रोटरीको १७औँ डिस्ट्रिक्ट कन्फरेन्स : निहारिकाको मन छुने त्यो प्रस्तुति

मोहनकृष्ण श्रेष्ठ ३० चैत २०८१ १२:४२
78
SHARES
रोटरीको १७औँ डिस्ट्रिक्ट कन्फरेन्स : निहारिकाको मन छुने त्यो प्रस्तुति

मानव इतिहासमा यस्ता कैयौँ महापुरुप जन्मे जसले अतुलनीय योगदान दिएर विश्वका सम्पूर्ण मानवलाई रक्षा गरे। त्यस्ता योगदान शिक्षा, साहित्य, वैज्ञानिक आविष्कार, दर्र्शन, कूटनीति आदि हुन्। यसको ठिक उल्टो समयको प्रवाहमा कैयौँ तानाशाह, क्रूर हत्यारा, विध्वंसक आदि पनि जन्मे, जसले नरसंहारलाई आफ्नो शक्ति सञ्चय तथा स्वार्थका रूपमा प्रयोग गरे।

समय परिवर्तनशील छ। समयको गति कसैले रोक्न सक्दैन। समयको प्रवाहसँग जीवनयापन गर्नु नै मानवको धर्म तथा कर्म हुन्छ।

भनिन्छ- मानवसेवा जस्तो धर्म अरू केही हुन्न। हुनेले नहुनेलाई सेवा, सहयोग गर्नु नै मानवको कर्तव्य हो। तर संसारमा सबैले यस्तो गर्न सक्दैन, सक्नेले पनि गर्दैन। अपवादका रूपमा समयको कालखण्डमा कैयौँ परोपकारी व्यक्तिहरू जन्मे, जसले मानव कल्याणका लागि केही दूरगामी सोच राखे र यसका कारण आजसम्म पनि यस्ता व्यक्तिहरूको सोचविचार। कार्यबाट मानव जाति लाभानि्वत भइआएको।

प्रथम तथा द्वितीय विश्वयुद्धको विभीषिकाबाट आर्जित भएर त्यस बेलाका नेताहरू रुजवेल्ट, चर्चिल तथा स्टालिनले याल्टा कन्फरेन्सको निचोडबाट सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। यसको प्रस्तावनामा मानव जातिलाई आउने दिनमा युद्धको विभीषिकाबाट बचाउने उल्लेख छ। विश्वमा शान्ति पनि स्थापना भए। युद्ध पनि सकिएको छैन।

यस प्रसंगमा समाजसेवाका क्षेत्रमा यस्ता एक महान् व्यक्तिको सम्झना गर्नु उपयुक्त हुन्छ। पाउल हारिस सन् १८६८ को अप्रिल १९ तारिखका दिन अमेरिकाको विस्कन्सिनको रासिन भन्ने स्थानमा जन्मेका थिए। उनले समाजसेवाका क्षेत्रमा दूरगामी सोच राखेर सन् १९०५ मा आफ्ना साथीहरूसँग मिलेर आफूभन्दा माथि उठेर सवाजको सेवा गर्ने उद्देश्य लिई रोटरी अभियानको थालनी गरेका थिए। यो अभियान आज विश्वव्यापी रूप लिएर सबैजसो मुलुकमा फैलिएको छ।

विश्वभर १२ लाख ४० हजार सदस्य आबद्ध यस अभियानले शिक्षा, स्वास्थ्य, खानेपानीसहित विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेर कार्य गरी आएको छ। यी कार्यबाट समाज प्रत्यक्ष रूपमा लाभान्वित भएको छ। रोटरीले एउटा विशिष्ट पहिचान बनाउन सकेको छ। रोटरीहरूलाई चिन्नेले आदरपूर्वक व्यवहार गर्छन्। समाजसेवामा आफूभन्दा माथि उठेर सेवा समर्पण गर्ने रोटरीको महिमा विश्वरभर चर्चित छ।

रोटरी अभियानको सञ्चालन पनि विशिष्ट प्रकारको छ। प्रत्येक वर्ष १ जुलाईमा अमेरिकाको इलिनोयस्थित मुख्य कार्यालयसहित सम्पूर्ण रोटरी क्लबहरूमा नयाँ नेतृत्व चुनिन्छन्। नेतृत्वले एक वर्षमा आफ्नै टिम बनाएर कार्य गर्छन्।

पद्धति उही हो जुन गत १२० वर्षदेखि चलिआएको। पात्रहरू फेरिन्छन्। पात्रहरू फेरि आफ्नो कार्यकाल सकिएपछि रोटरीमै आबद्ध हुन्छन्। रोटरीमा दानवीरहरूको पनि कमी छैन। रोटरीमा आबद्ध सबैले लाग्ने खर्चहरू आफैँले व्यहोर्ने गरिएको छ। सम्पूर्ण खर्च आफैँले व्यहोर्नुपर्ने भए तापनि रोटरी अभियान यहाँसम्म आइपुग्दा जीवित तथा गतिशील अभियानका रूपमा सञ्चालन भइआएको छ। नेतृत्व क्षमताको विकास गर्ने एक अभूतपूर्व प्लेटफर्मका रूपमा रोटरी स्थापित छ।

यसै प्रसंगमा गत २१ देखि २३ मार्च २०२५ सम्म रोटरी नेपाल डिस्ट्रिक्ट ३२९२ (भुटानसहित) ले आफ्नो १७औँ डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गरेको थियो। नवनिर्मित प्लाजा भेन्युमा आयोजित कन्फरेन्स कतिपय कमीकमजोरी भए पनि भव्य रूपमा सम्पन्न भयो। प्लाजा भवन आधुनिक सुविधासम्पन्न नेपालकै सबभन्दा ठूलो क्षमताको भनेर लेखिएको देखियो। यति हुँदैमा खानाको स्तर भने प्रशंसा गर्न लायक थिएन।

उद्घाटन सत्रको सुरुमै एउटा रोचक दृश्य हेर्न पाइन्छ। त्यो के हो भने पूर्वडिस्ट्रिक्ट गभर्नरहरू बाजागाजासहित मञ्चमा उपस्थित  हुन्छन्। कार्यक्रम पहिल्यै तय भइसक्ने हुँदा सोहीअनुसार चल्छन्। यसपालिको कन्फरेन्समा केही रोचक तथा नौला दृश्य देखिए। हाम्रो समाजमा नजानिने किसिमले विभिन्न सक्षम व्यक्तिहरूले रोचक काम गरी योगदान दिँदै आएको बुझिन्छ। धन पनि भएका मन पनि भएकाहरूले आफ्ना अग्रजहरूको सझनामा ठूलै धनराशि योगदान गरी पुरस्कार स्थापना गरेका रहेछन्।

खेतीपाती भन्ने महिला संस्थालाई पुरस्कृत गरियो। संस्था सस्थापक परिवारजनबाटै पुरस्कार राशि प्रदान गरिँदा भावुकता झल्किन्थ्यो। त्यस्तै दिनहीन असहाय व्यक्तिहरूलाई सहयोग पुर्‍याएबापत लुना श्रेष्ठ ठाकुरलाई पनि पुरस्कृत गरियो। उनले बोलेका कुरा धेरैको मनमा छोएको अनुमान छ। हाम्रो समाजमा सफल पुरुषको पछाडि कुनै महिलाको योगदान छ भन्ने भाष्य प्रचलित छ। तर उनले आफ्नो जीवनमा तीनजना पुरुषहरू आफ्ना बुबा, दाजु तथा हाकिमको योगदान रहेको सम्झना गरिन्। साथै मृत्युसँग जुधिरहेका आफ्नो बुबाको जीवनरक्षाका लागि प्रार्थना गरिदिन हलमा उपस्थित  रोटरियनहरूलाई अनुरोध गरेकी थिइन्।

डा. निर्मल रिजालले समानता, इक्विटी तथा समावेशिताका सम्बन्धमा गरेको प्रस्तुति पनि शिक्षाप्रद थियो।

महिला सशक्तीकरण तथा लैंगिक विभेद अन्त्य गर्न नेपालमा राम्रै प्रगति भइआएको बुझिन्छ।। पूर्व राजदूत डा.शर्मिला ढकाल पराजुलीले आफ्नो कूटनीतिक कामहरूका बारे चर्चा गरिन्। आफू अन्य विधाबाट आए त पनि मौका पाउँदा क्षमताले देशको सेवा गर्न सकेको कुरा भनिन्। हो, कुरा साँचो हो। उनले ओमनमा राजदूत हुँदा गरेका कामहरूको राम्रो मूल्यांकन गरिन्छ।

पूर्वमिस नेपाल आष्मा केसीले आत्मविश्वासका कारण आफू सफल भएको बताइन्। सिनेमा जगत्‌की व्यवसायी तृप्ति  गिरीले आफ्नो सफलताको कथा सुनाइन्।
डा. डिना श्रेष्ठले मधुमेहका बारेमा प्रस्तुति दिइन्। खानपिनमा ध्यान दिएर मधुमेह परास्त गर्न सकिन्छ भन्ने उनको भनाइ रह्यो। डा. गोम्पो दोर्जीले विश्व स्वास्थ संगठनको परिचय दिँदै स्वास्थ्य क्षेत्रको कार्यहरूका बारेमा चर्चा गरे।

सबभन्दा उत्कृष्ट दृश्य त तब देख्न पाइयो जब १५ वर्षकी निहारिकाले आफ्ना कुरा राखिन्। उनले सडकमा जीवन गुजारा गरिआएका बालबालिकाका लागि केही सहयोग गरेकी रहिछन्। उनले भ्वायलिन बजाएर दर्शक बटुवाबाट पैसा संकलन गरेर सहयोग पुर्‍याउँदै आएको कुरा सुनाइन्। सानो उमेरमा यस्तो उत्कृष्ट सेवा भावना! वाह क्या गजब निहारिका!! कार्यक्रमको अन्त्यतिर उनले भ्वायलिन बजाई चाँदनी शाहको उकाली ओराली… बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारिन्। सबै रोटरियनहरूले मन थाम्नै नसकेर उनलाई आआफ्ना सिटबाट जुरुक्क उठेर सम्मान प्रकट गरे। नेपालमा यस्तो दृश्य हेर्न त जुग कुर्नुपर्दछ, त्यो पनि रोटरीमा।

रोटरीका उद्देश्यहरूमा ६ वटा मुख्य विधा छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइमा रोटरीको विशेष ध्यान केनि्द्रत छ। हालसालै त्यसमा शान्ति  तथा झैझगडा रोक्ने उद्देश्य थपिएका छन्। कमिटीका व्यक्तिहरूले आआफ्नो प्रगति विवरणहरू प्रस्तुत गरेका थिए। रोटरीको अब एउटा मुख्य एजेन्डामा विश्वबाट पोलियो उन्मूलन गर्नु छ। त्यसतर्फ पनि तदारुकताका साथ कामहरू भइआएका छन्। कतिपय मुलुकमा पोलियोबाट प्रभावित भई नारकीय जीवन यापन गर्न बाध्य बालबालिकालाई बचाउन सकिन्छ। यस्तो महान् उद्देश्य लिएको रोटरीलाई नमन गर्नु अपरिहार्य छ।

तीन दिन चलेको कन्फरेन्समा युवाको प्रतिनिधित्व पनि सशक्त रह्यो। रोटरीमा तीन तह हुन्छ। रोटरियन, रोटरेक्ट (युवाहरू) तथा इन्टरेक्टहरू (बालबालिका भन्नुपर्ला। म सन् २०१९/२०२० मा डिल्लीबजार रोटरी क्लबको प्रेसिडेन्ट हुँदा इन्टरेक्टहरूको एउटा कार्यक्रममा उपस्थित थिएँ। त्यहाँ इन्टरेक्टहरूको कार्यक्रम सञ्चालन तरिकादेखि विषयवस्तुको ज्ञान देख्दा म तीनछक परेको थिएँ। त्यस बेला मैले अनुभव गरेँ रोटरीले त ससाना बालबालिकामा समेत चेतना जगाइसकेको छ। हुन त जनसंख्याको अनुपातमा केही हजार रोटरियनहरू हुँदै ठूलो मान्नुपर्ने अवस्था छैन। कति नयाँ रोटरियनहरू आउँछन्, कतिले छाड्छन्। यो चलिरहने प्रक्रिया हो। यस अभियानले समाजमा पारेको अमूल्य छापको भने नापी नसक्नु छ। हाल नेपालमा १५८ रोटरी क्लब, १७८ राट्रेक्ट क्लबहरू र २०० जति इन्टेक्ट क्लब छन्।

कार्यक्रमको युवासत्रमा आयुष पोखरेलले गरेको भाषण सुन्दा ती व्यक्ति निश्चय पनि भोलिको नेता होला भन्ने अनुमान गरेँ। अनि रोटरीको स्कुलिङबाट आएका यस्ता युवाले भोलि देश विकासमा निःस्वार्थ भावनाले देश तथा समाजको सेवा गर्नेछ भन्ने लख काटेँ।

समाजसेवामा अर्पित रोटरीमा सदस्यता लिएका विभिन्न तहतप्काका रोटरियनहरूले आआफ्नो गच्छेअनुसारको योगदान दिँदै आएको कुरामा विश्वस्त हुन सकिन्छ। नेपाली समाजमा  दिने भन्दा दिलाउने ठूलो र समाजसेवा परम धर्म भन्ने मान्यता छ। यसले गर्दा जीवन पर्यन्त कामकाज गरी कमाएको धन तथा यशलाई केही प्रतिशत समाजमा खर्च गर्न चाहनेका लागि रोटरी एउटा उपयुक्त थलो भन्ने मेरो बुझाइ छ।

कार्यक्रमको अन्ततिर चुनावको चटारो। सन् २०२८/२०२९ का लागि आगामी प्रेसिडेन्टको चुनाव तय भएको रहेछ। यसपालि हेडक्वार्टरबाट एकजना उच्च अधिकृत खटिएर आएका थिए। चुनावी प्रक्रियामा सबै क्लबहरूले मत खसाल्ने परिपाटी बसालिएको रहेछ। चुनावमा चिरपरिचित डाक्टर साहेबले बाजी मारे। हार्नेले गनगन गरेको पनि सुनियो। जस्तै निःस्वार्थ भावले काम गर्ने रोटरी संस्था भए तापनि अलिअलि होडबाजी तथा गुटबन्दीचाहिँ हुने रहेछ। मानवीय स्वभाव न हो। यसमा कुनै गुनासो गर्नु आवश्यक छैन। जित्ने हार्ने सबैले फेरि उही रोटरी अभियानमा होमिएर काम गर्छन्।

रोटरीको सिस्टम पनि राम्रो छ। एक वर्षका लागि प्रेसिडेन्ट चुनिने, अर्काे वर्षका लागि प्रेसिडेन्ट इलेक्ट तथा अनि फेरि अर्काे वर्षका लागि प्रेसिडेन्ट नोमिनी। यसरी रोटरीमा नेतृत्व गतिशील हुन्छ। मलाई यो पद्धति राम्रो लागेर सन् २०११ मा मस्कोमा आयोजित एनआरएनएको युरोपयन रिजनल कन्फरेन्समा आफ्नो मन्तव्यमा भनेको थिएँ। तर एनआरएनमा पछि आएर तीनजनासम्म प्रेसिडेन्टले एकै समयमा चलाएको कुरा थाहा पाएपछि मन खिन्न भएको थियो। संस्थाहरू त सिस्टमले चल्नुपर्छ। समयभन्दा अगिको बढ्दो आकांंक्षा तथा होडबाजीले संस्थाहरूमा भाँडभैलो मच्चाउन सक्छ।

प्रकाशित: ३० चैत २०८१ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast