यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

हिमाल प्रेस ३० चैत २०८१ १५:१०
12
SHARES
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन्।

शनिबार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको बताउँदै यातायात व्यवसायीको भुमिका अतुलनीय रहेको बताए।

उनले कृषि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए।

‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती, यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झण्झटलगायतका धेरै समस्या र सवालहरु छन,’ मन्त्री लेखकले भने, ‘तपाईँहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ।’

यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो।

‘विभिन्न समस्याका बाबजुद पनि राम्रोसँग सेवा दिइरहनुभएको छ, तपाईँहरुले राम्रो गर्दागर्दै पनि केही कमीकमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु,’ उनले भने, ‘यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिताको अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरबाही, हड्ताल र सबारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ।’

उनले आफू २०६३ सालदेखि कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए।

‘हिजोमात्र मैले काठमाडौँमा यातायातसँग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसँग जोडिएका बिमालगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौँ,’ उनले भने, ‘यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण छन् र आगामी दिनमा हुने छलफलमा यी कुराहरुलाई समाधान गर्नेतर्फ पहल गर्ने छु।’

प्रकाशित: ३० चैत २०८१ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast