
मिरिसाबाट एला पुग्दा एघार बजी हाल्यो। हामी श्रीलंका आइपुगेको आज चौथो दिन : २०८१ फागुन ७ अर्थात् १९ फेब्रअरी २०२५। मिरिसाबाट बिहान सात बजे हिँडेका हौँ हामी।
हामी चढेको ट्याक्सी बीचमा दुई ठाउँमा रोकियो। एकपटक हामी दही खान रोकियौँ। त्यहाँ दश मिनेट जति रोकिनुपर्यो होला। अर्को पटक हामी ‘रावण फल्स’मा रोकियौँ। यहाँ केही लामो समय रोकियौँ।
दुई स्थानमा मात्र रोकिएर दौडिँदा पनि एला पुग्दा एघार बजेको छ। ट्याक्सीमा नआएर सार्वजनिक बसमा आएको भए त हामी बेलुका बास बस्न मात्र आइपुग्ने रहेछौँ एला।
बर्बाद हुने रहेछ!
एलामा हाम्रो होमस्टे हो ‘एला भ्यालु भिलेज’। एला पहाडमा अवस्थित छ। पिदुरतालागल श्रीलंकाको सबैभन्दा अग्लो स्थान हो। यो २५२७ मिटर अग्लो छ।
एलाको मुख्य बजार भने पहाडको गल्छीमा छ। एलाको मुख्य बजार छाडेर मास्तिर जानुपर्ने डाँडामा रहेछ ‘एला भ्यालु भिलेज’ होमस्टे। हामीलाई ट्याक्सीले त्यहीँ पुर्याइदियो। हामी खुत्रुक्क होमस्टेमै झर्यौँ र ट्याक्सीलाई बिदा दियौँ। चालकले अघि आउँदाआउँदै बाटामा भनेको थियो- ‘मेरो परिवार एलामै छ।’
लाग्यो; उसका लागि त ‘जता जानु, उतै घचेट्नु’ भने जस्तो पो भएछ!
‘एला भ्यालु भिलेज’ होमस्टे ढलान गरिएको घरमा छ र ढलानमाथि नरिवलजस्तै स्याउलाले छाएको भान पार्ने खालको छ। तल बजारमा एउटा भव्य होटलमा पनि नरिवलजस्तै वनस्पतिका स्याउलाले छाएझैँ देखाउने यही शैली अपनाएको देखिएको थियो। अरू केही होटल/रेस्टुरेन्टमा पनि यो प्रयोग देखियो। हाम्रो एला भ्यालु भिलेजमा पनि त्यही। रमाइलो लाग्यो यो प्रयोग।
हामीले कोठामा झोला बिसायौँ, फ्रेस भयौँ र बाहिर निस्कियौँ। हामीलाई अब टुकटुक चाहिएको छ। तर ‘पिक मी’ मा टुकटुक देखिएकै छैन त! केहीबेर आफैँले प्रयास गरेपछि हामीले होमस्टे सञ्चालकको सहयोग लिन चाह्यौँ।
उसले टुकटुक बोलाइदियो। हामीले श्रीलंका प्रवेश गरेपछि पहिलोपल्ट अंग्रेजी बोल्न/बुझ्न नसक्ने टुकटुक चालक भेट्यौं। होमस्टे सञ्चालकले बीचमा रहेर हाम्रो गन्तव्य उसलाई बताइदियो; हामीलाई भाडाका बारेमा जानकारी दियो। हाम्रासामु दुई मुख्य काम थिए- खाना खानु र रावण केभ जानु।
हामीले पछिल्लो कामलाई पहिलो प्राथमिकतामा राख्यौँ।
भारतको दक्षिणपूर्वको रामेश्वरम् र श्रीलंकाको पूर्वोत्तर क्षेत्रमा रहेको मन्नार द्वीपका बीचमा चुनको चट्टानबाट निर्मित एक शृंखला/पुल छ। यस चुनको चट्टानको शृंखला/पुललाई भारतमा रामसेतु भनिन्छ। यस पुलको लम्बाइ ४८ किलोमिटर छ।
हिन्दूहरू यस पुललाई भगवान् रामले लंकामा जानका लागि निर्माण गरेको भनेर रामायणमा वर्णित पुलका रूपमा व्याख्या गर्छन्। यिनीहरूका अनुसार भगवान् रामको सेनामा नल र नील नामका दुई बाँदर थिए। तिनै दुई बाँदरले ढुंगा/पत्थर हालेर यो पुल निर्माण गरेका हुन्।
संस्कृत महाकाव्य ‘रामायण’ को ‘युद्धकाण्ड’ मा भगवान् रामले लंकाद्वीपमा पुग्न र रावणबाट आफ्नी पत्नी सीतालाई बचाउन/फिर्ता ल्याउन पुलको निर्माण गरेको सन्दर्भ उल्लेख छ। रामायणको लंका नै हालको श्रीलंका हो र त्यो पुल नै रामसेतु हो भन्ने हिन्दूहरूको मान्यता छ।

श्रीलंकाको एलामा पनि रामायणसँग सान्दर्भिक हुने केही स्थल रहेछन्। तीमध्ये एउटा हो ‘रावण फल्स’।
रावण फल्स मिरिसाबाट एला आउँदा बाटामै पर्ने रहेछ। हाम्रो ट्याक्सी चालकले केही तलै भनेको थियो- ‘रावण फल्स हामी जाने बाटैमा पर्छ। एला पुगेर यो फल्स हेर्न फर्किनुभन्दा जाँदाजाँदै हेर्नु उचित हुन्छ। त्यो हेरुञ्जेल म तपाईँहरूलाई पर्खिउँला।’
यो भन्दा मज्जाको कुरा हाम्रा लागि के हुन सक्थ्यो र!
रावण फल्स माथिबाट झरेको झरना। यो भन्दा कैयौँ अग्ला झरना हामीले हाम्रै देशमा देखेका थियौँ। श्रीलंकामै योभन्दा अग्लो झरना पनि छ। बम्बराकान्डा झरना श्रीलंकाको सबैभन्दा अग्लो हो; यस झरनाको उचाइ २६३ मिटर (८६३ फिट) छ। अहिले हामी हेर्न भनेर मोटरबाट ओर्लिएको झरनामा रावणको नाम नजोडिएको भए कम्तीमा हामीचाहिँ यो हेर्न मरिमेट्ने थिएनौँ। तर यसमा जोडिएको थियो- रावणको नाम। नहेरीकन हुन्छ!
हामी मोटरबाट उत्रियौैँ। रावण फल्स निकट क्षेत्रमा राम्रै भीडभाड थियो गोरा पर्यटकहरूको। उनीहरू फोटो खिच्दै थिए; रावण फल्सतिर जाँदै थिए। फल्सतिर जान ढु्ंगैढुंगा टेक्नुपर्ने, अझ कतिपय पर्यटकहरू त फल्सको शिरतिर अलि माथिसम्म जान खोज्ने!
सार्थकले भन्यो- ‘तपाईँ झरना भएतिर जानोस्; म भिडियो लिन्छु।’ म फर्किएपछि ऊ गयो।
यहाँ हामीले धेरै लामो समय भने लगाएनौँ।
रामायणसँग सान्दर्भिक हुने एलामा रहेको अर्को स्थल रहेछ- ‘रावण केभ’।
रावणले सीतालाई अपहरण गरेर ल्याएपछि ऊ सीतालाई कसैले पनि भेट्न नसक्ने स्थानमा लुकाउन चाहन्थ्यो रे। त्यही लुकाउने क्रममा उसले यो गुफा फेला पारेको रे। अनि सीतालाई त्यही लुकायो रे।
सीता हाम्रो राष्ट्रिय विभूति। जनकपुरका राजा जनकले हलो जोत्दा फेला पारेको सीतालाई। हाम्री जानकी। जनकपुरकी हाम्री चेली। जनकपुर हाम्रो पवित्र तीर्थस्थल। नौलखा मन्दिर हामीकहाँ धार्मिक पर्यटनका दृष्टिमा एक महत्त्वपूर्ण राष्ट्रिय सम्पदा। त्यसमाथि त्यही जनकपुर वरपर जन्मे/हुर्किएका हामी।
हाम्रा ठाहिँला हजुरबाको घर जनकपुरको किशोरीनगरमा। त्यो घर हामीलाई आफ्नै जस्तो थियो। हाम्रा हजुरबा/हजुरआमा वैष्णव सम्प्रदायमा आबद्ध हुनुहुन्थ्यो। वैष्णव सम्प्रदायका लागि पनि जनकपुर प्रसिद्ध तीर्थस्थल।
दिनभर घुमे पनि सबै दर्शन गर्न नभ्याइने मठमन्दिर भएको सहर जनकपुर। जनकपुरमै रहँदा दिनहुँ बिहानबेलुकै राममन्दिर र जानकीमन्दिरमा दर्शन गर्न पाइने। सत्संग पनि गतिलै हुने। आफ्नै दाजुको घर भएकाले ‘कहाँ बसौँ’ भनेर पनि सोचविचार गरिरहनै नपर्ने।

हाम्रा हजुरबा/हजुरआमाप्रत्येक वर्ष दुईचार महिना जनकपुरमै बस्न रुचाउने/रमाइलो मान्ने। म हजुरबा/हजुरआमाको छोरातर्फको जेठो नाति। मलाई पनि आफूसँग राख्न चाहने उहाँहरूको इच्छा। हजुरबा/हजुरआमाको हात समातेर म कैयौँ पटक मन्दिरमन्दिर गएको छु; परिक्रमा घुमेको छु।
म आफैँ पनि जनकपुरमा लामै समय बसेँ। हाम्रो जनकपुर बसोबासकै क्रममा जन्मिएको हो- सार्थक।
नेपाल/जनकपुरबाट श्रीलंकाको एला आइपुगेपछि हाम्री चेलीबेटी सीतालाई दुष्ट रावणले कस्तो ठाउँमा लुकाएछ भन्ने विषयमा हामीले चासो नराखेर भयो!! हामी खाना खानुभन्दा पहिले यही टुकटुकमा ‘रावण केभ’ मै पुग्ने भयौँ। रावण केभमा जानका लागि टिकट काटेर उकालो लाग्नु रहेछ।
हामी केही पर्यटकसँगै उकालो लाग्यौँ। उकालो ठाडो र लामो त छ नै; गतिलो बेरा र सिँढी नभएकाले उकालोमा हिँड्न सुविधाजनक पनि छैन। माटो पनि चिम्ट्याइलो। खुट्टा चिप्लिने! समाउने गतिलो बेरा नभएकाले लडिन्छ कि जस्तै हुने!!
म उकालो ओरालो हिँडेकै मान्छे हुँ। रानीचुरी, कोटगाउँ, छिरिङबास, सुलिभन्ज्याङ, पकरबास आदि जाने/पुग्ने क्रममा उकालो/ओरालो कत्ति हिडियो; कत्ति! सार्थक पनि वर्षमा एकदुई पटक केही साताका लागि साथीहरूसँग देशभित्र अप्ठ्यारा-उकाला खोज्दै हिँड्छ। उकालो-ओरालो हिँड्ने यस्तो अभ्यास भएर पनि यो उकालो उक्लिँदा भने हामी दुवै थाकेका छौँ; पसिनापसिना भएका छौं। तर थाकियो भनेर गन्तव्यमा नपुगीकन फर्किनु हुन्छ!!
रावण केभमा कुनै मन्दिर छैन; रावणको नामसँग जोडिएको कुनै सम्पदा पनि छैन। यो सामान्य गुफाका रूपमा रहेको छ। कहिल्यै घाम नपुग्ने भएकाले यहाँ चिसो छ, चिप्लो छ र अँध्यारो छ। जहाँका गुफामा पनि चमेराकै राज हुने! यहाँ पनि चमेरैचमेरा!! हामी मोबाइलको लाइट बालेर केही भित्रसम्म जान खोज्यौँ; गुफा साँगुरिँदै गयो। बरु बत्ती बालेपछि चमेराहरू छुँलाछुँला जस्तै गरेर उड्ने।
हामीलाई थमाइएको पर्चामा यो गुफा तीन ठाउँमा पुग्छ भनिएको छ- एउटा नुवाराएलिया, अर्को मन्दिर र अर्को चाहिँ झरना।
गुफामा थप हेर्नु के थियो र!
हामी फर्कियौँ।
तल फेदीमै आएपछि थाहा भयो, झन्डै दुई सय मिटर पर सीताको मन्दिर पनि छ।
यो झन् नहेरी फर्किने कुरै भएन!
हामी सीताको मन्दिरतर्फ सोझियौँ।
अग्लो/ठूलो गेटबाट भित्र पस्नुपर्छ मन्दिर पुग्न। समथर परेको ठाउँमा कुनामा एक विशाल ढुंगामा गाँसेर निर्माण भएको छ मन्दिर। यो मन्दिर खासै पुरानोझैँ लाग्दैन। मन्दिर प्रांगणमा पूजासामग्री पनि देखिँदैन।
हामी झन्डै १२ बजे पुग्यौँ सीता मन्दिरमा। दर्शन र पूजापाठका सन्दर्भमा हेर्ने हो भने यो मन्दिरमा जान अनुकूल समय होइन। त्यसैले पनि हो कि मन्दिरमा पुजारीलगायतका व्यक्ति पनि देखिएनन्। मन्दिरभित्र नियमित पाठपूजा भएझैँ पनि देखिएन।
हामी फर्कियौँ।
उसो त एलामा एउटा व्यापारिक प्रतिष्ठानले प्रतिष्ठानको नामै राखेको छ- ‘रावण पुल क्लब’। ‘लिटिल आदम हिल’ तर्फ उकालो लाग्दा देखिन्छ- पर्यटकीय रेस्टुरेन्ट, जिपलाइन आदि सञ्चालन गरेको छ यस प्रतिष्ठानले। प्रतिष्ठानको प्रांगणमा छ रावणको आकर्षक प्रतिमा। यस प्रतिमालाई यो प्रतिष्ठानले दिएको नाम ‘फ्ल्याइङ रावण’।