो हेस, हरियाणाका ओमप्रकाश शर्मा, मिसेस निलाक्षी महन्तसहितका शिक्षक, प्रशिक्षक, कर्मचारीबारे पनि राम्रैसँग वर्णन गरिएको छ।
समग्रमा यो कृति भारतको तत्कालीन समयको चित्रण मात्र गर्दै विदेशी भूमिबाट नेपालको विविध पक्षहरूलाई पनि तुलनात्मक रुपमा विवेचना गरिएको छ। मानिसमा अन्तर्निहित आफ्नोपन,द्वेष, घृणा, अहंकार, माया प्रेम, आसक्ति, क्रोध, करुणालाई पनि विभिन्न घटनाक्रमले देखाएको छ।
पुस्तक पढ्न सुरु गरेपछि अन्त्यसम्म नपढी रहन सकिन्न। अन्त्य नहोस भन्दाभन्दै पुस्तक पाना सकिन्छन्।
३५ वर्षअघि जीवनमा पहिलो पटक अन्तरार्ष्ट्रिय उडान चढेर त्रिभुवन विमानस्थलबाट दिल्ली विमानस्थलमा अवतरण हुँदा कहाँ जाने कसरी जाने भन्ने अन्योलमा रहेका लेखकसँगै यात्रारत शौभाग्यरत्न तुलाधर नामका एक सज्जन नेपालीको सहयोगमा तालिम संस्था दिल्लीस्थित इन्स्टिच्युट अफ इकोनोमिक ग्रोथसम्म पुग्न सफल हुन्छन्। जिन्दगीमा उनको निमित्त पहिलो पल्ट धेरै कुरा भइरहेका थिए जस्तो ट्वाइलेटको फ्लसको प्रसंग होस् वा अंग्रेजी भाषा कामचलाउ मात्र र हिन्दी पनि राम्रोसँग नआउने विषय होस्।
तालिमका २१ जना सहभागीमध्ये नेपाल र अफगानिस्तानका सहभागी विदेशी थिए भने अरू सबै भारतका विभिन्न प्रान्तका सहभागी थिए। तालिम अवधिमा क्रमिक रूपमा उनको सबैसँग मित्रता हुँदै जान्छ तर पहिलो मित्रता भने सञ्जय बोस अर्थात् बोसदासँग हुन्छ। आसामकी सहभागी नाजरिन अहमद भने यो यात्रा संस्मरणको एक प्रमुख पात्र बनेको प्रतीत हुन्छ।
तालिममा आएकामध्ये नाजरिनसँगको ठट्टा र मजाकमा लेखकको वैवाहिक स्थितिबारे ज्ञात भएपछि उनमा आएको मनोवैज्ञानिक परिवर्तन हुन जान्छ तर चञ्चल, फरासिली, मित्रता गाँस्ने सुन्दर नाजरिन पुन: आफ्नो पहिल्यैको अवतारमा आएको देख्दा यो संस्मरणको नायिका बन्न पुगेको जस्तो लाग्छ।
तालिमका क्रममा बिदाको समयमा ‘गुलाबी सहर’को नामले परिचित जयपुरको तीन दिनको यात्रा वर्णनले जयपुरस्थित अम्बेर किल्लासहितका स्थानको परिचय मात्र दिँदैन फर्किदा आगराको फतेह सिकरी, ताजमहल तथा कृष्ण जन्मभूमि मथुराको भ्रमणका अनुभव पनि चाखलाग्दो छ।
यात्रा गरिएका स्थानबारे यथासम्भव जानकारी पस्किएर ती स्थानबारे जान्न खोज्नेका लागि उपयोगी बनेको छ पुस्तक। यही भ्रमणका क्रममा भारतमा ‘असल र भलादमी मान्छे पनि हुँदा रहेछन्…’ भनेर लेखक सकारात्मक धारणा बनाउँछन्। त्यस्तै ‘भारतमा धार्मिक क्षेत्रको विशेष महत्त्वका साथ संरक्षण गरेको देख्दा नेपालमा हामी यस विषयमा धेरै पछाडि रहेको …’ अनुभव गर्दछन्। तालिम अवधिमा उनलाई भारतीय जनजीवनका विविध पक्ष बारे परिचित हुने अवसर मिल्दछ। जस्तो सपरिवार हलमा गएर चलचित्र हेर्ने होस् वा धनीगरिब सबै सडक पेटीमा ठेलामा बेचिएका खानेकुरा खाने प्रचलन होस्। त्यतिबेलासम्म नेपालमा यस्तो प्रचलन भित्रिसकेको थिएन।
अर्को, ‘हिन्दीमा बोलेको देख्यो भने हेप्छन्’ भन्ने सुन्दा उनी अंग्रेजले छोडेर गए पनि अंग्रेजी भाषाप्रति भारतीयको आकर्षण र सम्मान अनि आफ्नै देशको भाषा प्रति हेय भाव प्रकट गरिएको देख्दा अचम्ममा पर्दछन्।
नेपाली चौकीदार र तिनका परिवारलाई तालिम संस्थामा कार्यरत देखेर लेखकमा उत्पन्न गराएको हीनताबोध २०४७ पछि नेपालीहरू विदेश जुनसुकै तहको काम गर्न गएको देख्न नपरिसकेको अवस्थाले लेखकमा हीनताबोध उत्पन्न हुन गएको स्वाभाविक लाग्छ।
पन्जाबी र नेपाली भन्ने जात ‘पानीमुनि खोजे पनि भेटिन्छन्’ भन्ने नागा साथीको भनाइ सायद आजको सन्दर्भमा ठिकै होला तर त्यतिबेला भने भारतको पूर्वोत्तरमा नेपालीको उपस्थिति ज्यादा भएर त्यसो भनिएको हुन सक्छ। कार्यक्रमको अन्त्यतिर ‘एक्स्कर्सन टुर र फिल्ड भिजिट’ अन्तर्गत हरिद्वार र मसुरीको भ्रमणमा रहँदा लेखक ‘सुगौली सन्धि अघिको अवस्था हुँदो हो त… नेपालकै पश्चिम क्षेत्र घुमिरेहेको हुने’ अनुभव गर्दछन्।
४. भियतनामी साथी
मनहरिको चौथो कृति हो लघु उपन्यास- ‘भियतनामी साथी’।‘आफ्नो जीवनमा भएका यथार्थ घटनालाई आधार बनाएर लेखिएको यो कृतिमा लेखकले काठमाडौँको त्रिभुवन विमानस्थलस्थित आन्तरिक विमानस्थलमा हवाईजहाज उडान ढिला हुँदा भियतनामी (अमेरिकी) महिलासँगको भेट र उनीसँग सहयात्रा गर्दै नेपालगन्ज पुगेको र त्यहाँको होटेलमा एक रात बसुन्जेलको मित्रता र अकस्मात् बिछोडको कथा भनेका छन् लेखकले।
उपन्यासले २०४० साल आसपासदेखिको काठमाडौँको दक्षिण भेगमा अवस्थित छम्पी, टीकाभैरवको परिवेश, परिस्थिति, संस्कार, संस्कृति, प्रकृति, दैनिक जीवनका विविध पक्षहरू, मेलापात, चाडबाड, विवाह, मर्दापर्दाका अवस्था, शिक्षा, खानेपानी, सडक, बिजुलीजस्ता विविध सामाजिक परिवेशको चित्रण पनि गरेका छन्।
लेखक २०५३ साल फागुनमा काठमाडौँदेखि नेपालगन्जसम्म हवाईजहाजमा गएर त्यहाँबाट आफ्नो गन्तव्य धनगढी बसमा जाने योजना बनाएर आफ्नो घर टीकाभैरवबाट त्रिभुवन विमानस्थल पुगेका थिए। बिहान उड्नुपर्ने विमान बेलुका ४ बजे मात्र उडेपछि विमानस्थलको प्रतीक्षालयमा पर्खँदा एक विदेशी युवतीसँग भेट भएपछि सुरु भएको यो उपन्यास मुख्य रुपमा यही दुई पात्रमा केन्द्रित छ।
नेपाली भाषा बोल्न पोख्त जोआना नामकी ती युवती भियतनामी-अमेरिकी पिसकोर नेपालमा कार्यरत रहेको र उनको नेपाली नाम ‘झरना’ रहेको बताएपछि दुवै बीच विभिन्न विषयमा रोचक कुराकानी हुन्छ। यात्राका क्रममा दुवैबीच एक प्रकारको आत्मीयता कायम हुन जान्छ। हवाईजहाजबाट नेपालगन्ज पुगेपछि एकै होटेलमा बास बस्ने क्रममा दर्शन र मनोविज्ञानका कुरा, हिंसा, अहिंसा, धर्म आदिका कुरा पनि हुन्छन्।
कुराकानीका क्रममा लेखक धर्म प्रचारका नाममा गरिबी अशिक्षाको फाइदा उठाएर पैसा खर्च गरेर मानिस किन्ने र परम्परागत धर्म संस्कृति मास्ने काम हुने गरेको विषय उठाउँछन्। त्यसै क्रममा टीका लगाएको देखेर ‘कट्टर हिन्दू’ शब्द प्रयोग गर्छिन् झरना।
प्रत्युत्तरमा हिन्दू धर्मको उदार पक्षबारे उल्लेख गर्छन् लेखक। झरनाले हिन्दूहरूको कोटीकोटी देवीदेवताबारे व्यंग्यात्मक प्रश्न गर्दा लेखक उनलाई गम्भीर भएर उत्तर दिन्छन्। वैवाहिक सम्बन्ध कुरा हुँदा झरना विवाहमा बाँधिनैपर्छ र ! भन्ने खालको जवाफ दिन्छिन् र लेखकको विवाह मात्र होइन छोराछोरीसमेत भइसकेको बुझेपछि उनमा एक प्रकारको परिवर्तन देखिन्छ।
बिहान ७ बजे सँगै निस्कने कुरा गरेर दुवै आआफ्नो कोठा तिर लाग्छन्। भोलिपल्ट बिहान लेखक उठेर होटेलको रिसेप्सनमा जाँदा झरना बिहानै गैसकेको थाहा पाएर लेखक अचम्म पर्दछन्। मनमा गढेर रहेको एक दिनको त्यो भेट र मित्रता अकस्मात् सकिन जान्छ जब झरना ‘जाऔँ’ सम्म पनि नभनी खुसुक्क होटेल छोडेर हिँड्छिन्।
कृतिका मूलभूत विशेषता
सम्बन्धको कथा : मनहरिका कविता, गीत, कथा वा उपन्यास जुनसुकै विधाले सम्बन्धको कथालाई आफ्नो आधारभूमि बनाएको देखिन्छ। ‘आमा’ कविता संग्रहमा आफ्नो बाल्यकालमा माताको निधन भई मातृवात्सल्यबाट वञ्चित हुँदा निसृत भावना पोखिएका छन्। त्यस्तै, आमाको जस्तै भएर आफूलाई हुर्काउने काकी आमाको स्नेहलाई पनि उनी उल्लेख गर्न चुक्दैनन्।
पिता सेनामा कार्यरत भएकोले धेरैजसो समय बाहिर बस्ने कारण बाबुको निरन्तरको स्नेह तथा सानिध्यबाट विमुख हुनुपर्दाको पीडा पनि उल्लेख गर्दछन्। यता आफ्ना दाजुले गरेको स्नेह र आफू (भाइ) ले दाजुलाई गर्ने गरेको सम्मान होस् वा गाउँघरका मानिसबीच जीवन्त रहेको आत्मीयता, ‘मर्दापर्दा’ भन्ने प्रचलन पनि उल्लेखन गर्नु आफ्नो कर्तव्य ठान्दछन्।
प्रकृतिको विहंगम चित्र : त्यतिबेलाको आफ्नो गाउँठाउँ, डाँडाकाँडा, हिमशृंखला, हरिया वनजंगल, पशुपन्छी, नदीनाला, कुलोकुलेसामा बग्ने स्वछ पानी, कुवा र पिउने पानीको परिपूर्ति जस्ता विषयलाई विशेष रूपमा वर्णन गर्दै प्रकृतिको विहंगम दृश्यलाई अक्षरहरूमा खिच्न लेखक सफल छन्।
शिक्षा/स्वास्थ्य स्थिति : तत्कालीन समयमा उपत्यकाको काँठमा प्राथमिक र निम्नमाध्यमिक शिक्षाको अवस्था र केटाकेटीको उपस्थिति, विद्यालय तथा शिक्षक आदिको विषयलाई ऐतिहासिक दस्तावेज हुने गरी लेख्न सक्नु खड्काको विशेषता हो।
सुत्केरी हुने क्रममा गाउँमा समयमा उपचार नपाएर ३५ वर्षको उमेरमा आमा गुमाएका खड्काको निमित्त तत्कालीन समय स्वास्थ सुविधाको दृष्टिबाट कहालीलाग्दो अवस्था रहेको प्रमाणित हुन्छ नै।
भूमिकाको नयाँ प्रयोग : सामान्यतया कुनै पनि कृतिको भूमिकाले सो पुस्तकको लेखक र पुस्तकभित्रका मूल विषयको मोटामोटी चर्चा गरेर विद्वानहरूको विचार समावेश गरिएको हुन्छ। तर खड्काका चारवटा कृतिमा भने एकै विद्वानको उही भूमिका राखिनु नेपाली साहित्यमा नौलो प्रयोग भएको प्रतीत हुन्छ।
हराउँदै गएका शब्दावली प्रयोग : वर्तमानमा प्राय: प्रयोगमा आउन छोडिसकेका शब्दहरूको संकलन र प्रयोगले नेपाली भाषा र संस्कृतिको समृद्ध परम्परालाई पुस्तान्तरण गर्न खोजेको जस्तो लाग्दछ। जस्तै ‘कुनौरो’ (तोरी झारिसकेपछि बस्तुभाउलाई खुवाउन प्रयोग गरिने सुकेको बोट), ‘कोपरा’ (शौच कार्यको निम्ति राति बाहिर जानु नपरोस् भनेर कोठाभित्र राखिने दिसापिसाब गर्ने भाडा), ‘गुन्टा’ (यात्रामा आवश्यक पर्ने खाद्यान्नदेखि सुत्नसमेत मिल्ने गरी बाँधिएको सामलतुमलको पोको) आदि छन्।
आख्यानमा अब्बल : कवितासंग्रहमा समावेश भएका कविताका भाव पक्ष, भाषा र गद्यात्मक शैली सहज बोधगम्य र मिठासपूर्ण भए तापनि उनको प्रतिभा आख्यान विधा (गद्य) तर्फ थप निखारिएको देखिएको छ। यसर्थ यस विधामा लगाव बढ्दै जाने हो भने नेपाली साहित्यमा उनको विशेष योगदान पुग्नेछ।