
हो बाबाको काँध कहिल्यै थाक्दैन
किनभने बाबाको काँधले थाक्नै पाउँदैन
लस्त भए पनि पटक्कै थाक्दैन बाबाको काँध
किनभने बाबाको काँधलाई थाक्ने अनुमति नै छैन
परिवारको जिम्मेवारीबोधको भार छ बाबाको काँधमा
यसैले थाक्नु हुन्न बाबाको काँध
यदि थाके बाबाको काँध भोको बन्छ परिवारको पेट!
अधुरा अपुरा बन्छन् इच्छा परिवार र सन्तानको!
हो बाबाको काँध थाक्दैन
त्यो काँधलाई दायित्वको भार बोक्नु छ परिवारको
जिम्मेवारीको त्यो बोझ थेग्न पनि बाबाको काँधलाई थाक्ने सुविधा छैन
यसैले गलेर हुरुक्क हुँदा पनि थाक्दै थाक्दैन बाबाको काँध!
हो बाबाको काँध कहिल्यै थाक्दैन
किनभने सन्तानको पीडा बोकेको छ त्यो काँधले
सन्तानलाई हँसाउन कर्मको भार जिम्मेवारीपूर्वक बोक्नुपर्ने हुनाले पनि बाबाको काँध थाक्दैन
बाबाको काँध घामको उज्यालो र न्यानो प्रकाश हो,
चन्द्रको शान्त सौम्य माया अनि वेदका ऋचा र उपनिषद्को मदानीजस्तो हो
जसले जीवनका तत्त्व मथेर नौनी झिकी सन्तानलाई वेद र विज्ञानमय शिक्षा दिई सक्षम बनाउन प्रयत्नशील हुनुपर्छ
यसैले पनि थाक्दैन पटक्कै बाबाको काँध!
हो बाबाको काँध थाक्दैन
किनभने बाबा घामको प्रतिनिधि पात्र हो
जो परिवारलाई उज्यालो र न्यानो दिन अविश्रान्त र निरन्तर हिँडिरहनुपर्छ
घाम यो सृष्टि रक्षार्थ हिँडेझैँ परिवारको जीवन रक्षार्थ अविराम लम्किरहनुपर्छ
हरपल बाबाले यसैले खाक्दैन बाबाको काँध!
बरु बाबाको काँधको थकान बाबाद्वारा गरिने श्रमसितै पसिना बनेर झर्छ
आँखाका नानीभित्र रुमल्लिएका आँसुभित्र हराउँछ
तर थाक्दैन सन्तान र परिवारसामु बाबाको काँध!
हो बाबाको काँध थाक्दैन र थाक्नु पनि हुँदैन
किनभने त्यो काँध सौम्य र अति प्रिय भाव खोजेर परिवारमा बाँढ्न कुद्नुपर्छ
अनि बाबाको काँध परिवारको ओठको हाँसोमा हराउँछ
यसैले थाक्दैन बाबाको काँध!
हो बाबाको काँध थाक्दैन
किनभने सन्तान र परिवारको जीवनको अँध्यारोमा उज्यालो छर्ने चन्द्र बन्नुपर्छ
बाबाको काँध जसले परिवारको मुहार, मन र जीवनमा सुखको उज्यालो छर्नुपर्छ
मनको अन्धकार मेटाउन
यो हाँसो छर्न, उज्याला जीवनका उपाय खोज्न निरन्तर लाग्नुपर्ने हुनाले बाबाको काँध पटक्कै थाक्दैन!
हो बाबाको काँध थाक्नु हुँदैन
किनभने उनले परिवारलाई पवन र पीयूषझैँ शीतलता दिएर प्यास मेटाउने र सास फेर्न दिने उपायका लागि निरन्तर लागिरहनुपर्छ
यसैले बाबाको काँध थाक्दैन!!
बाबाको काँध परब्रह्म हो
यसैले पनि यो काँध थाक्दैन र थाक्नु हुँदैन
परिवारको सुन्दर संरचना जोगाउन बाबाको काँध निरन्तर कर्मशील बन्नुपर्छ
यसैले थाक्दैन बाबाको काँध!
हो बाबाको काँध थाक्दैन
किनभने बाबाको काँधले आकाशजस्तो विशाल बनेर परिवारलाई सुरक्षित छहारी दिनुपर्छ
यसैले बाबाको काँधलाई थाक्ने छुट छैन!
बाबा परिवारको मेरुदण्डमय काँध हो
जसको उपस्थितिमात्रले परिवारमा उज्यालो र न्यानो घाम लाग्छ
यसैले बाबाको काँध थाक्दैन!!
हो बाबाको काँध थाक्दैन
किनभने बाबाको काँध परिवारको जीवन जोगाउने अन्न हो
यसैले ती अन्नको जोहोमा कुद्ने बाबाको त्यो काँध थाक्दैन!
हो बाबाको काँध थाक्दैन जीवनभर
जब थाक्छ त्यो पल परिवार छिन्नभिन्न र व्यथित हुन्छ
एउटा सिंगो पृथ्वी हो बाबाको काँध
यसैले थाक्दैन बाबाको काँध र थाक्नु हुँदैन बाबाको काँध!
तर बाबा तिमी पनि मानिस हौ र तिमी पनि थाक्छौ
म यो भार बहन गर्छु भनेर भन्ने सन्तान भएको घरमा
उनको काँध थाकिदिन पाउँदा बाबाको मुहार उज्यालो घाम जस्तो हुन्छ!
अनि माया र असल व्यवहार गर्ने पत्नीको सुखमय साथले बाबाको थाक्न नहुने काँधले आराम पाउँछ
तर थाक्न भने पाउँदैन पुनः पुनः बाबाको काँध!
बाबा! तिमीलाई पनि कति रहर हुन्छ होला उत्सवमय जीवन बाँच्न
थाक्ने बेला भक्कानिएर कुनै मन र थाकेर लम्पसार पर्ने रहर
तर कहाँ फुर्सद त्यसरी थाक्ने बाबालाई!!
तिमी त परिवारको जिम्मेवारी बोकेको काँध लिएर हिँडेको मानिस!
यसैले बाबाको काँध थाक्नै हुन्न
किनभने बाबा आकाश हो, बाबा सागर हो
बाबा दया हो, बाबा क्षमा हो
यसैले बाबाको काँध थाक्नु हुँदैन
परिवारका सबैको थकान मेटाउन!
अव्यक्त हुन्छन् हरेक बाबाका मन र श्रमका भाव
सन्तानले विवेकशील बनेर आफैँ बुझिदिनुपर्छ उनका ती भाव!
गजब कविता
केही लामो भए पनि सुन्दर रचना ! बधाई छ कवियत्री लाई।
जबर्जस्त उद्गार “… बाबाको काँध थाक्नै हुन्न
किनभने बाबा आकाश हो, बाबा सागर हो
बाबा दया हो, बाबा क्षमा हो
यसैले बाबाको काँध थाक्नु हुँदैन
परिवारका सबैको थकान मेटाउन!”
साह्रै राम्रो छ लेख।हार्दिक शुभकामना ।