
काठमाडौँ- चारदेशीय टी २० शृंखलामा आज नेपाली पुरुष क्रिकेट टोलीले आयोजक हङकङसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। लगातार दुई जित निकालेको नेपाल र एक जित र एक हार व्यहोरेको हङकङ दुवैका लागि फाइनलमा स्थान बनाउन आज जित अपरिहार्य छ।
हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले हराएको थियो। नेपाल लगातार जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ।
आयोजक हङकङ भने कुवेतसँग पराजित र कतारसँग विजयी बनेको छ। कुवेतले ३ खेल खेलिसक्दा दुई जित र एक हारसहित फाइनलमा स्थान बनाउने सम्भावना देखाएको छ। हालसम्म नेपाल र कुवेतको समान ४ अंक छ भने हङकङको २ अंक मात्र छ। अबको खेल तीन टोलीकै लागि निर्णायक बनेको छ।
तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। दुवै खेल आइतबार नै हुनेछ।